- Loading...
हस्तक्षेपपछि महोत्सव तितर–वितर
- पुनहिल डट कम
- ५ साल अघि
- ३२२ पटक पढिएको
समयसीमाको अवज्ञा गरेको भन्दै प्रशासन कार्यालयले हस्तक्षेप गरेपछि बेनीमा जारी रेडियो म्याग्दी एवं पर्यटन महोत्सव वन्द भएको छ । दोहोरी गीतको फाईनल तथा अन्य कार्यक्रम तितर वितर भएको छ ।
५ दिनकालागी मेला संञ्चालन अनुमति लिएपनि प्रहरी–प्रशासनको अनुरोधलाई अटेरगरी ३ दिन लम्बाएपछि हस्तक्षेप गर्नु परेको प्रहरी/प्रशासनले बताएको छ । राती अवेर सम्म मेला तन्काएकोले हस्तक्षेप गर्नु परेको प्रशासन कार्यालयले जनाएको छ ।
विहिवार नै समापन गर्नु पर्ने महोत्सवलाई आयोजकले शनिवार १ बजेदेखी दोहोरी गीतको सुरु हुने भन्दै माईकिङ्ग गरेपछि चिढिएको प्रहरी/प्रशासन कार्यालयले विहान १० बजे नै महोत्सव आयोजना स्थल बेनी खुल्ला मञ्चको मुल गेट वन्द गरी ब्यानरहरु हटाएको थियो ।
‘महोत्सव २३–२७ गतेसम्म स्वीकृति थियो । २८ गते एक दिन भद्र सहमतिमा र २९ गते समापन कार्यक्रम भनेर छोड्यौ तर आयोजकले अवज्ञा जारी राखेपछि हस्तक्षेप गरेका हौं’ जिल्ला प्रहरी प्रमुख डिएसपी महेन्द्र मरासिनीले भने, ‘अदृश्य शक्ति केन्द्रको दवाव सृजनागरी आफैले गरेको प्रतिवद्धता विपरित मध्यराती मेला/महोत्सव तन्काउँदा अभद्र र सुरक्षा जोखिम बढेको थियो । दैनिक लफडा भै रहेको थियो ।’
प्रशासनले चैत २१–वैशाख १ गतेसम्म महोत्सव आयोजना लिखित स्वीकृति दिएपनि चैत ३० गते अन्तिम दिन दोहोरी गीतको फाईनल गर्न नपाई हस्तक्षेप भएको आरोप लगाएको छ । रेडियो म्याग्दीले चैत २१ देखी १ बैशाखसम्म महोत्सव गर्ने भने पनि प्रशासनले सवैपक्षिय वैठकपछि २३–२७ गतेसम्म मात्र समयसीमा तोकेको थियो ।
‘आफ्नै लिखित स्वीकृतिलाई विर्सेर पूर्वाग्रहराखी महोत्सवको समापनका अन्तिम ३ घन्टाको कार्यक्रम गर्न नदिई प्रशासनले हस्तक्षेप गरेको छ’ महोत्सवका मुल सम्योजक चिरन्जिवी शर्माले भने, ‘कार्यक्रममा हस्तक्षेपले द्वन्द्व निम्त्याएको छ ।’
आर्थिक संकटग्रस्त रेडियो म्याग्दीले महोत्सव आयोजनागरी वचेको रकमबाट सेवालाई निरन्तरता दिने लक्ष्य राखेको थियो । महोत्सव रेडियो म्याग्दीले आयोजना गरेपछि पोखराको सुरताल इभेन्ट प्रालिलाई ८ लाख रुपैयाँमा ठेक्का दिएको थियो ।
‘महोत्सवको मञ्च सजावट, स्टल तथा कलाकार ब्यवस्थापनको जिम्मा मात्र सुरताल इभेन्ट प्रालिलाई जिम्मा दिएका हौं’ मुल संयोजक शर्माले भने, ‘महोत्सव त रेडियो म्याग्दी आफैले गरेको हो ।’