स्कोरिङ डेप्थ’ फर्मुला नअपनाउँदा बर्षेनी बग्छ, बेनीको तटवन्ध

१६ असार २०७६, सोमबार ०९:५६ मा प्रकाशित (1 वर्ष अघि)
पुनहिल संवाददाता

म्याग्दी, १६, असार ।

स्कोरिङ डेप्थ’ अर्थात नदी कटान रोक्न गरिने तटवन्ध निर्माण सम्बन्धी इन्जिनियरिङ सुत्र । तटवन्धको इन्जिनियरिङ डिजाईन गर्दा नदीले ओगट्ने क्षेत्रफल, नदीमा पानी आउने क्षेत्र (क्याचमेन्ट एरिया), कम्तीमा ५० बर्षको बाढीको रेकर्डलाई आधार मानिनु पर्छ ।

प्राविधिकहरुका अनुसार बेनीको तटवन्ध डिजाईन स्कोरिङ डेप्थ सुत्र प्रयोगगरी गरिएन, गरिएको छैन । डिजाईन सतही तथा त्रुटीपूर्ण रहेको प्राविधिकले बताएका छन । उनीहरुका अनुसार बेनी संरक्षणको तटवन्धको संरचना बनाउँदा नदीको साँघुरिएको पेरिमिटर, बग्ने पानीको भोलुम, डेव्रिजको भोलुम, बाढीको ईतिहास अध्ययन ‘स्कोरिङ डेप्थ फर्मुला’ प्रयोग नहुँदा बाढीले बर्षेनी तटवन्ध बगाउने गर्छ ।

‘सुत्र प्रयोग गरी डिजाईन गरिएको भए नदीको गहिराई पत्ता लगाउने, आरसिसि वालको अगाडी स्टक्चर तथा नदी जोडिने स्थानमा लन्चीङ एप्रोन राख्ने र  वालको पछाडीपट्टी काउण्टर फर्ट आरसिसि रिटेनिङ वाल आवश्यक हुन्छ । त्यस्तो देखिन्न’ बेनी नगरपालिकाका इन्जिनियर विमलरन्जन कार्कीले भने, ‘म्याग्दी र कालीगण्डकी नदीमा यी प्राविधिक पक्षमा ख्याल गरिएको छैन ।’

बेनीका दुवै कोखाबाट वग्ने म्याग्दी र कालीगण्डकी नदी नियन्त्रणगरी सदरमुकाम बेनी संरक्षण गर्न बर्षेनी तटवन्ध लगाईन्छ । कुनै बर्ष ग्याभिन जाली मात्र भरिन्छ । कुनै वर्ष पक्की आरसिसी कंक्रिट ढलान तटवन्ध । नाफाखोर तटवन्धलाई म्याग्दी र कालीगण्डकीको उर्लदो भेलले के थेग्थ्यो, बर्षेनी बगाउँछ । जस्ताको त्यस्तै ।

नेपालका बाढीपहिरोको उच्च जोखिमयुक्त जिल्ला सदरमुकाममा पर्छ, बेनीबजार । म्याग्दी र कालीगण्डकीमा बर्षेनी बाढी आउने र बस्ती कटान गरिरहेको भएपनि पछिल्ला ६ बर्षदेखी माक्र बेनी जोखिमयुत्त सदरमुकाममा सूचिकृत भएको हो । कालीगण्डकी नदीतटमा अवस्थित बेनीका दुई सयबढी घरधनी मध्य एक हुन, बालकृष्ण सुवेदी । सुवेदी बर्खाका तीन महिना राम्ररी निदाउन सक्दैनन । उनी मात्र होईन, बेनीबासी असार–भदौमा कालिगण्डकी नदीमा उर्लेर आउने बाढीले सताउने गरेको हो ।

‘बेनीमा २०४४ सालदेखी कालीगण्डकी नदीले बढी वितण्डा मच्चाउन थालेको हो । त्यो साल बेनीको एक तिहाई क्षेत्रफल बाढीले कटान गरेको थियो । त्यसपछि स्थानीयले श्रमदान र जग्गाको हातका दरले चन्दा संकलन गरी ग्याभिन जाली भर्दै तटवन्ध लगाउन सुरु गरेका हौं’ बेनी बचाउ अभियन्तामध्यका एक हरीकृष्ण श्रेष्ठले भने, ‘सुरुमा ८–१० थान ग्याभिनलाई विच विचमा छड्के भरिन्थ्यो, ०४९ पछि वेनी बजार वारपार नदी किनारामा ग्याभिन लगाउन सुरु गर्यौं ।’

धेरै वर्ष अघिदेखी बेनीबासीले आफ्नै वलवुताले ग्याभिन जाली माग्दै तटवन्ध लगाउँदै संरक्षण गर्दै आएका थिए । सरकारले सदरमुकाम संरक्षण गर्न कार्यक्रम नै बजेट आउन थालेपछि बेनीबासीको सपना देखे, बजारको सडक साँघुरो छ, तटवन्धमाथी रिङ्ग रोड निर्माण गर्ने । कमिसन र नाफाखोरबाट कमजोर तटवन्धले कालीगण्डकीको बाढीलाई के थेग्न सक्थ्यो, एकै रातमा बगाउँछ । कटानको त्रास उस्तै, आकासमा कालो बादल लाग्ने रात निदाउनै मुस्किल ।

०५५ देखी जलउत्पन्न प्रकोप कार्यालय मार्फत १०–१२ लाखका दरले उपभोक्त समिति निर्माणगरी तटवन्ध लगाउने नियमित बजेट आउन थालेको हो । सरकारले बनीलाई बाढीपहिरोको जोखिमयुक्त सदरमुकाम घोषणा गरेपछि नदी नियन्त्रणसँगै सडक पनि बनाउन चर्चा भएको हो । हरेक निर्वाचनमा दलहरुले यो विषय घोषणापत्रमा छुटाउँदैनन । तर बर्षेनी तटवन्ध बाढीले बगाउन छोडेको छैन ।

हालै म्याग्दीबाट निर्वाचित प्रतिनिधी सभा सदस्य भुपेन्द्रबहादुर थापाले संसदमा समय लिएर बोले, ‘जोखिमयुक्त जिल्ला सदरमुकाम बेनी संरक्षणमा बजेट विनियोजन भएन, बजेट ब्यवस्था गरियोस ।’ तर सांसद थापाले संसदलमा ‘बेनी संरक्षण गर्न बर्षेनी हिँदमा तटवन्ध गरिन्छ, बर्खाको भेलले बगाउँछ, दोषीलाई कारवार्ही गरियोस’ भन्न सकेनन ।

ग्याभिन जालीले भन्दाबढी सुरक्षित बनाउन ०७० देखी बेनी संरक्षण गर्न लगाएको आरसिसी पक्की वाल गत बर्ष कालीगण्डकी नदीमा आएको बाढीले बगायो । इन्जिनियरिङ त्रुटी, ठेकदारको लापरवाही र नियमनकारी निकायको मिलेमतोले आरसिसि वालसँग कम्तीमा ६ करोडबढी बजेट क्षणभरमा बग्यो । साविकको जलउत्पन्न प्रकोप नियन्त्रण सव डिभिजन कार्यालयले ‘प्राविधिक वा ठेकदार कस्को कमजारीले’ वाल बग्यो छानविन गर्न गठित समिति कार्यालय समायोजनसँगै झिसमिस भएको छ । कार्यालयले नदीमा डेव्रिजसहितको ठुलो बाढी आएकोले तटवन्धले थेग्न नसक्दा ढलेको दावी गर्यो ।

‘बाढीमा डेब्रिज बग्छ, अझ ठूलठूला ढुङ्गामुढा र रुख ल्याउँछ । त्यही थेग्न बलियो संरचना आवश्यक परेको हो’ प्रभावित बालकृष्ण सुवेदीले भने, ‘एउटै बर्खाको एक दिनको बाढीको बगाउने तटवन्धमा गल्ती गर्नेलाई सँजाय नहुनु दुखद हो ।’

जति उच्च हिमाल तथा पहाड उति उति बाढी पहिरोको जोखिम । धौलागिरी, निलगिरी, अन्नपूर्णबाट झर्ने खोला क्षेत्रमा पहिरोको जोखिम उच्च छ । कालीगण्डकी नदीले बनाएको खोंचका प्रायःसवै पहाड ९० डिग्री बढी भीराला छन । र यीनै पहाडको फेदीका कालीगण्डकी नदीले बनाएको बगरमा अवस्थित बेनी र नदी तटिय वस्ती बाढी र पहिरोको उच्च जोखिममा छन । कालीगण्डकी नदी मात्र होईन धौलागिरी हिमालबाट झर्ने पश्चिमभेगबाट बग्ने म्याग्दी खोला र मध्यभागबाट झर्ने राहुघाट खोलामा पनी पहाडको संरचना उस्तै छन ।

मुस्ताङ्गको लेतेबाट तल म्याग्दी सदरमुकाम बेनीसम्मको ४४ किलोमिटर कालीगण्डकी नदीले बनाएको खोंचका प्रायःसवै सहर तथा बस्तीहरु बाढीपहिरोको उच्च जोखिममा छन । कालीगण्डकी, म्याग्दी र राहुघाट नदीमा यस अगाडी पनि पटक–पटक पहिरो झर्ने र थुनिने तथा बाढी आई बजार कटान गर्ने भैरहन्छ ।

कालीगण्डकी नदी २०१४ सालमा ठूलो पहिरोले थुनिएको थियो ।  ०५५ साल असोज १० गते अन्धगल्छीको तातोपानी बजारमा शिख गाविसको गोगनपानी भिर खस्दा कालीगण्डकी १० घन्टा थुनियो । पछिल्लो ०७२ जेठ १० गते बैंसरी पहिरोले १६ घन्टा कालीगण्डकी थुनिएको हो । ०४४ सालमा आएको बाढीले कालीगण्डकी तटिय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो । म्याग्दी नदीमा ०४५ साल असोज २ गते साँझ छरछरेको भीर भत्कदा दरवाङ्ग बजार पुर्दा एक सय ९ जनाको मृत्यु भएको थियो ।