टुसा, च्याउ अनि ढकायो

१७ जेष्ठ २०७६, शुक्रबार ०१:१८ मा प्रकाशित (1 वर्ष अघि)
पुनहिल संवाददाता

म्याग्दी, १७ जेठ ।

सहरका आफन्तलाई के कोसेली पठाउने ? नो टेन्सन । टुसा, च्याउ र ढकायो गुन्द्रुक । सहरमा टुसा र च्याउ भनेपछि हुरुक्कै हुन्छन, त्यसैले गाउँवाट सहर झर्दा आफन्तलाई लैजाने गतिलो कोसेली बनेको छ, निगालोको टुसा, च्याउ र ढकायो ।

जंगलमा यतिबेला च्याउ, टुसा र ढकायो साग प्रशस्त उम्रेको छ । जाँगर र अक्कल भएकाले जंगली खाद्य वनस्पती वेचेर मनग्य आम्दानी गरिरहेका छन । स्वादमा कहलिएका यी जंगली खाद्यपदार्थको माग सहरमा अधिक छ । जुकाको आक्रमण सहेर जंगलमा प्रशस्त खेर गैरहेको रातो च्याउ, टुसा र ढकायो जति टिप्न सक्यो उत्ति आम्दानी हुन्छ ।

‘सहरमा लेकाली जंगली खाद्य बनस्पति च्याउ, टुसा र ढकायोको माग यति छ कि पसलमा आउनासाथ खोसाखोस हुन्छ । नपाउने त झगडा नै गर्छन’ बेनीको धौलागिरी अर्गानिक कोसेली घरकी ब्यवस्थापक मीना राम्जालीले भनिन, ‘ताजा च्याउ केजीको एक हजार र ढकायोको गुन्द्रक प्रति केजी दुई हजारमा विक्रि हुन्छ ।’

निगालोको टुसामा रातो च्याउ मिसाएर पकाएको तरकारी कस्लाई पो मिठो नहोला र ? बर्षायाम सुरु भएसँगै जिल्लाका लेकाली वस्तीका अधिकांश घरका भान्सामा टुसा, च्याउ र ढकायो सागको तरकारी पाक्छ । पाहुनाको सत्कारमा टुसाको तरकारी पहिलो प्राथमिकतामा पर्ने गरेको छ । पाहुना पनि मासु भन्दा टुसाको तरकारीमा सन्तुष्ट हुन्छन । निगालाको टुसा र च्याउ आलु वा कुखुराको मासुमा मिसाएर पकाउँदा बढी स्वादिलो बन्छ ।

‘आजभोली पर्यटक छैनन, सवै गाउँले जंगल तिर टुसा, च्याउ र ढकायो साग टिप्न लर्को लाग्छ’ पर्यटकिय वस्ती घोडेपानीकी तारा पुनले भनिन, ‘घरमा खाने मात्र होईन पोखरा, काठमाण्डौ लगाएत सहरका आफन्तलाई कोसेली पठाउन पनि टुसा टिप्न जान्छौं । जुकाले टोक्ने त सामान्य हो । साथीभाईसंग निगालोको बाक्लो झाडीमा टुसा टिप्न जाँदा रमाईलो पनि हुन्छ ।’

लेकाली वस्तीमा च्याउ टिप्ने र टुसा भाँच्नेको चटारो लागेको छ । माथिल्लो लेकाली जंगलमा निगालोको टुसा पलाउन थालेपछि भाँच्नेको लर्को लाग्छ । लेकाली वस्तीबाट सहर झर्नेको झोलामा कोसेली (पार्सल) टुसा, रातो च्याउ र ढकायो सागको गुन्द्रुक बोकेका हुन्छन । वाल्यकालमा टुसा र च्याउको स्वाद पाएकाहरु बर्षायाम सुरु भएपछि सहरको बसाई छोडेर टुसा टिप्न मात्र पनि लेक उक्लन्छन ।

टुसा मात्र होई न स्थानीय जंगलमा रुखका मुडा–मुडा चाहर्न ब्यस्त छन । जिल्लाको माथिल्लो क्षेत्रका गुर्जा, कुईने, मंगले, घाँसीखर्क क्षेत्रका जंगलमा रातो च्याउ धेरै पाईने र बढी ब्यापार हुन्छ । मध्य जेठदेखी साउनसम्म च्याउ टिप्ने उपयुक्त मौषम हो ।

ढकायो साग भने २६ सय मिटरमाथीको जंगलमा यत्रतत्र उम्रन्छ । ढकायो पिँडालु प्रजातिको वनस्पति हो । ढकायो र बाँको झट्ट देख्दा उस्तै देखिन्छ । ढकायो एउटै आँख्लामा तिनपाते भै उम्रन्छ । अरु हाँगा वा पात निक्लन्न । यो नै बाँको र ढकायो साग छुट्याउने सजिलो उपाय हो । ढकायो जंगलमा घाँसजस्तै काटेर ल्याई एक दिन घाममा सुकाएर ओईलाएपछि थिचेर गुन्द्रुक बनाईन्छ ।