आज:  | Fri, 01, Jul, 2022

बजेट पुगेपछि गाउँमै रोजगारी

२० बैशाख २०७६, शुक्रबार ०३:५४ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता
म्याग्दी, २० वैशाख ।दुर्गम गाउँवस्तीमा पूर्वाधारहरु धामाधम निर्माण हुन थालेपछि स्थानीयले सिंहदरवार गाउँमा आएको महशुस गर्न थालेका छन । ग्रामिण जीवन शैलीमा परिवर्तन देखिन थालेको छ ।स्थानीय सरकारले विभिन्न योजना मार्फत बजेट वस्तीसम्म पुर्‍याएपछि म्याग्दीका गाउँ–गाउँमा रोजगारीको अवसर खुलेको छ । गाउँपालिका क्षेत्रमा सडक निर्माण/ग्राभेल, विद्यालय/आमा समुह/सामुदायीक भवन, झोलुङ्गे पुल, तटवन्ध निर्माण, श्वास्थ्य चौकी समेतका पूर्वाधार धामधम निर्माण सुरु भएकोले नयाँ शैलीको मजदुरको माग हृवात्तै बढेको छ । गाउँमा बजेट पुगेपछि मानवश्रम प्रयोग गरिने योजनामा कार्यरत प्रायः सवै मजदुर स्थानीय छन । परम्परागत कृषी मजदुरहरु धामधम दक्ष सिकर्मी, डकर्मी मात्र होईन, ढुङ्गा फोड्ने, गिठी कुट्ने समेतको अदक्ष काममा रोजगारी खुलेको हो । गाउँमा पुरुष न्यून भएकोले महिला परम्परागत खेतीपाती, घाँसदाउरा भन्दा फरक शैलीको कामको अनुभव गरिरहेका छन ।‘जनप्रतिनिधी तथा कर्मचारी तन्त्रमा नयाँ राज्य संरचना अनुकुलको अनुभव कमी, कर्मचारीको अभाव, ऐन/कानुन नभएको अवस्थाका विचमा पनि केही काम गर्ने जमर्को गरेका छौं । गाउँवासीमा आसा पलाउन थालेको छ’ जिल्लाको दुर्गम धौलागिरी गाउँपालिका प्रमुख थमसरा पुनले भनिन्, ‘ऐन, कानुन निर्माण गर्दै संस्थागत संरचना बनाउँदै, योजना निर्माणमा पनि प्राथमिकताकरण गरी काम गरिरहेका छौं । योजनासहित बजेट गाउँमै पुगेपछि स्थानीयमा उत्साह र जाँगर पनि देखिन थालेको छ ।’बजेट स्थानीय तहमा पुग्दा पूर्वाधार विकास मात्र हुँदैन, स्थानीयको आर्थिक जीवनमा समेत सकरात्मक प्रभाव पर्छ भने राम्रो उदाहरण भएको छ, धौलागिरी गाउँपालिका, २ लुलाङ्ग । लुलाङ्गको ८० प्रतिशत जनसंख्या दलित समुदायको हो । दुर्गम दलित वस्ती लुलाङ्गमा माईक्रो हाईड्रोको नहर निर्माण, २ वटा झोलुङ्गे पुल, र करिव एक करोडको वस्ती छेउको पहिरोमा ग्याभिन जाली भर्ने (तटवन्ध)लगाउने समेत २ करोड ५० लाखका तीन वटा योजना चालु छन । सवै योजनाका धेरैकाम मानव श्रम प्रयोग गर्नु पर्ने भएकोले गाउँमै रोजगारी खुलेको हो ।‘काम खोज्न बाहिर जानु पर्ने र बेरोजगार भएँ भन्ने समस्या छैन । गाउँका सवै श्रम गर्न सक्ने जनशक्तिले पछिल्ला ८ महिनादेखी नियमित रोजगारी पाएका छौं’ ३० किलोवाट क्षमताको लम्सुङ्ग माईक्रो हाईड्रोको नहर निर्माणमा संलग्न आईतराम विकले भने, ‘वर्खा लाग्न लाग्यो गाउँ छेउको पहिरोमा तलवन्ध लगाउन अझै बाँकी छ । जनसंख्या भन्दाबढी श्रमिक आवश्यक परेको छ । स्कुल छुट्टीको दिनमा केटाकेटीले पनि काम पाएका छन ।’एउटै वस्तीमा ३ करोडसम्मका विभिन्न योजना परेकोले गाउँका हरेक घरलाई रोजगारी मिलेको हो । केही वस्तीले हरेक घरबाट कम्तीमा एक जना अनिवार्य पारिश्रमिक लिएर काममा जानु पर्ने नियम राखिएको छ । काममा क्षमता अनुसार दक्ष/अदक्षलाई पारिश्रमिक फरक भएपनि महिला–पुरुषलाई समान पारिश्रमिक कार्यान्वयन गरिएकोले महिलाको हातमा नगद आम्दानी हुन थालेको छ ।‘गाउँमा योजना परेपछि हामी महिलाले पनि निर्माण मजदुरको जागिर पाएका छौं । आफ्नो गाउँको काम पनि हुने पैसा पनि हातमा आउने भएपछि खुसी लागेको छ’ अन्नपूर्ण गाउँपालिका, ८ नागीकी राममाया पुनले भनिन, ‘गाउँमा परिेको २० लाख बजेटको सडक ग्राभेल गर्ने काममा ९० प्रतिशत मजदुर महिला छौं ।’लुलाङ्ग र नागीमा मात्र होईन, जिल्लाका अधिकांश वस्तीमा निर्माण भएका मेशिन प्रयोग गरिने बाहेकका सडक मर्मत, बाटो, खानेपानी, भवन निर्माण समेत जनश्रमबाट सम्पन्न योजनामा स्थानीयले रोजगारीको राम्रो अवसर पाएका छन । तर बेनी नगरपालिकाको सहरी वस्तीमा भने यो अवस्था छैन ।‘काम दुःखको भएपनि शिप अनुसारको दाम पाईएको छ’ पोखरे–घार सडकको दुरविनडाँडा स्थित ढुङ्गाखानीमा गुट्टी गुट्दै गरेकी मनवुजा नेपालीले भनिन्, ‘एउटै टोलका ३० जना महिलाले गिटी कुट्छम, माग अनुसार गिटी पुर्‍याउनै सकेका छैनौं ।’