FLASH NEWS
  • Loading...

नासिँदै पाहुना हिड्ने बाटा

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २१५ पटक पढिएको
नासिँदै पाहुना हिड्ने बाटा

परम्परागत गोरेटो विस्तारित सडकमा गाडी आउजाउ गर्न थालेपछि यहाँ चल्तीका पाहुना हिँड्ने बाटा (पर्यटक पदमार्ग) नासिँदै गएका छन ।

विश्वमै पदयात्राकालागी प्रख्यात अन्नपूर्ण चक्रिय पदमार्ग नासेर बेनी–जोमसोम सडक निर्माण भएको छ । चल्तीको गोरेटो/घोडेटोमा मोटरले धुलो उडाउँदा पदयात्रीलाई सास्ती भएको छ । बाँकी भएका अन्य पर्यटक हिँड्ने बाटोमा पनि सडकले मास्नेक्रम तिव्र छ । प्रख्यात अन्नपूर्ण पदमार्गका गन्तब्य विरेठाँटी, उल्लेरी, घान्द्रुक, घोडेपानी, पुनहिल पुग्न पर्यटक हिँड्ने बाटाहरुमा पनि मोटर गाडी गुडाउने भन्दै धमाधम डोजर चलाउन थालिएको छ । घान्द्रुकमा गाडी पुगी सक्यो, घोडेपानी/पुनहिलमा मोटर पुर्‍याउन सरकार समुदायलाई उक्साई रहेको छ ।

चार बर्षअघि गोरखाको वारपाक केन्द्र विन्दु भएर गएको महाँभुकम्पपछि घोडेपानी/पुनहिलमा पनि अन्यत्र जस्तै पर्यटक आएनन । पदमार्ग सुनसान भयो । विस्तारै पर्यटकले घोडेपानी/पुनहिल भरिभराउ हुन थालो । पर्यटको चहल–पहल हृवात्तै बढ्यो । अव पदमार्ग मास्ने पालो आएको छ, राष्ट्रिय पुननिर्माण प्राधिकरणको । प्राधिकरणले पर्यटक हिँड्ने चल्तीको पदमार्ग मासेर भुकम्प प्रभावित क्षेत्र सुधार अर्न्तगत धमाधम सडक निर्माण गरिरहेको छ । सरकारले घोषणा गरेको मुलुकका सय उत्कृष्ट पदयात्रा गन्तब्यमा आएका पर्यटकले पदमार्गमा चलेका डोजर, ट्याक्टर र गाडीले उडाएको धुलोको कुहिरोमा छोपिएर यात्रा गरिरहेका छन । पदमार्गमा पैसा खर्चगरी हिँडे वापतको सँजाय भएको छ, पर्यटकलाई ।

पुननिर्माण प्राधिकरणले वैकल्पिक पदमार्गको ब्यवस्था नगरी सुरु गरेको पोखरे–चित्रे १८.५ किमी सडक निर्माण गर्न २७ करोड ९१ लाख ३५ हजारमा ठेक्का लगाएको छ । चित्रेदेखी घोडेपानी/पुनहिलसम्म करिव ३ किमी क्षेत्रमा मोटरबाटो जोड्ने/नजोड्ने विषयमा पर्यटन ब्यवसायीविच मत विभाजित छ ।

‘मोटरबाटोले संसारको सर्वाधिक ठूलो लालीगुराँको जंगल विनास हुन्छ । प्रख्यात पदयात्रा गन्तब्य घोडेपानीको सौन्दर्य घट्छ र पर्यटकको आर्कषणमा कमि आउने भएकोले मोटरबाटो पुर्‍याउनु उचित हुन्न । तर समुदायको एक मत हुन्छ भने मोटरबाटो खनौं’ घोडेपानीका पर्यटन ब्यवसायी समेत अन्नपूर्ण गाउँपालिका प्रमुख डमबहादुर पुनले भने, ‘गाउँपालिकाको प्रमुख श्रोत भनेकै पर्यटन र जलविधुत हुन । हामी पर्यटन विकासको लक्ष्य लिँदा प्रख्यात पदमार्ग मास्ने कुराले चित्त बुझेको छैन ।’

पाहुना हिँडाउन छुट्टै गोरेटो बाटो बनाउन प्रयास भएनि सफल भएको छैन । मोटरबाटोले विख्यात अन्नपूर्ण चक्रिय मार्गमा पर्यटक संख्या बर्षेनी घट्दो छ । राउण्ड अन्नपुर्णको १६ दिने यात्रा अवघि घटेर ६ दिनमा झरेको छ । अन्नपूर्णको पदमार्गमा पर्यटको आकर्षण जोगाउन र बसाई लम्बाउन एक्यापले मुस्ताङ्गको मुक्तिनाथ–लुब्रा–पाण्डाखोला–जोमसोम–ठिनी–ढुम्बाताल–स्याङ–मार्फा–छैरो–चिमाङ–चोखोपानी–सौरु–टिटी–कुञ्जो–छयो–झिप्राहुँदै घाँसा र घाँसाबाट पैहृोथाप्लो–कोप्चेपानी–गाडपार–नारच्याङहुँदै अन्धगल्छीको तातोपानी र घारखोला घारको हल्लेखर्क–खिवाङ्गहुँदै पुनहिल (घोडेपानी) जोड्ने वैकल्पिक पदमार्ग प्रस्ताव गरिएपनि प्रभावकारी वन्न सकेन ।

‘अन्नपूर्ण ट्रेकिङ रुटलाई मोटरवाटोले ध्वस्त पारेपछि थोरङ्गामुनीको मुक्तिनाथदेखी म्याग्दीको तातोपानीसम्म वैकल्पिक पदमार्ग प्रस्ताव गरिएपनि चल्तीमा आएन’ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण समिति सदस्य तथा अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङ्गका पर्यटन ब्यवसायी तेजबहादुर गुरुङ्गले भने, ‘पारीपारी गाडी गुडेको देखेपछि वारीवारी भीरपहरा र जंगलको गोरेटोमा हिँड्न पर्यटकलाई भन्दा गाईडहरुले अल्छि माने । सजिलो र छिटो यात्रा गर्न ट्रेकिङ तथा ट्राभल कम्पनी हतार गरे ।’

अन्नपूर्ण पदमार्गमा मात्र होईन, धौलागिरी पदमार्ग, ढोरपाटन सिकार आरक्ष तथा गुरिल्ला पदमार्ग, धौलागिरी आईसफल तथा सेन्चुरी पदमार्ग र समुदायको ब्यवस्थापनमा चलेको अन्नपूर्ण–धौलागिरी सामुदायीक पर्या पदमार्गमा पनि उही मोटरबाटोकै पिरलो छ । मोटरबाटो कि पर्यटन ? मत बाझिदै आएको छ ।

जिल्लाको राजनैतिक नेतृत्व तथा स्थानीय सरकारहरु वोली र कागजमा पर्यटन र जलविधुत जिल्लाको लाईफ लाईन भएको बताउने गरेपनि ब्यवहारमा परम्परागत पदमार्गमा डोजर चलाउन मै ब्यस्त छन । अधिकांश जनताको लाईफलाईन सडक भएकाले पर्यटन भन्दा पहिलो प्राथमिकता मोटरबाटोमा हुने गरेको छ । वैकल्पिक पदमार्गको खोजीमा समेत चासो दिएका छैनन ।

‘मोटरबाटो नखनौं, जनताको चुहृोमा नुनतेल पुग्दैन, जनताको वारीको सागपात र गेडागुडीले बजार पुग्ने बाटो पाएको छैन । सडक खनौं, पर्यटनमा नकरात्मक प्रभाव पर्छ’ रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले भने, ‘एकिकृत वस्ती विकासको अवस्थामा नपुग्दासम्म हामीलाई मोटरबाटोको दवाव थेग्न मुस्किल छ । अव पर्यटकलाई मोटरमा चढाएरै हिमालमुनी पुर्‍याउँछौं ।’