आज:  | Fri, 01, Jul, 2022

एक सर्को महिलावाद

२४ फाल्गुन २०७५, शुक्रबार १४:३१ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता
कान्तिपुर दैनिकमा प्रकाशित यो लेख हामीलाई पठनीय लाग्यो, त्यसैले साभारगरी पाठकसामु प्रस्तुत गरेका छौं । बेलायतबाट फर्केपछि एक दिन म काठमाडौँमा युवा स्वरोजगारको उदाहरण दिन भनी खोलिएको चियापसलमा गएकी थिएँ । चिया मगाएपछि साहुजीले मुस्काउँदै सोधे, ‘बहिनी, चियामात्र ? चुरोट पनि दिऊँ कि ?’ मैले हाँस्दै प्रतिप्रश्न गरेँ, ‘एक वर्ष बेलायत बस्ने बित्तिकै मैले चुरोट तान्नुपर्ने हो र ?’उनले भने, ‘होइन बहिनी, हाम्रो पसलमा थुप्रै अर्बन फेमिनिस्ट आउनुहुन्छ । उहाँहरूले फेमिनिस्ट हुन चुरोट पिउनुपर्छ भन्दै गफ गरेको मैले सुनेको छु । तपाईं पनि महिलाबारे पढ्ने, लेख्ने र बोल्ने गर्नुहुन्छ, यसो चुरोट सहितको आन्दोलन गर्न थाल्नुभो कि भनेर ।’ उनी चिया बसाल्न भान्सातर्फ लागे । म सोचमग्न भएँ ।
बेलायतमा विश्वविद्यालय पढ्दा मैले कक्षाको ब्रेक टाइममा केही युरोपेली महिला साथीहरू चुरोटको सर्को तान्दै ‘ओह, फिल्स सो एम्पावोर्ड, वी आर रिभोल्टिङ…’ भन्दै खितखिताएको धेरैपल्ट सुनेकी थिएँ । त्यतिबेला नियमित क्लासको दबाबले गर्दा यसबारे मैले गम्भीर भएर सोच्ने गरेकी थिइन । अहिले यी साहुजीको प्रश्नले मेरो दिमाग घुमाइदियो । महिला मुक्तिसँग चुरोटको सम्बन्ध छ कि छैन भनेर घोत्लिँदै जाँदा अमेरिकी समाजमा चुरोटको अर्थ राजनीति र त्यहाँका चुरोट कम्पनीले आफ्ना उत्पादन बेच्न महिला आन्दोलनलाई गरेको प्रयोग र हामीकहाँ गरिएको त्यसको सिकोसम्म पुगेँ म ।
पहिलो विश्वयुद्धपछि अमेरिका र युरोपमा जब सिपाहीहरूको रासनमै चुरोट राखियो, धूमपान गर्ने पुरुषहरूको संख्या
ह्वात्तै बढ्दै गयो । चुरोटको कारोबार पुरुषबीच मात्रै बढेको देखेपछि अमेरिकी सुर्ती कम्पनीका अध्यक्ष जर्ज वासिङ्टनहिलले सन् १९२८ मा त्यस्ता अम्मलीको संख्या बढाएर नाफा कमाउन एडवार्ड्स बर्नेसलाई बजार अभियन्ता नियुक्त गरे । आधुनिक ‘पब्लिक रिलेसन’का पिता मानिने बर्नेसले आफ्नो कौशल यही दिशामा केन्द्रित गरे ।
चुरोटको कारोबार बढाउन महिला एउटा आदर्श बजार भएको बर्नेसले बुझेका थिए । समस्या के थिया भने तत्कालीन समाजमा महिलालाई सार्वजनिक स्थानमा धूमपान गर्न वर्जित थियो । धूमपान गर्ने महिलालाई चरित्रहीन वा वेश्याको संज्ञा दिइन्थ्यो । यस्तो अवस्थामा महिलामा धूमपानको बानी विकास गर्नु चुनौतीपूर्ण थियो । बर्नेसको तिखो दिमागले यही चुनौतीबीच अवसर लुकेको देख्यो । त्यो अवसर थियो— सन् १९२० को दशकमा चलिरहेको महिला समान मताधिकारको अभियान ।
यो सामाजिक–राजनीतिक परिवेशमा महिला समानता र स्वतन्त्रतालाई चुरोटसँग जोडेर प्रचार गर्दा धूमपान गर्ने महिला बढ्ने निष्कर्ष उनले निकाले अनि ‘टर्च अफ फ्रिडम’ (स्वतन्त्रताको दियो) का रूपमा महिलाले ‘चुरोट’ पिउने अभियानको सूत्रपात गरे ।
सन् १९२९ मा न्युयोर्कमा आयोजित इस्टर आइतबारको परेडमा ‘टर्च अफ फ्रिडम’ अभियानको सुरुवात गर्दा महिलाहरूका हातहातमा प्लेकार्ड नभई ‘लक्की स्ट्राई’ नाम दिइएका चुरोटका ठुटा थिए । बर्नेसको योजना अनुरुप महिलाहरू चुरोट सल्काउँदै सडकहुँदी हिँडे । सञ्चार माध्यमलाई पहिले नै खबर गरिएकाले उक्त मार्चले देशब्यापी चर्चा बटुल्यो । कतिसम्म भने, चुरोट कम्पनीहरूले हलिउड कलाकारलाई नियमित रूपमा चुरोट सप्लाइ गर्न थाले, विज्ञापनमा खेलाउन थाले । चुरोट कम्पनी फिलिप मोरिसले त महिलाले सानका साथ कसरी चुरोट तान्ने भनेर विभिन्न राज्यमा ‘लेक्चर टुर’ नै चलायो !
उक्त मार्च कुनै पनि हिसाबले महिला समानताका लागि थिएन, थियो त चुरोटको सस्तो प्रचारबाजी । झट्ट हेर्दा पुरुषसरह महिलाले पनि समानताका लागि चुरोट पिउनुपर्छ भन्ने देखाइएको थियो । यसको अन्तर्य चुरोटको बिक्रीलाई दोब्बर गराउनु थियो । बर्नेसको योजनाले काम गर्‍यो र चुरोट बिक्री दुई सय प्रतिशतले बढ्यो । त्यो कम्पनी दुई वर्षसम्म बेस्ट सेलिङ ब्रान्ड बन्यो ।
यसबारे बर्नेसले सन् १९६५ मा निस्केको आफ्नो संस्मरण कृति ‘बायोग्राफी अफ एन आइडिया’मा ‘टर्च अफ फ्रिडम’ सुरु भएपछि कम्पनीका मालिक हिलले स्वतन्त्रताको नारा दिएपछि महिलाहरू चुरोट तान्न आकर्षित भएकाले व्यापार बढ्नु आफ्नो कम्पनीको लागि बगैंचामा सुनखानी भेटेसरह भएको अभिव्यक्ति दिएको उल्लेख गरेका छन् । बर्नेसको यो योजनाको सिको गर्दै अन्य कम्पनीले पनि चुरोटका प्रचारलाई महिला लक्षित गर्न थाले । यसरी चुरोट अर्कै ढंगले महिला स्वतन्त्रताको प्रतीक रहेको मान्यता स्थापित हुँदै गयो ।
सन् १९३० देखि १९६० सम्म अमेरिकी बजारमा एकातिर चुरोटको बिक्री बढ्दै थियो भने अर्कोतिर चिकित्सा क्षेत्रमा धूमपानले स्वास्थ्यमा पार्ने असरबारे तीव्ररूप बहस चल्दै थियो । १९६४ मा सर्जन जनरल रिपोर्टले यो बहसलाई झनै उत्कर्षमा पुर्‍याइदियो । अमेरिकी केन्द्रीय सरकारका सार्वजनिक स्वास्थ्य सम्बन्धी प्रवक्ता सर्जन जनरलको अध्यक्षतामा गरिएको सर्वेक्षण रिपोर्ट थियो त्यो ।
यसले पहिलोपटक धूमपानले क्यान्सर र मुटु रोगसँगै अन्य नकारात्मक असर निम्त्याउने तथ्य सार्वजनिक गर्‍यो । सरकारी स्तरमा जनस्वास्थ्य सम्बन्धी यस्तो गम्भीर रिपोर्ट आएपछि चुरोट कम्पनीहरूले आफ्नो व्यापार ओरालो लाग्ने खतराको पूर्वानुमान गरे । र तुरुन्तै १९६० को दशकमा चलिरहेको ‘सेकेन्ड वेभ अफ फेमिनिजम’को नामले परिचित महिला आन्दोलनको सहायता लिने जुक्ति निकाले ।
महिलामाथि हुने सांस्कृतिक तथा राजनीतिक विभेद विरुद्ध सेकेन्ड वेभ अन्तर्गत विभिन्न गतिविधि हुँदै थिए । वुमन लिबरेसनका नाममा एकातिर महिलाका प्रजनन स्वास्थ्य सम्बन्धी अधिकार र गर्भनिरोधक साधनमा सर्वसुलभ पहुँचको नारा घन्किँदै थियो भने अर्कातिर यो आन्दोलनमा ‘बेबी ब्लुमर्स’ जस्ता सम्भ्रान्त वर्गका अमेरिकी युवाको हालिमुहाली भएकाले वर्गीय पक्षधरता नभएको निष्कर्ष निकालिँदै थियो । यस्तो विरोधबीच बजार पितृसत्तात्मक रहेको विषयले विश्वव्यापी रूपमा ध्यान खिचिरहेको थियो ।
बजारमा जे बिक्छ, त्यो बेच्नुपर्छ भन्ने नारा बोक्ने पुँजीवादी मान्यताका अमेरिकी चुरोट कम्पनीले अब आफ्ना सबै उत्पादन बेच्दा बजारमा चलिरहेको वुमन लिबरेसनसँग संगतिपूर्ण हुनैपर्ने थियो । तसर्थ भर्जिनिया स्लिम्स नामक ब्रान्डले महिला केन्द्रित भर्जिनिया स्लिम्स अल्ट्रा लाइट्स र भर्जिनिया सुपर स्लिम्स नाममा चुरोट उत्पादन गर्‍यो ।
यी चुरोटको प्रचार गर्ने क्रममा सो ब्रान्डले यस्तो विज्ञापन बनायो, जसले अमेरिकी बजारमा तहल्का पिट्यो । विज्ञापनको सुरुवातमा एउटी दमित महिलालाई देखाइयो, जो पछि उक्त चुरोट तान्न सुरु गरेसँगै सहरिया, सभ्य, स्वतन्त्र र आत्मर्निभर हुँदै जान्छे । प्रचार मात्र होइन, उक्त ब्रान्डले १९७३ ताका महिला खेलाडीहरूको टुरमा आर्थिक सहयोग नै गर्‍यो । त्यो बेला अमेरिकामा महिला र पुरुष टेनिस खेलाडीबीच पारिश्रमिक र पुरस्कारमा गरिने विभेद विरुद्ध बिल्ली जिन किङ (अमेरिकी महिला टेनिस एसोसिएसनकी संस्थापक) को नेतृत्वमा सो संस्थाका महिला खेलाडीहरूले मोर्चाबन्दी गरिरहेका थिए ।
पुरुष सरह खेल्न र कमाउन सक्ने क्षमता रहेको देखाउन ती महिला विश्वब्यापी टुर गर्न चाहन्थे । यसका लागि उनीहरूसँग पर्याप्त रकम भने थिएन । एकातिर यी महिला खेलाडीहरू प्रायोजक खोजिरहेका थिए, अर्कातिर टुरमा लगानी गर्दा संसारभर सजिलै प्रचार हुने र यो मुद्दामा साथ दिँदा धेरै महिलाको समर्थन पनि पाइनेबुझ्यो, भर्जिनिया स्लिम्सले । अन्ततः उसले टुर प्रायोजन गर्ने भयो । सो टुरलाई ‘भर्जिनिया स्लिम्स सर्किट’ नामकरण गरियो ।
१९९० सम्म त्यस्ता गतिविधिले भर्जिनिया स्लिम्सको व्यापारमा टेवा पुर्‍यायो । तर १९९० पछि युवा महिलाहरूले यी चुरोटको सट्टा ‘क्राप्री’ र ‘मिस्टी’ नामका चुरोट उपभोग गर्न थाले । यसरी एकाएक घाटा बेहोर्नुपरेपछि भर्जिनिया स्लिम्स बनाउने फिलिप मोरिस कम्पनीले किन अन्य ब्रान्ड महिलाको रोजाइमा परे भन्ने बुझ्न बजार सर्वेक्षण गर्‍यो ।
भर्जिनिया स्लिम्सको तत्कालीन विज्ञापन सन्देशले १९९० दशकका युवतीको व्यक्तिगत परिचय, जागिर खोजाइको संघर्ष र युवापनको प्रतिनिधित्व नगर्ने तथ्य त्यसबाट जानकारीमा आयो । युवा महिलाहरूको निष्कर्ष थियो— भर्जिनिया स्लिम्सको पुरातनपन्थी नारा थर्ड वेभ फेमिनिजमको प्रतीक बन्न सक्दैन । यसबाट कुनै पनि वस्तुको विज्ञापन र प्रचारबाट त्यसको कसरी सामाजिक छवि बन्छ र उपभोक्तावादी संस्कार निर्माण हुन्छ भन्ने प्रस्टिन्छ ।
चुरोटबाट कसरी मानव स्वास्थ्य खस्किँदैछ भन्ने अध्ययनपछि तयार कृति ‘द सिगरेट सेन्चुरी’मा लेखक प्रोफेसर आलन ब्रान्ट भन्छन्, ‘पछिल्ला केही दशकको समीक्षा गर्दा नयाँ राजनीतिक, आर्थिक र सामाजिक परिवेश बन्दै गरेका देशमा चुरोट कम्पनीहरूले चुरोटलाई स्वतन्त्रता र प्रगतिको पासपोर्टका हिसाबले प्रचार गरिरहेका छन् ।’
हुन पनि १९९० को उदारीकरणको फाइदा लिन चुरोट कम्पनीहरूले विकसितबाट विकासोन्मुख र अविकसित मुलुकतिर डेरा सार्न थाले । त्यसको एउटा उदाहरण हो— दक्षिण अफ्रिका । त्यहाँ चलिरहेको रंगभेद विरुद्धको आन्दोलनलाई पनि चुरोट कम्पनीले प्रयोग गरे । आफ्ना विज्ञापनमा तिनले काला महिलाले गोरा पुरुषको हातबाट चुरोट खोसेको देखाए ।
चुरोटको बजार प्रबर्द्धनका बेलायती अध्येता आमान्ड आमोस र मार्गरेथा हग्लुन्डका अनुसार, चुरोट कम्पनीको आक्रामक प्रचारको प्रभाव एसियाली मुलुकहरूमा पर्‍यो । भारतीय चुरोट कम्पनीहरूले अमेरिकी सिको गर्दै पाइन्ट र टिसर्टमा चुरोट पिएकी महिला देखाए, पश्चिमी महिलाजस्तै स्वतन्त्र हुन चुरोट पिउनुपर्ने सन्देश दिँदै विज्ञापन र होडिङ बोर्ड बनाए । कतिपय बलिउड फिल्ममा अझै पनि चुरोटलाई महिला मुक्तिको संवाहकझैं देखाइएको पाइन्छ ।
‘लिपस्टिक अन्डर माई बुर्का’ त्यस्तै एउटा फिल्म हो, जसको क्लाइमेक्स सिनमा चार महिला पात्र चुरोट तान्दै गरेका देखिन्छन् । महिलावादी धार बोकेको भनी दाबी गरिएको यस्तो फिल्ममा महिला स्वतन्त्रतालाई धूमपानमा प्रतिविम्बित गर्नाले पनि समाजमा चुरोट र महिला समानता पर्यायवाची हुन् कि भन्ने गलत मनोविज्ञान निर्माण भएको छ । ‘ग्लोबलाइजेसन’ले ब्रह्माण्डै साँघुरो बनाएका बेला, विश्वव्यापी आन्दोलन, त्यसमा पनि भारतीय फिल्मका पारखी हाम्रो समाजमा यी दुबैको प्रभाव देखिनु स्वाभाविकै भयो । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार, दक्षिण एसियामा धूमपान गर्ने महिलाको संख्यामा नेपाल अगाडि छ ।
यसैलाई मानक मान्दा त लैङ्गिक समानताको सूचकमा नेपाल अन्य दक्षिण एसियाली देशभन्दा अब्बल दरिनुपर्ने थियो, किन अन्तिम तीनमा परेको छ त ?समानताका नाममा पुरुषले अपनाएको कुलत महिलाले पनि अँगाल्न पाउनुपर्छ भन्नु हास्यास्पद हुन्छ । महिला हुन् वा पुरुष, कसैलाई पनि धूमपानले हित गर्दैन । यो सर्वविदित तथ्य हो । धूमपान नितान्त व्यक्तिगत रोजाइ हुनसक्छ । पुरुषले गर्दा स्वीकार्य र महिलाले गर्दाचाहिँ हेय मानिनुचाहिँ दोहोरो मापदण्ड हो । यो प्रवृत्ति गलत हो । महिला आन्दोलनमा चुरोटको प्रभावकारी भूमिका देख्नु भनेको पुँजीवादी कम्पनीहरूले वस्तुकरण गरेको ‘टर्च अफ फ्रिडम’ जस्ता उदारवादी मुद्दालाई प्रोत्साहन गर्नुमात्र हो ।
चुरोट सामाजिक परिवर्तनको संवाहक कदापि हुन सक्दैन । धूमपान गर्दा महिला बन्धनमुक्त हुने भए, हाम्रा घरगाउँमा दाजुभाइ सबैका सामु निस्फिक्री चोलोको गोजीबाट चुरोट निकालेर एक सर्को तान्दै, घाँस–दाउरा गर्ने आमैहरूको फहिले नै मुक्ति हुने थियो ! एक सर्को महिलावादले न हाम्रा ती आमाहरूलाई बन्धनमुत्त पार्‍यो, नत आजका युवालाई नै त्यसले मुक्ति दिन सक्छ । धूमपान कुनै पनि महिलावादी आन्दोलनको पर्याय हुन सक्दैन ।
करुणा पराजुली
लेखक अधिवक्ता हुन्।