आज:  | Sun, 03, Jul, 2022

धौलागिरीका एक घरमा दुई दाँते ओखर

१ बैशाख २०७६, आईतवार १०:२१ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता
जिल्लाको दुर्गम धौलागिरी गाउँपालिकाले सवै तीन हजार १ सय घरमा २–२ वटा दाँते ओखर रोपेको छ । गाउँपालिका भित्रका सवै सामुदायीक विद्यालयमा (१–१२ कक्षा) अध्ययनरत एक विद्यार्थी २ वोटका दरले ५ हजार दाँते ओखरका वेर्ना रोपिएको हो ।गाउँपालिकालाई ब्यवसायीक फलफुल र जडिबुटी खेती प्रर्वद्धन गर्न पहिलो चरणमा नमुनाको रुपमा ओखरखोती सवैको वारीमा पुर्‍याएको हो । त्यसैगरी ब्यवसायीक खेती गर्न स्थानीयलाई २० हजार सिल्टिमुरका वेर्ना पनि वितरण गर्न थालिएको छ ।त्यसैगरी ब्यवसायीक जडिबुटी प्रर्वद्धन गर्न धौलागिरी गाउँपालिकाले बहुमुल्य जडिबुटी सतुवाको ५० हजार वेर्ना धमाधम वितरण गरिरहेको छ । धौलागिरी गापा, १ गुर्जा, ४ मुदी र खिवाङ्गमा छुट्टाछुट्टै जडिबुटी तथा कृषी समुह मार्फत १४ हजारका दरले र ८ हजार २ नम्बर वडाको खोरिया आधारभुत विद्यालयले सतुवाको खेती गर्न सुरु गरेका छन । सतुवा खेती गर्न समुहले निजी बाँझो जग्गा २० बर्षकालागी निःशुल्क लिजमा लिएका छन ।‘हाम्रो प्राथमिकता ब्यवसायीक जडिबुटी, फलफुल र पशुपालन नै हो । गापाको बजेट, निती तथा कार्यक्रम पनि सडकपछि यही क्षेत्रमा केन्द्रीत गरेका छौं’ धौलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुनले भनिन्, ‘धौलागिरी वास्तवमा हर्वल हव नै हो । धौलागिरीका गुर्जा, लुलाङ्ग, मुदीबाट बर्षेनी करोडौं मुल्यका जडिबुटी निकासी हुने गरेको छ ।’धौलागिरी प्रथम, दोस्रो, तेस्रो, चौथो, पाँचौं र छैठौं, मानपाथी, चुरेन, पुथा र गुर्जासमेत १० वटा हिमाल रहेको धौलागिरी गाउँपालिकाले म्याग्दीको ४५ प्रतिशत भुगोल ओगटेको छ । धौलागिरी गापा, १ गुर्जाबासीको मुख्य आम्दानीको श्रोत नै यार्चागुम्बा, जंगली च्याउ समेतका जडिबुटीको ब्यापार हो । यार्सागुम्बा, रातो च्याउ, सतुवा समेत बहुमुल्य जडिबुटी र वनस्पतीको उत्पादन र निकासी गरी जीविकोपार्जन गर्ने हुँदा गुर्जालाई हर्वल भिलेज पनि भनिन्छ ।‘गुर्जामा प्रयाप्त जग्गा छ, जडिबुटी खेतीको संभावना छ र सफल प्रयोग पनि भएको छ, बजारको चिन्ता लिनु पर्ने छैन । म प्रष्ट छु त्यसैले हर्वल हव गुर्जा बनाउने वाचा कार्यान्वयन सुरु गरेको छु’ वडाध्यक्ष झकबहादुरले भने, ‘यस बर्षदेखी समुहमा सतुवा खेती सुरु गरेका छौं, अरु जडिबुटीको पनि ब्यवसायीकरण गर्ने प्रयत्नमा छौं ।’डिभिजन वन कार्यालय म्याग्दीको अभिलेख अनुसार धौलागिरी गाउँपालिकाबाट मात्र ३० क्वीन्टल रातो च्याउ उत्पादन हुन्छ । वन कार्यालयले जिल्ला भित्र खपत हुने च्याउको संकलन र छोडपूर्जी दिने गरेको छैन ।गुर्जाको जंगलमा यार्चागुम्बु, रातो, गुच्ची र खुत्ले जातका च्याउ ब्यापारिक प्रयोजनमा संकलन गरिन्छ । वडाध्यक्ष समेत रहेका ब्यापारी झक छन्त्यालका अनुसार गुर्जामा अघिल्लो बर्ष यार्चागुम्बु प्रति केजी ५ लाख, गुची च्याउको प्रति केजी २० हजार, खुत्के च्याउको ८ हजार र रातो च्याउको एक हजार पाँच सयमा किनवेच भएको थियो । यार्चागुम्बु, रातो, गुची, खुत्के च्याउ बाहेक गुर्जाबाट कटुकी, पदमचाल, पाँच औले, सिलाजित, विष, सतुवा समेत तीन दर्जनबढी जडिबुटी निर्यात गरी बार्षिक सरदर ८० लाखबढी भित्रिने गरेको छ । यार्चागुम्बु र खुत्के च्याउ चीन निर्यात हुन्छ भने गुची च्याउको माग दक्षिण भारतमा बढी छ । रातो च्याउको मुख्य बजार बेनी, पोखरा र काठमाण्डौमा विक्रि हुन्छ ।