आज:  | Tue, 05, Jul, 2022

मजदुर दिवसकै दिन ढिस्कोमा पुरिएर निर्माण मजदुरको मृत्यु

१८ बैशाख २०७६, बुधबार १३:०२ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता
म्याग्दी, १८ वैशाख ।सहरमा १ सय ३० औं अन्तराष्ट्रिय श्रमिक दिवस मनाई रहँदा बेनी नगरपालिका, ६ चुत्रेनी स्थित बेनी–दरवाङ्ग सडक विस्तार गर्न ग्याभिन जाली भर्ने कार्यमा संलग्न निर्माण मजदुर बर्दिया जिल्लाको ठाकुरद्धारा नगरपालिका, ४ का ३५ बर्षीय कालुराम थारुको कार्यस्थलमा ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।बुधवार दिउँसो १२ बजे मृतक ग्याभिन जाली भित्र बसी बाहिरबाट दिएको ढुङ्गा मिलाउने क्रममा माटोको ढिस्को खसेको थियो । अन्य मजदुर भाग्न सफल भएपनि ग्याभिन जाली भित्र भएकोले थारु भाग्न नसक्दा ढिस्कोमा परेका हुन ।‘मजदुर दिवसकै दिन अर्का निर्माण मजदुरको कार्यस्थलमा भएको दुर्घटनाबाट मृत्यु भएको छ’ जिल्ला प्रहरी प्रमुख डिएसपी महेन्द्र मरासिनीले भने, ‘सडकको कुनापट्टी ग्याभिन जाली भित्र बसेर ढुङ्गा भर्न लागेकोले भाग्न नसक्दा पुरिएका हुन । निर्माण स्थलमा कार्यरत मजदुरको सुरक्षा योजना लागु नहुँदा सामान्य दुर्घटनामा पनि ज्यान जाने गरेको छ ।’घट्ना भएको साईटमा १५ जना मदजुर कार्यरत थिए । बेनी–दरवाङ्ग सडकमा अग्लो कान्ला भएको क्षेत्रमा ग्याभिन जालीमा ढुङ्गा भर्नेक्रममा माथीबाट माटोको ढिस्को खसेर थारुलाई पुरेको हो । माटोले पुरेपछि साईडमा रहेको डोजरले सव बाहिर निकालेको हो । सव जिल्ला अस्पतालमा राखिएको छ । परिवारलाई खवर गरिएको र पोष्टमार्टम पछि परिवारलाई बुझाईने प्रहरीले जनाएको छ ।