आज:  | Sat, 25, Jun, 2022

बरंजामा ‘धुलेमेला’ सुरु

१४ जेष्ठ २०७६, मंगलवार ०४:०० मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता
म्याग्दी, १४ जेठ ।बरंजाका ५४ घर कुरिया मगर समुदायले मनाउने बहुचर्चित धुलेमेला मंगलवारदेखी (जेठ १४–१६) सुरु भएको छ । मंगला गाउँपालिका, ४ बरंजाका बजांगी रोका, राम्जाली रोका, मर्चाथोकी रोका, दर्लामी घर्ती, सुतपराई घर्ती, बुढाथोकी र सुतपराई पुन मगरले धुमधामसाथ मनाउँने धुलेमेला ‘यौनउश्रृखल’ गतिविधीले चर्चित छ ।जेठ महिनामा औषी र पूर्णिमालाई छलेर मनाईने धुलेमेलाको पृति चढाउने, परेङ्ग हाल्ने र होरे गाउने गरिन्छ । जेठको पहिलो मंगलवार राखेको छ्याङ्ग (जाँड)लाई दोस्रो वा तेस्रो मंगलवार गाउँ नजिकै रहेको कुलथानमा चढाउने गर्छन ।धुले संरक्षण समितिका अध्यक्ष अर्जुन रोका मगरका अनुसार धुलेमेलाको दोस्रो दिन यो युवा/युवती दिन हो । यस दिनमा अविवाहित युवायुवती गाउँ नजिको भीरमा परेङ हाल्ने (भिरमह झिक्ने) खेल खेल्छन । विहान परेङ्ग हाल्ने खेल खेलेपछि अविवाहित युवायुवती गाउँ नजिकको (सिस्नुले बार लगाएर निश्चित गरिएको क्षेत्रफल खेतमा) जम्मा हुन्छन । युवा मध्य तीन जना युवालाई मुख्य राँगो र बाँकी राँगो बनाई डोरीले बाँधिन्छ । युवती सवै भैसी बन्छन । ५४ घरका मुखियाले राँगो बाँधेको डोरी फुकाएपछि राँगाहरु भैसी लेखेट्दै समाउन, चलाउन र चढ्न थाल्छन । सक्नेले सकेसम्मको यौनसम्पर्कको ‘अभिनय’ गर्छन । ५४ घर मगरका अविवाहित युवा युवतीबाहेक अन्य यो खेल क्षेत्रमा जान निषेध गरिएको हुन्छ । कोही गएको खण्डमा छ्याङ मुखमा हाली थुक्ने, गोवर दल्ने र जरिवाना समेत गर्ने चलन छ । साँझ घाम डाँडामा डुबेपछि (४ बजे) यो खेल समाप्त हुन्छ, अनि माटो र छ्याङ दल्दै खेल्दै युवायुवती घर फकन्छन । धुलेमेलाको मुख्य आर्कषण नै यहि खुल्ला यौनजन्य अभिनय हो ।धुलेमेलाको तेस्रो दिन बुढाबुढी तथा बयस्कहरुको दिन हो । यस दिन बयस्कहरुले होरे (पुख्यौली गित गाउँदै नाच्ने गर्छन) गाउँछन । होरे गित गाउँको आगनमा गाईदैन । गाउदेखी पर (धुले मरे खेत) खेतमा गै गाउने गर्छन । होरे गितमा पनि सकेसम्मका अश्लिल शब्दका गिती गेडमा झिकेर गितको भाकामा गाउने चलन छ ।‘धुले मेला म्याग्दीका मगरहरुमा भिन्नै पहिचान र सभ्यता बोकेको पुख्यौली आस्था हो’ धुले संरक्षण समितिका अध्यक्ष रोकाले भने, ‘धुले मेला खसी र उमंग भै पृतिलाई सम्झने र धुलो मेटेर हिलोमा प्रवेश गर्ने चाडको रुपमा मनाउने गरिन्छ । धुले पुजामा धजा अक्षेता र छ्याङ (जाँड मात्र चढाउने गरिन्छ । वली चढाईदैन वरु गोरुको पुच्छरको रौं काटेर चढाउने गरिन्छ ।’धुलेमेला अवधिवर बरंजाका ५४ घरकुरिया मगरहरुले खेतिपाती, घरमा कुचो लगाई बढार्न, लिपपोत गर्न, नुहाई धुवाई गर्न, हातमुख धुन, कपाल कोर्न, श्रृगार गर्न, ऐन हेर्न समेत ब्यक्तिगत सरसफाईमा समेत वर्जित गरिन्छ । यो धुलेमेलाको अर्को अनौठो विशेषता हो ।‘धुलेमा पृति पुजापछि होरे गाउँने नसकिँदासम्म खासगरी ४८ घन्टा घरायसी तथा ब्यक्तिगत सरसफाईका काम तथा बाहृय काम गर्न निषेध हुन्छ’ धुलेमेला साँस्कृतिक संयोजक कुलदीप जुग्जाली मगरले भने, ‘अन्य मठमन्दीर र देवीदेवताको पुजा गर्दा चोखो खाने, सफा हुने हुन्छ तर धुलेमा उल्लो छ ।’धुले पुजाको अवसर पारेर जेठ १९–२४ गतेसम्म छुट्टै साँस्कृतिक तथा खेलकुल प्रतियोगिता पनि आयोजना गरेको जनाएको छ । प्रतियोगितामा पहिलोलाई एक लाख र दोस्रोलाई ५० हजार पुरस्कार राशीको लोकदोहोरी, ७५/३५ हजार पुरस्कार भएको पुरुष भलिवल, ५०/२५ हजार राशीको बास्केटवल, ३०/१५ हजार राशीको महिला भलिवल प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगितामा नाम दर्ता, पहिलो तथा दोस्रो हुने टिमको खाना खर्च आयोजकले ब्यहोर्ने भएको छ ।‘दुर्गम गाउँमा यती ठूलो पुरस्कार राशीको खेल तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्नु सजिलो छैन । अझ हामीले सरकारबाट सहयोग पनि मागेका छैनौं’ धुले मेला संञ्चलन समितिका सदस्य योगेन्द्रमान शेरचनले भने, ‘धुलेका तीन दिन ५४ कुरिया मगरको पर्व भएपनि धुलेमेला सवैको साझा सांस्कृतिक धरोहर हो ।’