आज:  | Sat, 25, Jun, 2022

गुणस्तरहीन सामाग्री प्रयोगपछि गलेश्वर पुल निर्माण रोक्न निर्देशन

१५ जेष्ठ २०७६, बुधबार १६:०३ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता
म्याग्दी, १५ जेठ ।गिटी, वालुवा समेत निर्माण सामाग्री गुणस्तरहीन प्रयोग भएको भन्दै जिल्ला प्रशासन कार्यालयले यहाँको एक पक्की पुल अर्को ब्यवस्था नहुँदासम्म रोक्न निर्देशन गरेको छ ।जिल्ला पूर्वाधार विकास कार्यालयका डिभिजन इन्जिनियर ओमराज ढुङ्गाना, प्रहरी नायव उपरिक्षकसमेत पुल निर्माणस्थल पुगेका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्राविधिक आई गुणस्तर निर्धारण नगर्दासम्म पुलमा भैरहेको काम स्थगित गर्न निर्देशन गरेका हुन ।‘जिम्मेवार तहबाट नै गुणस्तरहीन निर्माण सामाग्री प्रयोग भैरहेको गुनासो पछि उपलब्ध प्राविधिक सहित स्थलगत अनुगमन गर्दा धुलोबालुवा र धेरै साना गट्टी प्रयोग भएको पाईयो’ प्रजिअ अधिकारीले भने, ‘डिजाईन इष्टिमेट’ अनुसार निर्माण सामाग्रीको गुणस्तर निर्धारण गर्ने दायीत्व सम्बन्धीत आयोजनाको हो  र गुणस्तर कन्ट्रोल गर्ने प्राविधिक नभेटिएकोले आयोजनालाई पत्रलेखी तुरुन्त परिचालन हुन निर्देशन गरिएको छ ।’बेनी–जोमसोम–कोरला सडक आयोजना अर्न्तगत रहुघाट नदीमाथी निर्माणाधिन पक्की पुलको फाउण्डेसन निर्माणमा गुणस्तरहीन गिटीवालुवा प्रयोग भएको भनी स्थानीय रघुगंगा गाउँपालिका प्रमुख भवबहादुर भण्डारीले प्रशासन कार्यालयलाई गुनासो गरका थिए ।‘आयोजनाले पुलमा कालीगण्डकी नदीको मसिनो बालुवा र गिटी नै प्रयोग गर्न मिक्स डिजाईन दिएको हो’ ठेकदार कम्पनी शर्मा/गजुरमुखी युनाईटेडकी इन्जिनियर सोनारी क्षेत्रीले भनिन्, ‘ठेकदार पक्षबाट कुनै वदमासी गरेका छैनौं ।’सदरमुकाम बेनीदेखी ३ किलोमिटर उत्तर बेनी नगरपालिका, ९ गलेश्वर र रहुगंगा गाउँपालिका, ३ पिप्लेको सीमावर्ती राहुघाटको पिप्लेपट्टी पक्की पुलको फाउण्डेसन राख्न ठलानको काम भैरहेको छ । ठेकदारले समयमा काम नगर्दा बेनी–जोमसोम र उत्तरी भेग जोड्ने बेलिव्रिज पनि जोखिममा परेको छ । दुई बर्षदेखी फाउण्डेसनको काम अलपत्रहुँदा वेलीव्रिज मात्र होईन पिप्लेपट्ट पुलमुख वस्ती पनि बाढीको जोखिममा परेको छ । गत बर्षको वर्खामा पनि ठेकदारले फाउण्डेसनको जल खन्नेक्रममा वस्ती जोखिममा परेको भन्दै काम रोकिएको थियो ।पुलको ठेक्का लिएको शर्मा/युनाईटेड विल्डर्स जे/भी काठमाण्डौले रहुघाट खोलामा फाउण्डेसन राख्न भएका ग्याभिन वाल समेतका संरचना भत्काएर खाडल खनिएको तर पुलको जग पुरै उठाउन नसक्दा बेनी–जोमसोम जोड्ने बेलीव्रिज र वस्ती जोखिममा छन ।