बजैहरुको महरे यात्रा

२६ जेष्ठ २०७६, आईतवार १६:३६ मा प्रकाशित (1 वर्ष अघि)
पुनहिल संवाददाता

म्याग्दी, २६, जेठ ।
विदेशी पर्यटक त बुढ्यौली उमेरमा पनि घुम्न आएका देखेकै छौं तर कहिल्यै हाम्रा गाउँघरका बुढी वजै र आमाहरु हिमाल, चराचुरुङ्गी र घाम झुल्केको हेर्न डाँडाकाडा डुल्न निक्लेको देख्नु भएको छ ? सायदै देख्नु हुन्छ । न हाम्रा बाजेबजै यसरी डुल्न निक्लेका छन ।
नेपाली समाजमा बुढ्यौली उमेरमा घरमै कुँजिएर बस्ने चलन । पाका उमेरका पुरुष कि चौतारीमा गफ गर्ने कि जुवा खालमा दिन विताउँछन । बजैहरु नातीनातिनाका हेरालु हुन्छन । घुमघाम गर्ने  संस्कृति नै छैन ।

तर म्याग्दी राम्चेका हिक्मतिला बजैहरुले भने पाहुना हिँड्ने बाटोमा पदयात्रा गरेका छन । अन्नपूर्ण गाउँपालिका, ८ राम्चेका ७८ बर्षिया नन्दकुमारी पुर्जा, ७६ बर्षकी पैसु खोरजा, ७१ बर्षकी मंगा पुन, ६६ बर्षिया दानकुमारी खोरजा र ६४ बर्षकी रती पुर्जा जेठ २१–२३ गते वुढ्यौली उमेरमा पनि ३ हजार ३ सय १३ मिटर अग्लो भ्यू पोइन्ट, महरेडाँडाको पदयात्रा गरेका हुन ।
मगर जातीको बसोबास रहेको साँस्कृतिक गाउँ राम्चे/नागीबाट ४ घन्टा जंगलको उकालो बाटो हिँडेपछि धिमाको डाँडा (हम्पाल) र थप ३ घन्टा उकालो चढेपछि महरेडाँडा (३३१३ मि.) पुग्न सकिन्छ । महरे डाँडाबाट अन्नपूर्ण–धौलागिरी हिमालय रेञ्जका सवै हिमालहरु पानोरोमिक भ्यू देख्न सकिन्छ । यहाँबाट सूर्योदय र सूर्यास्तको मनोरम दृष्य देख्न सकिन्छ । पर्यटन विकास सरकार र ब्यवसायीले मात्र होईन, समुदाय आफैले पनि गर्न सकिन्छ भन्ने उदाहरण हो, म्याग्दीको अन्नपूर्ण–धौलागिरी सामुदायीक पर्यापदमार्ग । महरेमा चौरी र स्थानीय गाईको व्रिडिङ गरिन्छ । यो गुराँसे जंगलको विचमा छ । मनसुन यात्राका वेला यहाँ निगालाको टुसा र रातो च्याउ खाना पाईन्छ ।

‘दैलो अघिल्तिरबाट गोराहरु (पर्यटक) घर्याप घर्याप डाँडामा उक्लेको देख्दा के हेर्न जाँदा हुन्, यिनीहरुले खाने कुरा कस्तो हुँदो हो भन्ने लाग्थ्यौ । मर्नु अघि यो डाँडामा उक्लने रहर लाग्यो’ महरेडाँडामा उक्लेकी रती पुर्जाले भनिन, ‘जुकाले त सँधै टोकेका थिए, तीन दिन हिँड्दा खुट्टा दुख्यो । हिमाल र घाम झुल्केका रमाईलो देखिने रहेछ ।’
बजै पर्यटकलाई गोरा (विदेशी पर्यटक)ले हिँड्ने बाटो हिँड्न, हेर्ने ठाउँ देख्न र होटलमा बस्न र पर्यटकले खाने परिकार पनि चाख्ने चाख्ने रहर रहेछ । बुढी बजैहरु पाहुना आएपछि होटलले पनि सत्कार गरेको छ । बजैहरुको रुची अनुसारको खानाका परिकार खुवाएको छ । बजै पर्यटकलाई होटलले पनि सुपथ मुल्यमा मेन्यू दियो । खाना छाकको ५० रुपैयाँ, वेडको रु ५० मात्र ।

‘वर्खाको सिजन, निर्जन जंगलको एक्लो होटलमा साँझ बुढी आमाहरु पाहुना आउँदा सुरुमा हामी पनि छक्क पर्यौं । चिसो ठाउँ भएकोले स्मोक हिटर बालेर न्यानो बनयौं, तातोकफीले सत्कार गर्यौं । गोराले खानेकुरा ल्याउ भन्नु भएकोले एप्पल पाई र पिज्जा बनाई खुवायौं’ महरे सामुदायीक लजकी कुक पोकमायाँ पुर्जाले भनिन, ‘एक दिन साईट सिन गरायौं । फर्कदा नयाँ बाटो हिंड्न चाहनु भएकोले झुक्किन सक्ने स्थानसम्म गाईड पनि गर्यौं ।’
तेस्रो दिन बजैहरु महरेबाट ब्रेकफास्टगरी ३ घन्टा ४० मिनेटमा (सामान्य २ घन्टा) ओरालो हिँडेर डाँडाखर्क/फुलवारी (२८२० मी)मा झरेका थिए ।  फुलवारीमा पनि सामुदायीक लज छ । लजमा दालभात खाएर थप ३ घन्टा ओरालो हिँडेर राम्चे स्थित घर फर्के । गाजोमा सातु र रोटी बोकेर मनसुनी पदयात्रामा निक्लेका बजैहरुले घर फर्कदा भने लेकाली धेरथोर रातो च्याउ, टुसा कोसेली बोकेर फर्केका थिए ।

नेपाल सरकारले महरे पदमार्गलाई एक सय नयाँ गन्तब्यमा समावेश गरेको छ । महरेमा ३० बेड क्षमताको सामुदायीक लज छ । यस बर्ष सरकारले पदमार्ग तथा होटल पूर्वाधार सुधार गर्न दिएको ५० लाख रुपैयाँ अनुदानबाट ४० बेड क्षमताको लज तथा छुट्टै २० बेड क्षमताको गाईड/पोटर हाउस निर्माण अन्तिम चरणमा छ ।

महरे पदमार्ग क्षेत्रका बस्तीमा घरबास (होमस्टे), सामुदायीक होटल/लज उपलब्ध छन । सामुदायीक पदमार्ग प्रविधी मैत्री छ । सवै क्षेत्रमा निःशुल्क वाईफाई उपलब्ध हुन्छ । चरा अध्ययन गर्न चाहने पर्यटकहरुकालागी महरे थप आकर्षण हो । परम्परागत पर्यटनबाट निश्चित ब्यक्तिबाहेक समुदायले कुनै लाभ लिन नसकेपछि गाउँलेहरुले पर्यटककालागी पदमार्ग संञ्चालन गरेका हुन । पदमार्ग प्रविधी मैत्री छ ।