आज:  | Fri, 24, Jun, 2022

काग बाठो कि कोइली ?

९ असार २०७६, सोमबार १४:०५ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता
बेनी नगरपालिकाले र आव ०७६/०७७ को बार्षिक बजेट, नीति तथा कार्यक्रम ल्याउन नसक्ने अवस्था छ । सन्दर्भको कुरो र कथाको चुरो गज्जव लागेर हामीले कान्तिपुर दैनिकमा प्रकाशित यो लेख हामीले साभारगरी प्रकाशित गरेका छौं । काग हामी सबैले देखे चिनेको चरा  । घना सहरका टोलदेखि दूरदराजका गाउँसम्म देखिने काग हाम्रै घरबस्ती वरपर बस्न रुचाउने मानिसको नजिकको साथी हो  । कागले विभिन्न फोहरहरू खाएर वातावरण सफा राख्ने मात्र होइन, मानिसलाई नचिनेका मान्छे वा जंगली जनावार आए सुरक्षित रहन सचेत गराउने सूचनाबाहक पनि हो । कागहरू बढ्दो सहरीकरण, प्रदूषण र फोहोरमैलासँग पनि अनुकूलित बन्दै गएकाले होला नेपाल पन्छी संरक्षण संघको हरेक ६ महिनामा काठमाडौं उपत्यकाका २४ स्थानमा गर्ने सहरी चरा गणनामा अन्य प्रजातिहरू हराउँदै गए पनि काग भने बढ्दै गएका छन् । नेपालमा घरकाग, कालो काग (वनकाग), टेमु, टुंगा र राजाकाग गरी पाँच प्रजातिका काग पाइन्छन् । समूहमा बस्ने कागले आफ्नो क्षेत्र निर्धारण गरेर गुँड बनाउँछन् र त्यस छेउछाउ मानिस वा अन्य शत्रु जीव पुग्दा रिसाउने, ठुङ्न खोज्ने, आफ्नो परिवारलाई बोलाएर जोडजोडले कराएर धपाउने गर्छन् । कागले अन्य चराहरूलाई सताउने, तर्साउने र आक्रमणसमेत गरी अन्ततः आफ्नो क्षेत्रबाट विस्थापित गराउँछन् । कागलाई सबभन्दा बाठो चरा ठानिन्छ । त्यसैले होला हामीहरू अत्यन्तै चतुर मान्छेलाई ‘कागको फूल चोर्ला’ जस्तो भन्छौं । कागका बौद्धिकता र चलाखीका कथा तथा प्रसंगहरू अन्य चराहरूको भन्दा धेरै नै सुनिन्छ । चलनचल्तीमा कागसँग जोडेर धेरैथरी उखानको प्रयोग गर्ने गरिन्छ । यिनैमध्येको एउटा प्रचलित उखान छ– कागभन्दा कोइली बाठो ! हाम्रा पुर्खाहरूले देखेका यी दुई फरक जातका चराहरूको आपसी सम्बन्धको लामो अनुभवका आधारमा नै यसो भनेका होलान् । कोइली पनि सुनेकै नाम हो, सुमधुर स्वरको प्रतीक मानिने कोइलीको विभिन्न कुहुकुहु, काफल पाक्यो, बिहु कुहियोजस्ता आवाज वसन्त ऋतुको आगमनसँगै गुन्जिन्छ । कोइलीहरू सुरिलो स्वर, लामो दूरीको बसाइसराइ र आफैं गुँड नबनाउनेजस्ता कारणले चर्चित छन् । जुरे कोइली त अफ्रिका महादेशबाट करिब ५ हजार किलोमिटरभन्दा लामो दूरी पार गर्दै ग्रीष्मयाममा नेपाल भित्रिन्छ । चिनियाँ राजधानी बेइजिङ नजिकको सिमसार क्षेत्रबाट स्याटेलाइट ट्याग लगाएर छाडिएका दुई कुक्कु कोइली गत वर्ष हजारौं माइल यात्रा गर्दै, दर्जनौं देश र महासागर नाघी अफ्रिकासम्म पुगे । तीमध्ये एउटा पुन चीन फर्कियो भने अर्को अफ्रिकामै घरजम गरी बस्यो । अफ्रिका पुगेर फर्किंदासम्म एक वर्षमा १६ देश हुँदै कम्तीमा २७ हजार किलोमिटर यात्रा गरेको स्याटेलाइट ट्यागले पठाएको सूचनामा उल्लेख छ, जुन झन्डै आधा संसारको यात्रा हो । उत्तरी चीनबाट अफ्रिका बसाइसराइ गर्ने कोइली चरीहरूको रोचक यात्राले मानिस, पारिस्थितिकीय प्रणाली र राष्ट्रहरूलाई जैविक रूपमा जोडिरहेका छन् । कोइलीजस्तो सानो चराले गरेको त्यस्तो साहसिक र जोखिमपूर्ण यात्रा पेरणादायक छ । नेपाल वायुसेवा निगमले पनि आफ्ना केही जहाजमा कोइलीको फोटो र नाम ‘कोइली’ राखेको त छ तर कोइलीकै जस्तो सार्थक यात्रा भने हुन सकिरहेको छैन । नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिले त आफ्नो गुँड नै बनाउँदैनन् र अण्डा अरू चराको गुँडमा पार्दिन्छन् । उक्त चराले आफ्नै सन्तान ठानेर कोइलीको बच्चालाई हुर्काउँछ । यिनैमध्येको एक कुहु कोइली हो, जसले कागको गुँडमा अण्डा पार्दिन्छ । तर यो सहजै होइन, बाठो कागले प्रायशः रूखको माथि टुप्पामा गुँड बनाउँछ र निकै सतर्कतासाथ रखवाली गरिरहेको हुन्छ । तर, कोइलीका भाले–पोथी उक्त कागको गुँड वा ओथारोबाट विचलित बनाउने उद्देश्यले उनीहरूको गुँडनजिकै गएर जिस्काउँछन् । काग पनि के कम दुवै भालेपोथी नै मिलेर निकै पर–पर पुग्ने गरी कोइलीलाई लखेट्छन् । त्यही बीचमा बढ्दो कुशलतापूर्वक छल्दै पोथी कोइली कागको गुँडमा गएर अण्डा पार्दिन्छ । अनि कागले निकै पर पुग्ने गरी लखेटेको कोइली आउन सक्दैन भनेर फर्किएर गुँडमा जाँदा कोइलीले अण्डा पारी छाडेर गइसकेको हुन्छ । कोइलीको छिट्टै अण्डा पार्न सक्ने विशिष्ट गुण हुन्छ भने अण्डा पनि कागको सँग मिल्दोजुल्दो नै हुन्छ । काग सबै अण्डा आफ्नै ठानेर ओथारो बसी बच्चा कोरली हुर्काउने गर्छ तर अन्तमा त्यो बच्चा कागको नभएर कोइलीको हुन्छ । यसरी कोइलीका बचेरा अर्कैको कोखमा हुर्कन्छन् । बच्चा हुर्केपछि कोइलीले फकाउँदै आफैंसँगै लान्छन् । त्यसैले होला कागका चल्ला कागैतिर, कोइलीका चल्ला कोइलीतिर उखान बनाइएको । कोइलीबाहेक अन्य चराले आफैं गुँड बनाइ, आफ्नै गुँडमा आफैं बच्चा कोरल्ने हुँदा कोइलीलाई स्वार्थी र अरूको श्रममा आश्रित चरा पनि भनिन्छ । तर कागजस्तो चंखलाई पनि छल्न सक्ने भएकाले होला कागभन्दा कोइली बाठो भनिएको । केही दिनअघि नेपाल पन्छी संरक्षण संघको चरा अवलोकनमा काठमाडौंको रानीबारी सामुदायिक वनमा पुग्दा कागले कोइलीको बच्चालाई आहार खुवाइरहेको थियो भने कोइलीका माउ नजिकै बसी हेरिरहेका थिए । अन्य प्रजातिका कोइली पनि अण्डा पार्ने बेला खुसुक्क अरू सानातिना चरा जुरेली, धोबिनी, भ्याकुर, फिस्टा, चाचर, तोरीगाँडाजस्ता चराको गुँडमा जान्छन् र त्यहीँ अण्डा पार्छन् । कतिपय अवस्थामा ओथारो बसेको चराले थाहा नपाउन् भनेर चराले पारेको फुल पनि कोइलीले खसालेर फुटाइदिने गर्छ । एउटा गुँडमा एउटा मात्र अण्डा पारिदिने कोइली एक प्रजनन अवधिमा करिब दर्जन अण्डा फरक–फरक गुँडमा पारिदिन्छ । यी साना चराहरूको बच्चा कोरलिँदा भने कोइलीका ठूला ठूला बचेरा निस्कन्छन् । हालै मात्र अनिल पौडेलले भक्तपुरमा खिचेको एक तस्बिरमा धोबिनी चरीले आफूभन्दा दोब्बर ठूलो काफल पाक्यो कोइलीको बच्चालाई आहार खुवाउँदै गरेको देखिन्छ । फिस्टे चराले आफूभन्दा तीन गुणा ठूलो खन्चुवा कोइलीलाई सकिनसकी चारा खोजेर खुवाई अत्यन्तै कष्टका साथ हुर्काउने गर्छ । हुर्काउँदै जाँदा निश्चय नै आफ्नो सन्तान होइन भन्ने आभास त ती चराहरूले पाउँछन् होला तर विकसित मातृत्वको भावनात्मक सम्बन्धले बचेरा पूर्ण सक्षम भएर स्वयम् बच्चाले नछाडुन्जेल ख्याल गरिरहेका हुन्छन् । यो नै सम्बन्धप्रतिको बफादारिता बुझाउने जीवनदर्शन हो । मधुर स्वरले सबैलाई मन्त्रमुग्ध बनाउने कोइलीको त्यसभित्र लुकेको स्वार्थीपना देख्दा बोली र व्यवहार एकै नहुँदो रहेछ भन्ने बुझ्न सकिन्छ । कोइलीबाट ठगिरहने कागलाई हेर्दा जति नै बाठो र चातुर्यको घमण्ड भए पनि त्यो पूर्णचाहिँ नहुँदो रहेछ । जे होस् सदियौंअघिको वृत्ति विकासको क्रमसँगै विकसित भएको यो सम्बन्ध निरन्तर चलिरहोस् । हाम्रो वरपर काग छन् र त हामी कोइलीको आवाज सुन्न पाएका छौं । [email protected]