आज:  | Tue, 28, Jun, 2022

चर्पी छोडेर जर्कीनमा पिसाव फेर्दै अर्मनवासी

४ बैशाख २०७६, बुधबार ११:४० मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता
मंगला गाउँपालिकाका कृषकले मानव मुत्र संकलनगरी वालीमा प्रयोग गर्न थालेका छन । मंगला गापा, ४ अर्मनमा कृषकले चर्पीमा होईन, ड्रममा पिसाव फेर्ने गरेका छन ।यहाँका कृषकको घरका शौचालयमा मात्र होईन विद्यालयका शिक्षक/विद्यार्थी पनि शौचालयको प्यानमा पिसाव फेर्दैनन । अर्मनवासीका मान्छेले मात्र होईन, गाईभैसीको मुत्र पनि गोठका भकारोमा होईन ड्रममा नै थाप्ने गर्छन ।उनीहरुले उदण्ड भएर भाँडामा पिसाव फेर्दै हिँडेका भने होईनन् । मानव मुत्र प्रभावकारी प्राङ्ग्रारिक मल हो भन्ने थाहा पाएपछि अर्मन बासीले शौचालयमा होईन, ड्रम र जर्किनमा पिसाव संकलन गर्न थालेका हुन । मानव मुत्र संकलन गर्न घर–घरका शौचालयमा मात्र होईन नजिकका सवै विद्यालयका शौचालयमा पनि जर्किन वा ड्रम थापिएको हो ।‘मानव मलमुत्र पनि प्राङ्गारिक मलको राम्रो श्रोत हो । मानव मल पनि ब्यवस्थित गरी प्राङगारिक मल बनाउन सकिन्छ । तर सुरुमा मानव मुत्रलाई मात्र प्रयोग गर्यौं’ अगुवा कृषक कृष्णलाल सापकोटाले भने, ‘तरकारी वारीमा मानव मुत्र प्रयोग गर्न घिनाएकोले पछिल्लो तीन महिनादेखी सुन्तलाका वगैचामा मलको रुपमा प्रयोग गरेका छौं । अन्य मल भन्दा मानव मुत्र हालेका सुन्तला वोटबढी राम्रा देखिएका छन ।’घर तथा विद्यालयका शौचालयमा सोली जडित ड्रम वा जर्किन राखिएको छ । पुरुषहरु सोझै सोलीमा मुत्र सोझ्याउँछन । महिलाले भने जगमा मुत्र थापेर ड्रम भर्छन । सोलीमा टिटी खेल्न प्रयोग हुने साना हलुका पहेंला वल राखिएको छ । पिसाव फेर्दा यी वल माथी आउँछन, पिसाव तल झरेपछि सोलीको मुख वन्द हुन्छ । दुर्गन्ध रोक्न यसो गरिएको हो । विद्यालयमा संकलित पिसावलाई सुन्तला जात र अन्य ब्यवसायीक फलफुल खेती गर्ने कृषकले पालैसँग लैजाने गरेका छन ।‘मानव मुत्रको प्रयोगले २ महिना मै सुन्तला खेतीमा राम्रो प्रभाव देखिएको छ । ३० जना कृषकबाट सुरु गरिएको मानव मुत्र संकलनको सिको छिमेकी वस्तीका कृषकले पनि गर्न थालेका छन । मानव मुत्रलाई कृषकले फलफुलमा मात्र होईन मकै खेतीमा पनि प्रयोग गरेका छन’ मंगला गापा कृषी शाखाका नावय प्राविधिक सहायक जगत बानियाँले भने, ‘बरंजाका केही अगुवा कृषकले त गाईवस्तुको भकारो सुधार कार्यक्रमबाट पशु मुत्र ड्रममा संकलनको सिको गर्दै मानव मुत्रलाई खेतवारीमा प्रयोग गरेको भेटियो ।’मंगला गाउँपालिका, ५ मा पर्ने अर्मन सुन्तला र तरकारी खेतीको पकेट क्षेत्र हो । सुन्तला जोन कार्यालय म्याग्दीले मंगला गापा, १ को खानीगाउँ, २ का लरेनी, ३ को भोर्लेनी, दह, ४ को महेश र ५ वडाको अर्मनलाई सुन्तला पकेट क्षेत्र बनाएको छ । मानव मुत्रलाई खेतवारीमा मलको रुपमा प्रयोग गर्दा विरुवाको जरामा हाल्ने हो भने एक भाग मुत्रमा तीन भाग पानी र माथी पातवाट हाल्ने हो भने १ भाग मुत्र १० भाग पानी मिसाएर हाल्नु पर्छ ।मंगला गाउँपालिकाले ३० जना अगुवा कृषक र ३० जना विद्यार्थी/शिक्षकलाई मानव मुत्र संकलन र वाली अनुसार मुत्र प्रयोग विधी सिकाउन र संकलन सामाग्रीकालागी २ लाख ८० हजार खर्च गरेको थियो । कृषी नै मुख्य श्रोत र संभावना रहेको मंगला गाउँपालिकाले कृषी गुरु योजना बनाई आफ्नो बजेट तथा कार्यक्रम कृषी केन्द्रीत गरेको जनाएको छ ।‘मंगला गापाको मुख्य संभावना भनेकै अन्नवाली, फलफुल र पशुपालन हो । त्यसैले अर्गानिक खेती मार्फत उत्पादन बृद्धी गर्न कसरी सुरक्षित रुपमा ‘खेतको पेटमा र पेटको खेतमा पुर्‍याउन सकिन्छ’ भनेर हामी लागेका छौं’ गाउँपालिका प्रमुख सतप्रसाद रोकाले भने, ‘कृषी नै पहिलो प्राथमिकता भएकोले गाउँपालिकाका सवै कार्यक्रम कृषीसँग जोड्न प्रयास गरेका छौं । सडक समेत कृषीसँगै जोडेका छौं । आगामी ५ बर्षमा उत्पादन तेब्बर बनाउनेगरी गुरु योजना बनाएका छौं ।’मंगला गाउँपालिकाले केन्द्र रहेको बाबियाचौरमा छुट्टै अनुदान दिएर प्राङ्गारिक मल उत्पादन गर्दे आएको पनि छ । बाबियाचौर बजारबाट उत्सर्जन हुने फोहोरबाट कुहिने वस्तु र वनमारा समेतका झारको प्रयोग गरी कृषी प्राङ्गारिक मल उत्पादन गर्ने गरिएको छ । यहाँ उत्पादन हुने बार्षिक ५ हजार केजी मल मध्य २ हजार ५ सय केजी मल त लुम्ले कृषी अनुसन्धान केन्द्रले लैजाने गरेको छ । कृषकले भने प्रति केजी २५ रुपैयाँमा खरिद गर्छन ।‘यहाँको प्राङ्गारिक मलले कृषकको माग थेग्नै सकेको छैन । मल उत्पादन गर्ने कच्चा पदार्थ अपुग भएकोले छिमेकका तातोपानी र दरवाङ्ग वजारमा पनि कुहिने फोहोर संकलनगरी ल्याउन कृषी मल उद्योगमा संलग्न युवालाई उत्प्रेरित गरिरहेका छौं’ गापा अध्यक्ष रोकाले भने, ‘उत्पादन बढी भएछ भने मलको लेवलिङ्ग र प्याकेटिङ्ग गरी बजार पुर्‍याउन गाउँपालिकाले सहयोग गर्छ ।’मंगला गाउँपालिकाले हालै मानव मुत्र संकलन सुरु गरेपनि सामाजिक अगुवा महावीर पुनले धेरै वर्ष अघि अन्नपूर्ण गाउँपालिका, ८ नागी स्थित हिमाञ्चल माध्यामिक विद्यालयले कम्पोष्ट चर्पी बनाउने अभियान सुरु गरेको थियो । चर्पीमा दिशापिसाव गरेपछि पानीको सट्टा झारपात प्रयोग गरिन्छ ।