आहा, उसिनेको आलुलाई टिमुरको चटनी

१४ असार २०७६, शनिबार ११:१६ मा प्रकाशित (1 वर्ष अघि)
पुनहिल संवाददाता

म्याग्दी, १४ असार ।

संस्कृत भाषामा बटाटा, स्पेनि भाषाको ‘पटाटा’, अँग्रेजीमा ‘पोट्याटो’ हुँदै बहुउपयोगी कन्दमुल नेपालीमा आलु भएको हो ।

नेपाली वोलिचालीमा ‘आलु’ शब्दले नकरात्मक अर्थ अर्थात शुन्य परिणाम र ‘आलुखाने’ शब्दले ब्यक्तिलाई अपमानित गर्छ । तर विश्वभर नै सदावहार उपयोग गरिने आलुलाई तरकारीको राजा र जमीन मुनी फल्ने स्याउ समेत भनिन्छ । विश्वका सवै क्षेत्रमा पाईने आलुको ठाउँ र जाति अनुसार आ–आफ्नो शैलीमा आफ्नै प्रकारको स्वाद बनाई उपभोग गरिन्छ ।

जुनसुकै मौषम र हावापानीमा फल्ने तथा सवै प्रकारका परिकारमा पनि मिल्न सक्ने गुणले आलुको महत्व झन बढाएको छ । आलुको उच्च पहाडी क्षेत्रमा खाद्यान्न बालीको रुपमा तल्लो पहाड तथा तराईमा तरकारी खेतीको रुपमा लगाईन्छ । धान खेती नहुने म्याग्दीका उपल्लो भेगमा असार, साउन र भदौका तिन महिना मुख्य खाना आलु हो ।

आलु पोषणयुक्त र वलबर्द्धक खाद्य पदार्थ मात्र नभै औषधिय गुण समेत हुन्छ । एक सय ग्राम खान योग्य आलुमा २२.९ प्रतिशत कार्वोहाईड्रेड, १.६ प्रतिशत प्रोटिन, ७४.७ प्रतिशत पानी, ०.०१ ग्राम चिल्लो,०.६ ग्राम मिनरल्स, ०.१ प्रतिशत क्याल्सियम, ४० मिलिग्राम भिटामिन ए र ०.७ मिलिग्राम फलाम पाईन्छ ।

टिमुर, सिल्टिमुर, हरियो खुर्सानी, लसुन र चुल्ठे अमिलोको चट्नीसंग घ्यू वा तेल राखेर उसिनेको लेकाली आलु खाँदा ज्यादै मिठो हुन्छ । उसिनेको आलुलाई दुधमा मुछेर खाँदा पनि उस्तै मिठो हुन्छ । हिमाली भेगका ग्रामिण भेगमा उसिनेको आलुको दाल, रोटी र तरकारीको रुपमा खाईन्छ । मसिना आलु तावामा भुटेर पनि खाईन्छ । शहरमा आलु चिप्स र जंक फुलको रुपमा प्याकेटका प्रिङ्गल, लेज, कुरकुरे र आलुकै विस्कुट समेत पाईन्छ ।

असारमा कृषकलाई भ्याई–नभ्याई छ । वैंशीमा कृषकलाई धान, कोदो खेती लगाउने हतारो भएपनि लेकका कृषकलाई भने मुख्य वाली आलु थन्क्याउने र बेच्न भ्याई नभ्याई छ । खन्न थालेसँगै ब्यापारी हात–हातमा पैसा, वोरा र ढुवानीको साधन ट्याक्टर लिएर खेतवारीमै पुग्न थालेका छन । बारी छेउमै मोटरबाटो पुगेपछि नागी, राम्चे, हिस्तान, घराम्दी, खिवाङ, शिख, चित्रे, स्वाँता समेतका लेकाली वस्तीबाट आलु बोकेका ट्याक्टरको दैनिक लर्को बजार झर्ने गरेका छन ।

‘म्याग्दी आलु उत्पादन ठूला शहरमा समेत निर्यात गर्छ । आँकडा अनुसार कृषकले आलु बेचेर अघिल्लो बर्ष ४५ करोड बढी आम्दानी गरेका छन’ कृषी ज्ञान केन्द्रका बागवानी अधिकृत भोजबहादुर थापाले भने, ‘राम्रो मल, विउ, सिंचाईको ब्यवस्था र उन्नत खेती गर्ने हो भने उत्पादन दोब्बर बढी बनाउन सकिन्छ । भैरहेको खेती परम्पारगत प्रणालीमा आधारित छ ।’

विषादी रहित तथा स्वादिलो हुने भएकोले बेनी, बाग्लुङ्ग, पोखरा र काठमाण्डौसम्मका शहरमा लेकाली आलुको माग बढेको हो । आलु बेचेर मनग्य आम्दानी हुन थालेपछि बाँझो जग्गामा खेती थालिएको छ । ग्रामिण सडकको पहुँचले आलु उतपादन बढेको छ ।

‘अघिल्लो बर्ष आलु बेचें ७५ हजार आम्दानी गरें । गाउँका सवै घरले धेरैथोरै आलु बेच्छन । ब्यापारीहरु हातहातमा पैसा बोकेर बारीमै आलु खरिद गर्न आईपुग्छन । घर पुर्‍याउनु पनि पर्दैन’ राम्चेका कृषक फासबहादुर गर्वुजाले भने, ‘मोटरबाटो आएपछि हिंड्न सुविस्ता मात्र भएको छैन, गाउँमा खेर जाने आलु, तरकारीबाट आम्दानी भएको छ ।’

आर्गानिक खाना र वेजोड स्वादको कारण बजारमा लेकाली आलुको माग हृवात्तै बढेपछि आलु बेचेर यहाँका कृषकले मनग्य आम्दानी गर्न थालेका छन् । म्याग्दीको उपल्लो भेगका वस्तीबाट दैनिक सयौं टन आलु सदरमुकाम बेनी, बाग्लुङ्ग र पोखरा लगाएतको शहरमा झर्ने गरेको छ । स्थानियले लेकाली आलु पोखरा, काठमाण्डौ लगाएत शहरमा बस्ने आफन्तकालागी कोसेली पठाउने समेत गरेका छन ।

जिल्लाको उत्तरी भेगमा स्थानिय जातबाहेक कर्डिनल जातको आलु खेती बढी गरिन्छ । तल्लो क्षेत्रमा एम.एस ४२–३ र डिजिरे जातका आलु लगाउने गरिन्छ । ढोरपाटन क्षेत्र वरपर भने स्थानिय सेतो र लाम्चो आलुको खेती गरिन्छ । साविकको कृषी कार्यालयका अनुसार जिल्लाको एक हजार पाँच सय ५० हेक्टर क्षेत्रफलमा आलु खेतीबाट १८ हजार २ सय ८१ मेट्रिकटन आलु उत्पादन हुन्छ ।