आज:  | Tue, 05, Jul, 2022

बेनी कालिगण्डकी जलविधुतको ड्यामसाईड सार्न सुझाव

२१ असार २०७६, शनिबार १४:३९ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
म्याग्दी, २१ असार ।सदरमुकाम बेनीमा ५०.५३ मेगावाट क्षमताको ‘बेनी कालीगण्डकी जलविधुत आयोजना’बन्ने भएको छ ।बेनी नगरपालिका, ६ सेतीपहिरोमा बाँध बनाई कालीगण्डकीको पानीलाई पर्वतको जलजला गाउँपालिका, २ बगरफाँटबाट ३.५ किलोमिटर लामो सुरुङ्गबाट सोही गाउँपालिका, ४ शेराफाँटमा पावरहाउस बनाउने प्रस्ताव छ । नेपाल सरकारको विधुत विकास विभागले निर्माण गर्न प्रस्ताव गरेको बेनी कालीगण्डकी जलविधुत आयोजना निर्माण गर्न ८ अर्व ७२ करोड लागत अनुमान गरिएको छ ।तीन वटा अग्ला पहाडका विचमा अवस्थित बेनी बजारसमेत घनावस्ती वीचमा बग्ने कालीगण्डकी नदीलाई सुरुङ्ग भित्र बगाउँदा यहाँको वातावरणीय प्रभाव पर्ने भन्दै स्थानीयले चासो राखेका छन । नदीको पानी पुरै सुरुङ्गमा नलैजान कम्तीमा ड्यामबाट एक किमी माथीको राहुघाट खोलालाई यथावत छोड्न र कालीगण्डकीको पानीलाई कानुन अनुसार छोड्न स्थानीयले माग गरे ।‘प्रस्तावित बेनीकालीगण्डकी जलविधुत आयोजना यथावत स्वीकार्य छैन । म्याग्दी बेनी, पर्वत बेनी, बगरफाँट र खवरा क्षेत्रमा कालीगण्डकीले कायम गरेको वातावरण तथा तापक्रम सन्तुलन कायम राख्न आयोजनाले २ किमी माथी सर्नु उत्तम हुन्छ’ नेकपा अध्यक्ष गोविन्द पौडेलले भने, ‘वातावरणमा गम्भीर असन्तुलन ल्याउने र मानव जीवन नै संकटमा पर्ने गरी आयोजनाले क्षतिपूर्तिको मुल्य खोज्न सक्दैन । थोरै एलाईमेन्ट परिवर्तन गरे सहज निकास संभव छ ।’आयोजनाले शनिवार प्रभावित क्षेत्रमा वातावरणीय प्रभाव मुल्याङ्ढन मस्यौदा फ्रतिवेदनमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रमका अधिकांश वत्ताले आयोजनाको ड्याम साईडलाई कम्तीमा २ किमी माथी सार्न सुझाएका हुन । घनावस्ती विचमा बग्ने नदीलाई अन्यत्र डाईभर्सन गर्दा यहाँको तापक्रम सन्तुलन विग्रने, कालीगण्डकी नदी किनारामा संञ्चालित बोरिङ तथा लिफ्ट खानेपानी आयोजना बन्द हुने,  नदीले गर्ने फोहोर सफाई रोकिने, नदी अतिक्रमण बढ्ने, मानव वस्ती भन्दा कम्तीमा दुई मिटर अग्लो ड्याम बस्ने हुँदा तल्लो तटिय वस्ती बाढीको जोखिममा पर्ने भन्दै आयोजनाको बाँध निर्माण कम्तीमा २ किमी माथी सार्न सुझाएका हुन ।‘आयोजना सञ्चालन गर्दा कम्तीमा १० प्रतिशत पानी छोड्नु पर्ने कानुनी बाध्यता नै रहेको र कालीगण्डकी हिमनदी भएकोले शंका गरिएजस्तो गर्मि समयमा पानी घट्ने नभै बढ्छ’ आयोजनाका सामाजिक, आर्थिक विज्ञ भरतमणी शर्माले भने, ‘आयोजना सुरु भए स्थानीयले रोजगारी पाउने, रोयल्टी पाउने, सामाजिक विकासमा आमुल लगानी भित्रन्छ ।’आयोजनाले सार्वजनिक गरेको संक्षिप्त वातावरणीय प्रभाव मुल्याङ्ढन प्रतिवेदनको वन्य जन्तु शिर्षकमा आयोजना क्षेत्रमा पाईने वन्यजन्तु मध्य ३ प्रजातिका सरिसृप, २ प्रजातिका उपयाचर, १८ जातीका चरा, ७ प्रकारका माछाका प्रजातिका साईटीस तथा आयुएिन दुवैको संरक्षण सूचिमा छन । अझ केही वन्य जन्तु संरक्षणको रातो सूचिमा परेको उल्लेख छ ।‘जलविधुत आयोजना भुमाफियाको प्रलोभनबाट बच्न आवश्यक छ । कुनै पनि योजना मान्छेकालागी र भोलीका सन्ततीकालागी हो, सकेसम्म वातावरणमा कम क्षति पुग्ने कुरामा ख्याल गरी ड्याम माथी सार्नु सार्नु नै हित हुन्छ’ संविधान सभा सदस्य एवं पूर्व प्रतिनिधी सभा सदस्य नवराज शर्माले भने, ‘वातावरणमा पर्ने क्षतिको मुल्य आयोजना माथी सार्ने भन्दा कम हो ।’बेनीदेखी माथी मुस्ताङ्गसम्म कालीगण्डकी नदीमा कम्तीमा ६ वटा मझौला तथा ठूला जलविधुत आयोजना निर्माण प्रकृयामा छन ।