आज:  | Sat, 25, Jun, 2022

लामा झोलुङ्गे पुलको लहर

१० चैत्र २०७५, आईतवार ०८:१६ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता
रघुगंगा गाउँपालिका, १ का बेग र बान्दुक वस्ती जोड्न बेगखोलामाथी ३ सय ६६ मिटर लामो र १ सय ४८ मिटर अग्लो झोलुङ्गे पुल निर्माण भएपछि मन्जु पुनलाई सजिलो भएको छ । दैनिक ४ घन्टा हिँडेर नजिकको महादेव माध्यामिक विद्यालय आउ जाउ गर्ने मन्जु जस्ता दुई दर्जन वालबालिकाले दैनिक १ घन्टामै पुरा गर्छन । लामो झोलुङ्गे पुल निर्माणले बान्दुक वस्तीको दैनिक जीवन सहज भएको छ । दैनिक विद्यालय जाने/फर्कने कलिला विद्यार्थीलाई बढी लाभ पुगेको छ । भीर र बाढीको जोखिम घटेको छ ।बेग–बान्दुक मात्र होईन ग्रामिण सडकको विस्तारसँगै जिल्लामा लामा र अग्ला प्रकृतिका झोलुङ्गे पुलको माग बढ्न थालेको छ । मोटरबाटो गाउँवस्ती उक्लेसँगै नयाँ वस्ती विस्तार हुन थालेका छन । पुराना वजार ओझेल परेसँगै परम्परागत घोडेटो/गोरेटो बाटो तथा झोलुङ्गे पुल विस्थापित हुने र नयाँ–नयाँ वस्ती र बजारसँग जोडिन नयाँ झुलुङ्गे पुलको माग बढेको हो । जिल्लाका ६ वटा स्थानीय तहमा १३ वटा एक सय २० मिटर भित्रका झोलुङ्गे निर्माण भैरहेका छन । ट्रेलव्रिज सपोर्ट युनिट (हेल्भटास) अर्न्तगत थप १५ वटा लामा र अग्ला पुल निर्माण भैरहेको छ ।‘झोलुङ्गे पुल अक्करे भीरको टुप्पोमा छरिएका वस्तीलाई सहज जोड्ने भरपर्दो र सहज माध्यम हुन’ जिल्लाको सवैभन्दा दुर्गम धौलागिरी गाउँपालिका प्रमुख थमसरा पुनले भनिन, ‘दुर्गम बस्ती जोड्ने झोलुङ्गे पुलले धौलागिरी समेत पर्यटकीय गन्तब्यमा आएका पर्यटकको यात्रालाई पनि सहज र सुरक्षित बनाएको छ ।’राज्य पुनःसंरचनासँगै काठमाण्डौको सिंहदरवार गाउँगाउँमा पुगेपछि गाउँपालिका केन्द्र तर्फ सोझिएर पूर्वाधार विकास हुन थालेका छन । कहिल्यै झोलुङ्गे पुल आवश्यक नठानिएका स्थानमा पनि पुलको माग बढ्न थालेको हो । मोटरबाटोले नयाँ वस्ती, बजार विकास गरेको तथा गाउँपालिका केन्द्रसँग जोडिनेगरी सडक पूर्वाधार निर्माण भैरहेको छ । सदरमुकाम र शहर केन्द्रीत विकास मोडेल गाउँपालिका केन्द्र तर्फ सोझिन थालेका छन ।शिक्षा, श्वास्थ्य लगाएतका आर्थिक लाभका सेवा लिन छिटोछरितो यात्राकालागी आवश्यक ठानिएका झोलुङ्गे पुलले दुई वा धेरै गाउँलाई जोड्ने मात्र हैन, आर्थिक, सामाजिक विकासमा सकृय पार्न सहयोग पुर्‍याएको छ । जिल्ला समवन्यय समितिको अभिलेख अनुसार जिल्लामा रहेका एक सय ९१ वटा झोलुङ्गे पुल छन । जिल्लामा अहिले २ सयबढी झोलुङ्गेका माग छ ।‘पहाडका वल्लो डाँडा र पल्लो डाँडामा रहेका वस्ती जोड्न लामा प्रकृतिका झोलुङ्गे पुलको माग बढी छ’ प्रतिनिधी सभा सदस्य भुपेन्द्रबहादुर थापाले भने, ‘धौलागिरी गाउँपालिकाको मुदी र खिवाङ्ग जोड्न, अन्नपूर्ण गापाको नागी–राम्चे जोड्ने, रघुगंगाको पाखापानी र दर्मिजा जोड्ने, बेनी नगरपालिकाको रत्नेचौर र बाग्लुङ्ग जोड्ने समेत तीन दर्जन झोलुङ्गे पुलको माग छ ।’जिल्लामा प्रयोगमा रहेका अधिकांश झोलुङ्गेपुलहरु स्थानिय लोहारहरुले तयार पार्ने झोलुङ्गे पुलको रुपरेखा र डिजाईनमा आधारित छन । बेनीको पश्चिम मंगलाघाटमा म्याग्दी नदीमाथी निर्मित र चालु अवस्थाको झोलुङ्गे पुल बाग्लुङ्ग गल्कोटका लालबहादुर शेरचनले विसं १९२५ तिर म्याग्दीको रुमको खानीबाट निकालिएको फलामलाई साङ्लो बनाई निर्माण गरेका थिए । यो नै चालु अवस्थामा रहेको जिल्लाको सवै भन्दा पुरानो झोपु हो । नेपालमा आधुनिक झोलुङ्गे पुलको अवधारण भने डा. टोनी हागनले भित्राएको मानिन्छ । शुरुमा झोलुङ्गे पुलमा काठको प्रयोग गरिन्थ्यो तर हिजोआज बनविनास रोक्न स्टीलका फ्यालक प्रयोग गरिन्छ । अझै दुर्गम गाउँहरुमा फाट्टफुट्ट काठको प्रयोग गरिन्छ । झोलुङ्गे पुलमा सस्पेन्सन, सस्पेण्डेड र ट्रसगरि तिन प्रकारका झोलुङ्गेपुल प्रचलनमा छन् ।धेरै पहिलादेखी विभिन्न दाताहरुको सहयोगमा झोपु निर्माण भएपनि पछिल्लो चरणमा स्वीस विकास नियोग अर्न्तगतको हेल्पटासको आर्थिक सहयोगमा स्थानिय विकास मन्त्रालय/ट्रेल व्रिज सपोर्ट यूनिट (टिविएसयू)ले सहयोग गर्ने गरेको छ । एक सय २० मिटरभन्दा छोटा दुरीका झोलुङ्गे स्थानीय सरकारले आफ्नै प्राविधिक श्रोत र साधनमा निर्माण गर्न सक्छन । तर सो भन्दा लामा पुल भने टिविएसयु आफैले निर्माण गर्ने गरेको छ ।ग्रामिण जनजीवनको प्रमुख आधार मानिएको झोलुङ्गे पुलले मानिसको जीवन सहज मात्र बनाएको छैन, त्यहाँको आर्थिक, सामाजिक विकासलाई समेत सहयोग पुर्‍याएको छ । हिंडेर तर्न नसक्ने नदी वा खोला पार गर्न र वल्लोपल्लो वस्तीसम्म छिटोछरितो यात्राकालागी बनाईएका झोलुङ्गे पुलले ग्रामिण भेगमा शिक्षा, श्वास्थ्य सेवा लगाएतका आर्थिक लाभ लिनमा सहयोग गरेको छ ।