- Loading...
काग बाठो कि कोइली ?
- पुनहिल डट कम
- ५ साल अघि
- ५५७ पटक पढिएको

बेनी नगरपालिकाले र आव ०७६/०७७ को बार्षिक बजेट, नीति तथा कार्यक्रम ल्याउन नसक्ने अवस्था छ । सन्दर्भको कुरो र कथाको चुरो गज्जव लागेर हामीले कान्तिपुर दैनिकमा प्रकाशित यो लेख हामीले साभारगरी प्रकाशित गरेका छौं ।
काग हामी सबैले देखे चिनेको चरा । घना सहरका टोलदेखि दूरदराजका गाउँसम्म देखिने काग हाम्रै घरबस्ती वरपर बस्न रुचाउने मानिसको नजिकको साथी हो ।
कागले विभिन्न फोहरहरू खाएर वातावरण सफा राख्ने मात्र होइन, मानिसलाई नचिनेका मान्छे वा जंगली जनावार आए सुरक्षित रहन सचेत गराउने सूचनाबाहक पनि हो ।
कागहरू बढ्दो सहरीकरण, प्रदूषण र फोहोरमैलासँग पनि अनुकूलित बन्दै गएकाले होला नेपाल पन्छी संरक्षण संघको हरेक ६ महिनामा काठमाडौं उपत्यकाका २४ स्थानमा गर्ने सहरी चरा गणनामा अन्य प्रजातिहरू हराउँदै गए पनि काग भने बढ्दै गएका छन् । नेपालमा घरकाग, कालो काग (वनकाग), टेमु, टुंगा र राजाकाग गरी पाँच प्रजातिका काग पाइन्छन् । समूहमा बस्ने कागले आफ्नो क्षेत्र निर्धारण गरेर गुँड बनाउँछन् र त्यस छेउछाउ मानिस वा अन्य शत्रु जीव पुग्दा रिसाउने, ठुङ्न खोज्ने, आफ्नो परिवारलाई बोलाएर जोडजोडले कराएर धपाउने गर्छन् । कागले अन्य चराहरूलाई सताउने, तर्साउने र आक्रमणसमेत गरी अन्ततः आफ्नो क्षेत्रबाट विस्थापित गराउँछन् ।
कागलाई सबभन्दा बाठो चरा ठानिन्छ । त्यसैले होला हामीहरू अत्यन्तै चतुर मान्छेलाई ‘कागको फूल चोर्ला’ जस्तो भन्छौं । कागका बौद्धिकता र चलाखीका कथा तथा प्रसंगहरू अन्य चराहरूको भन्दा धेरै नै सुनिन्छ । चलनचल्तीमा कागसँग जोडेर धेरैथरी उखानको प्रयोग गर्ने गरिन्छ । यिनैमध्येको एउटा प्रचलित उखान छ– कागभन्दा कोइली बाठो ! हाम्रा पुर्खाहरूले देखेका यी दुई फरक जातका चराहरूको आपसी सम्बन्धको लामो अनुभवका आधारमा नै यसो भनेका होलान् ।
कोइली पनि सुनेकै नाम हो, सुमधुर स्वरको प्रतीक मानिने कोइलीको विभिन्न कुहुकुहु, काफल पाक्यो, बिहु कुहियोजस्ता आवाज वसन्त ऋतुको आगमनसँगै गुन्जिन्छ । कोइलीहरू सुरिलो स्वर, लामो दूरीको बसाइसराइ र आफैं गुँड नबनाउनेजस्ता कारणले चर्चित छन् । जुरे कोइली त अफ्रिका महादेशबाट करिब ५ हजार किलोमिटरभन्दा लामो दूरी पार गर्दै ग्रीष्मयाममा नेपाल भित्रिन्छ । चिनियाँ राजधानी बेइजिङ नजिकको सिमसार क्षेत्रबाट स्याटेलाइट ट्याग लगाएर छाडिएका दुई कुक्कु कोइली गत वर्ष हजारौं माइल यात्रा गर्दै, दर्जनौं देश र महासागर नाघी अफ्रिकासम्म पुगे । तीमध्ये एउटा पुन चीन फर्कियो भने अर्को अफ्रिकामै घरजम गरी बस्यो ।
अफ्रिका पुगेर फर्किंदासम्म एक वर्षमा १६ देश हुँदै कम्तीमा २७ हजार किलोमिटर यात्रा गरेको स्याटेलाइट ट्यागले पठाएको सूचनामा उल्लेख छ, जुन झन्डै आधा संसारको यात्रा हो । उत्तरी चीनबाट अफ्रिका बसाइसराइ गर्ने कोइली चरीहरूको रोचक यात्राले मानिस, पारिस्थितिकीय प्रणाली र राष्ट्रहरूलाई जैविक रूपमा जोडिरहेका छन् । कोइलीजस्तो सानो चराले गरेको त्यस्तो साहसिक र जोखिमपूर्ण यात्रा पेरणादायक छ । नेपाल वायुसेवा निगमले पनि आफ्ना केही जहाजमा कोइलीको फोटो र नाम ‘कोइली’ राखेको त छ तर कोइलीकै जस्तो सार्थक यात्रा भने हुन सकिरहेको छैन ।
नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिले त आफ्नो गुँड नै बनाउँदैनन् र अण्डा अरू चराको गुँडमा पार्दिन्छन् । उक्त चराले आफ्नै सन्तान ठानेर कोइलीको बच्चालाई हुर्काउँछ । यिनैमध्येको एक कुहु कोइली हो, जसले कागको गुँडमा अण्डा पार्दिन्छ । तर यो सहजै होइन, बाठो कागले प्रायशः रूखको माथि टुप्पामा गुँड बनाउँछ र निकै सतर्कतासाथ रखवाली गरिरहेको हुन्छ । तर, कोइलीका भाले–पोथी उक्त कागको गुँड वा ओथारोबाट विचलित बनाउने उद्देश्यले उनीहरूको गुँडनजिकै गएर जिस्काउँछन् । काग पनि के कम दुवै भालेपोथी नै मिलेर निकै पर–पर पुग्ने गरी कोइलीलाई लखेट्छन् ।
त्यही बीचमा बढ्दो कुशलतापूर्वक छल्दै पोथी कोइली कागको गुँडमा गएर अण्डा पार्दिन्छ । अनि कागले निकै पर पुग्ने गरी लखेटेको कोइली आउन सक्दैन भनेर फर्किएर गुँडमा जाँदा कोइलीले अण्डा पारी छाडेर गइसकेको हुन्छ । कोइलीको छिट्टै अण्डा पार्न सक्ने विशिष्ट गुण हुन्छ भने अण्डा पनि कागको सँग मिल्दोजुल्दो नै हुन्छ । काग सबै अण्डा आफ्नै ठानेर ओथारो बसी बच्चा कोरली हुर्काउने गर्छ तर अन्तमा त्यो बच्चा कागको नभएर कोइलीको हुन्छ । यसरी कोइलीका बचेरा अर्कैको कोखमा हुर्कन्छन् । बच्चा हुर्केपछि कोइलीले फकाउँदै आफैंसँगै लान्छन् । त्यसैले होला कागका चल्ला कागैतिर, कोइलीका चल्ला कोइलीतिर उखान बनाइएको । कोइलीबाहेक अन्य चराले आफैं गुँड बनाइ, आफ्नै गुँडमा आफैं बच्चा कोरल्ने हुँदा कोइलीलाई स्वार्थी र अरूको श्रममा आश्रित चरा पनि भनिन्छ । तर कागजस्तो चंखलाई पनि छल्न सक्ने भएकाले होला कागभन्दा कोइली बाठो भनिएको ।
केही दिनअघि नेपाल पन्छी संरक्षण संघको चरा अवलोकनमा काठमाडौंको रानीबारी सामुदायिक वनमा पुग्दा कागले कोइलीको बच्चालाई आहार खुवाइरहेको थियो भने कोइलीका माउ नजिकै बसी हेरिरहेका थिए । अन्य प्रजातिका कोइली पनि अण्डा पार्ने बेला खुसुक्क अरू सानातिना चरा जुरेली, धोबिनी, भ्याकुर, फिस्टा, चाचर, तोरीगाँडाजस्ता चराको गुँडमा जान्छन् र त्यहीँ अण्डा पार्छन् । कतिपय अवस्थामा ओथारो बसेको चराले थाहा नपाउन् भनेर चराले पारेको फुल पनि कोइलीले खसालेर फुटाइदिने गर्छ । एउटा गुँडमा एउटा मात्र अण्डा पारिदिने कोइली एक प्रजनन अवधिमा करिब दर्जन अण्डा फरक–फरक गुँडमा पारिदिन्छ ।
यी साना चराहरूको बच्चा कोरलिँदा भने कोइलीका ठूला ठूला बचेरा निस्कन्छन् । हालै मात्र अनिल पौडेलले भक्तपुरमा खिचेको एक तस्बिरमा धोबिनी चरीले आफूभन्दा दोब्बर ठूलो काफल पाक्यो कोइलीको बच्चालाई आहार खुवाउँदै गरेको देखिन्छ । फिस्टे चराले आफूभन्दा तीन गुणा ठूलो खन्चुवा कोइलीलाई सकिनसकी चारा खोजेर खुवाई अत्यन्तै कष्टका साथ हुर्काउने गर्छ । हुर्काउँदै जाँदा निश्चय नै आफ्नो सन्तान होइन भन्ने आभास त ती चराहरूले पाउँछन् होला तर विकसित मातृत्वको भावनात्मक सम्बन्धले बचेरा पूर्ण सक्षम भएर स्वयम् बच्चाले नछाडुन्जेल ख्याल गरिरहेका हुन्छन् । यो नै सम्बन्धप्रतिको बफादारिता बुझाउने जीवनदर्शन हो ।
मधुर स्वरले सबैलाई मन्त्रमुग्ध बनाउने कोइलीको त्यसभित्र लुकेको स्वार्थीपना देख्दा बोली र व्यवहार एकै नहुँदो रहेछ भन्ने बुझ्न सकिन्छ । कोइलीबाट ठगिरहने कागलाई हेर्दा जति नै बाठो र चातुर्यको घमण्ड भए पनि त्यो पूर्णचाहिँ नहुँदो रहेछ । जे होस् सदियौंअघिको वृत्ति विकासको क्रमसँगै विकसित भएको यो सम्बन्ध निरन्तर चलिरहोस् । हाम्रो वरपर काग छन् र त हामी कोइलीको आवाज सुन्न पाएका छौं ।
[email protected]

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
