FLASH NEWS
  • Loading...

बाबुले अर्की विवाह गरेपछि ६ छोरी अलपत्र

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २४७ पटक पढिएको
बाबुले अर्की विवाह गरेपछि ६ छोरी अलपत्र

धौलागिरी गाउँपालिका, २ लुलाङको नयाँवनकी नरमायाँ विक फागुन १६ गते ठ्याक्क ३४ बर्ष पुगिन । १९ बर्षको उमेरमा विवाह गरेकी नरमायाँका १५ बर्षको अन्तरालमा शर्मिला (१४), अनिता (१२), उर्मिला (१०), निरुता (८), सरिता (६) र सितल (१७ महिना)गरी ६ वटी छोरी छन ।

तीन बर्ष कान्छा श्रीमान् पूर्णबहादुर विक ०७४ कात्तिकमा कान्छी छोरी जन्मेपछि घरकी श्रीमतिले छोरी मात्र पाएको भन्दै छोरो पाउन छिमेकी मालिका, ३ रुमबाट ०७५ असारमा कान्छी श्रीमति लिएर फरार छन ।

घर खर्च कमाउने बाबु नै फरार भएपछि रोगी आमासहित ६ छोरीहरु अलपत्र छन । न खाने अन्न छ, न बस्ने आफ्नै वुवुरो । गाउँलेको दैलोमा हात थापेर ल्याएको पीठोले यी लालावाल प्राण जोगाईरहेका छन ।

एक हल गोरु लाग्ने लम्सुङ्ग छेउको पाखोवारी र खरको दुई पाखे कटेरो पहिरोको जोखिममा परेपछि नरमायाँ चिचिला छोरीहरु च्याप्दै, डोर्‍याउँदै र घिसार्दै नयाँवन स्थित आफन्तको कटेरोमा सरेकी हुन ।

‘लोग्ने छोरो पाउने श्रीमति लिएर भाग्यो । लोग्ने अव मेरालागी मरे सरह भो । सुत्केरी माथी रोगी छु । ६ जना छोरीको सास थेग्न मुस्किल भएको छ । को कोले दिएको चामल, पिठो खाएर बाँचेका छौं’ नरमायाँ विकले भनन्, ‘बाँझो र पाखोवारी जोत्ने मान्छे छैन । अर्को मान्छे र गोरु लगाएर काम गराउने पैसा छैन । जति वेलापनि आँखाबाट फाल्सा छुट्छ, सवै अँध्यारो मात्र हुन्छ ।’

६ जना नावालक छोरीहरु र नरमायाँको विजोग देखेपछि स्थानीय नर्जाखोला युवा क्लव, लमसुङ मावि जागृत वालक्ल र विद्यालयको जुनियर रेडक्रस सर्कलले दिएको एक–एक वोरा चामल, दाल, तेल र ८ हजार पैसा र गाउँलेले मानामुठी अन्न उठाएर सहयोग गरे । त्यही अन्नपातको भरमा उनीहरु बाँचेका छन । धौलागिरी गापा, २ लुलाङ्ग घर भै हाल वुटवल वस्ने अनिल वुढाले फागुनमा गाउँ आएको बेला नरमायाँको कारुणीक अवस्था देखे । र सामाजिक सञ्जाल फेसबुकबाट सहयोग अपिल गरे । ४९ हजार नगद र तीन वोरा लत्ताकपडा संकलन गरी गत चैत २१ गते गाउँपालिका प्रमुख थमसरा पुन मार्फत सहयोग पीडितको हातमा पुर्‍याए । गाउँपालिका प्रमुख थमसराले १० वटा रैथाने कुखुराका चल्ला र कुखुराको आहारा दिईन ।

‘ससाना छोरीसहित अलपत्र परेकी रोगी दलित महिलाकालागी गाउँपालिकाबाट २ वटा बाख्राको पाठी दिने, युवा ्रक्लवले बाख्रा राख्ने खोर बनाई दिने, गाउँलेले शौचालय बनाई दिने र समुदायीक वनले वाख्रा चराउने केही वन दिनेगरी सेटल प्रयास गरेका छौं’ गाउँपालिका प्रमुख थमसरा पुनले भनिन्, ‘पुरै परिवार विछिप्त छ । सहयोगी हातको आवश्यक छ ।’

पूर्ण पोषकतत्वयुक्त खानेकुरा परको कुरा सुत्केरीहुँदा पेटभरी ढिँडो समेत खान नपाएकी नरमायाँको स्वास्थ्य पनि कमजोर छ । बर्षेनी सुत्केरी भएपछि वैंशालू उमेरमै जीर्ण र रोगी बनेकी नरमायाँलाई ६ जना छोरी र आफ्नो पेट पाल्न सकस परेको छ । स्थानीयले दिएको अन्नपातले पेट भर्दै आएका छन । सुत्केरी आमा र चिचिला लालाबालाको आङमा न्यानो र नयाँ कपडा केही बर्षदेखी परेको छैन । गाउँलेले दिएको जडौरीले काम चलेको छ ।

नरमायाँका ६ जनामध्य ५ छोरीले स्थानीय लम्सुङ्ग माध्यामिक विद्यालयमा क्रमश ः ७, ६, ४, २ र १ कक्षामा पढ्छन । उनीहरुलाई धौलागिरी गाउँपालिका कार्यक्षेत्र रहेको गैहृसरकारी संस्था असल छिमेकीले स्टेसनरी र विद्यालय पोसाक उपलब्ध गराउँछन । घरबाट स्कुल पुग्न उनीहरु दैनिक आधा घन्टा हिँड्छन । स्कुलबाट घर फर्कदा अलि उकालो चढ्नु पर्छ त्यसैले ५–७ मिनेट थप हिँड्नु पर्छ ।

‘सानी बैनी जन्मेपछि बाबाले आमा र हामीलाई पनि कुटपिट गर्ने, घर छोडेर धेरै समयसम्म नआउने गर्थे । पोहोर असारबाट भाई पाउने आमा लिन जान्छु भन्दै घरबाट निक्लेका हुन । अत्तोपत्तो छैन’ आँखाको डिलमा आँशु टिलपिल पार्दै जेठी छोरी सर्मिलाले भनिन, ‘सुत्केरी आमा विरामी छिन । घरको पाखोवारीमा खनजोत गर्ने कोही छैन । अन्न मागेर र युवा क्लवले दिएको चामल खाएर बसेका छौं ।’ सर्मिलाले थपिन्, ‘धेरै पढ्ने रहन त थ्यो । वैनीहरु पाल्न काम गर्न पाए हुन्थ्यो । साना भएकोले कसैले काममा पनि लगाउँदैन ।’