FLASH NEWS
  • Loading...

सामाजिक सुरक्षा भत्ता घरदैलोमै

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३२३ पटक पढिएको
सामाजिक सुरक्षा भत्ता घरदैलोमै

म्याग्दीका स्थानीय तहले सामाजिक सुरक्षा भत्ता सेवाग्राहीको घरदैलोमै पुगेर वितरण गर्न थालेका छन ।

पहाडका टुप्पो र पाखामा छरिएका वस्तीबाट सामाजिक सुरक्षा भत्ता लिन वैंक भएको स्थानमा पुग्दा दुःख, खर्च र सास्ती भएकोले हिंड्डुल गर्न नसक्ने अवस्थाका जेष्ठ तथा अपाङ्ग नागरिकलाई सामाजिक सुरक्षा भत्ता सम्बन्धीत स्थानीय तहमा रहेका वैंकहरुसंग सहकार्यगरी घरदैलो लगिएको हो । मालिकाका २, ३ र ४ वडामा प्रभु र १, ५, ६ र ठ वडामा गरिमा विकास वैंकले सामाजिक सुरक्षा भत्ता वडा कार्यालयमा पुगेर वितरण गर्ने भएका हुन ।

‘वस्तीबाट वैंकसम्म झर्न हिंड्न सक्ने मान्छेलाई पनि ६ घन्टा लाग्छ । जेष्ठ नागरिक र अपाङ्गले सास्ती पाएकोले सामाजिक सुरक्षा भत्ता घरदैलोमै पुर्‍याएका हौं’ मालिका गाउँपालिका प्रमुख श्रीप्रसाद मगरले भने, ‘महिनाको ५ सय भत्ता चार महिनाको दुई हजार लिन ज्याला दिएर मान्छेको बुई चढेर आउनु पर्ने । भत्ता बुझ्mयो बृद्धबृद्धालाई लोक्रो न बोत्रो हुने । त्यसैले वैंकहरुलाई कर गरी सेवाग्राहीको घर दैलोमा पुर्‍याएका हौं ।’

मालिका गापाले चालु आवको पहिलो चौमासिकमा तीन हजार ९ सय ३७ जना जेष्ठ, दलित जेष्ठ र एकल महिलालाई समेत एक करोड ३५ लाख १० हजार र दोस्रो चौमासिकमा तीन हजार १ सय २९ जनालाई १ करोड ३९ लाख ५४ हजार ८ सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता बाँडिएको लेखापाल विष्णुप्रसाद पौडेलले बताए ।

मंगला गाउँपालिकाले मात्र होईन मंगला, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाले पनि वैंकसम्म पुग्न अपाएक पर्ने वडामा रहेका सेवग्राहीलाई घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने ब्यवस्था मिलाएको जनाएका छन । जिल्लाको सवैभन्दा दुर्गम धौलागिरी गाउँपालिकाले वैंक सुविधा नपुगेकोले अघिल्लो आवबाट नै वडाध्यक्षको रोहवरमा सामाजिक भत्ता वितरण गर्दै आएको छ ।

‘हाम्रा अधिकांश वस्ती सडक संञ्जाल देखी टाढा छन । केही वस्ती पुग्न गाउँपालिका केन्द्रबाट दुई दिन लाग्छ । कसरी बृद्धबृद्धा र अपाङ्गलाई वैंक सम्म आउन संभव रहेन त्यसैले हामीले नै मिलेकामा वडा कार्यालय र नमिलेका वस्तीलाई बस्ती वस्तीमा क्याम्पेन गरी भत्ता वितरण गर्दै आएका छौं’ रघुगंगा गाउँपालिका प्रमुख भवबहादुर भण्डारीले भने, ‘गाउँपालिकाको भुगोल नै नमिलेकोले सामाजिक सुरक्षा भक्ता वितरण गर्न मात्र होईन सवै योजना अनुगमन गर्न र कार्यत्रम चलाउन पनि समस्या भएको छ ।’

गाउँपालिकाले मात्र होईन सदरमुकाम रहेको बेनी नगरपालिकाले पनि सामाजिक सुरक्षा भत्ता घरदैलोमा पुर्‍याउने भएको छ । बेनी नगरपालिका भित्रका सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राहीको खाता कृषी विकास वैंकमा रहेकोमा वैंकले बृद्धबृद्धालाई सास्ती दिएको भन्दै खोसेर मेयर हरीकुमार श्रेष्ठ संञ्चालक रहेको गरिमा विकास वैंक मार्फत सेवाग्राहीको घरदैलोमै सामाजिक सुरक्षा भत्ता पुर्‍याउन थालिएको हो ।

‘नगरपालिका भने पनि हाम्रा वस्ती ग्रामिण भेगमा छन । वैंक पुग्न दूई देखी ५ घन्टा नहिँडी सुखै छैन । डोजर गाउँमा पुर्‍याएको भएपनि बाटोमा गाडी चल्दैनन् । त्यसैले कृषी विकास वैंकले गाउँ जान नमानेपछि त्यहाँबाट झिकेर अर्को वैंक मार्फत घरदैलोमै सामाजिक सुरक्षा भत्ता पुर्‍याउने भएका हौं’ बेनी नगरपालिका, ६ का वडाध्यक्ष कृष्णसिं बानियाँले भने, ‘अव जनता वैंकमा होईन वैंक नै जनताको घरदैलो पुग्नु पर्छ । सवै सेवा जनताको दैलोमै पुग्नु पर्छ ।’