FLASH NEWS
  • Loading...

लामा झोलुङ्गे पुलको लहर

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २६८ पटक पढिएको
लामा झोलुङ्गे पुलको लहर

रघुगंगा गाउँपालिका, १ का बेग र बान्दुक वस्ती जोड्न बेगखोलामाथी ३ सय ६६ मिटर लामो र १ सय ४८ मिटर अग्लो झोलुङ्गे पुल निर्माण भएपछि मन्जु पुनलाई सजिलो भएको छ । दैनिक ४ घन्टा हिँडेर नजिकको महादेव माध्यामिक विद्यालय आउ जाउ गर्ने मन्जु जस्ता दुई दर्जन वालबालिकाले दैनिक १ घन्टामै पुरा गर्छन । लामो झोलुङ्गे पुल निर्माणले बान्दुक वस्तीको दैनिक जीवन सहज भएको छ । दैनिक विद्यालय जाने/फर्कने कलिला विद्यार्थीलाई बढी लाभ पुगेको छ । भीर र बाढीको जोखिम घटेको छ ।

बेग–बान्दुक मात्र होईन ग्रामिण सडकको विस्तारसँगै जिल्लामा लामा र अग्ला प्रकृतिका झोलुङ्गे पुलको माग बढ्न थालेको छ । मोटरबाटो गाउँवस्ती उक्लेसँगै नयाँ वस्ती विस्तार हुन थालेका छन । पुराना वजार ओझेल परेसँगै परम्परागत घोडेटो/गोरेटो बाटो तथा झोलुङ्गे पुल विस्थापित हुने र नयाँ–नयाँ वस्ती र बजारसँग जोडिन नयाँ झुलुङ्गे पुलको माग बढेको हो । जिल्लाका ६ वटा स्थानीय तहमा १३ वटा एक सय २० मिटर भित्रका झोलुङ्गे निर्माण भैरहेका छन । ट्रेलव्रिज सपोर्ट युनिट (हेल्भटास) अर्न्तगत थप १५ वटा लामा र अग्ला पुल निर्माण भैरहेको छ ।

‘झोलुङ्गे पुल अक्करे भीरको टुप्पोमा छरिएका वस्तीलाई सहज जोड्ने भरपर्दो र सहज माध्यम हुन’ जिल्लाको सवैभन्दा दुर्गम धौलागिरी गाउँपालिका प्रमुख थमसरा पुनले भनिन, ‘दुर्गम बस्ती जोड्ने झोलुङ्गे पुलले धौलागिरी समेत पर्यटकीय गन्तब्यमा आएका पर्यटकको यात्रालाई पनि सहज र सुरक्षित बनाएको छ ।’

राज्य पुनःसंरचनासँगै काठमाण्डौको सिंहदरवार गाउँगाउँमा पुगेपछि गाउँपालिका केन्द्र तर्फ सोझिएर पूर्वाधार विकास हुन थालेका छन । कहिल्यै झोलुङ्गे पुल आवश्यक नठानिएका स्थानमा पनि पुलको माग बढ्न थालेको हो । मोटरबाटोले नयाँ वस्ती, बजार विकास गरेको तथा गाउँपालिका केन्द्रसँग जोडिनेगरी सडक पूर्वाधार निर्माण भैरहेको छ । सदरमुकाम र शहर केन्द्रीत विकास मोडेल गाउँपालिका केन्द्र तर्फ सोझिन थालेका छन ।

शिक्षा, श्वास्थ्य लगाएतका आर्थिक लाभका सेवा लिन छिटोछरितो यात्राकालागी आवश्यक ठानिएका झोलुङ्गे पुलले दुई वा धेरै गाउँलाई जोड्ने मात्र हैन, आर्थिक, सामाजिक विकासमा सकृय पार्न सहयोग पुर्‍याएको छ । जिल्ला समवन्यय समितिको अभिलेख अनुसार जिल्लामा रहेका एक सय ९१ वटा झोलुङ्गे पुल छन । जिल्लामा अहिले २ सयबढी झोलुङ्गेका माग छ ।

‘पहाडका वल्लो डाँडा र पल्लो डाँडामा रहेका वस्ती जोड्न लामा प्रकृतिका झोलुङ्गे पुलको माग बढी छ’ प्रतिनिधी सभा सदस्य भुपेन्द्रबहादुर थापाले भने, ‘धौलागिरी गाउँपालिकाको मुदी र खिवाङ्ग जोड्न, अन्नपूर्ण गापाको नागी–राम्चे जोड्ने, रघुगंगाको पाखापानी र दर्मिजा जोड्ने, बेनी नगरपालिकाको रत्नेचौर र बाग्लुङ्ग जोड्ने समेत तीन दर्जन झोलुङ्गे पुलको माग छ ।’

जिल्लामा प्रयोगमा रहेका अधिकांश झोलुङ्गेपुलहरु स्थानिय लोहारहरुले तयार पार्ने झोलुङ्गे पुलको रुपरेखा र डिजाईनमा आधारित छन । बेनीको पश्चिम मंगलाघाटमा म्याग्दी नदीमाथी निर्मित र चालु अवस्थाको झोलुङ्गे पुल बाग्लुङ्ग गल्कोटका लालबहादुर शेरचनले विसं १९२५ तिर म्याग्दीको रुमको खानीबाट निकालिएको फलामलाई साङ्लो बनाई निर्माण गरेका थिए । यो नै चालु अवस्थामा रहेको जिल्लाको सवै भन्दा पुरानो झोपु हो । नेपालमा आधुनिक झोलुङ्गे पुलको अवधारण भने डा. टोनी हागनले भित्राएको मानिन्छ । शुरुमा झोलुङ्गे पुलमा काठको प्रयोग गरिन्थ्यो तर हिजोआज बनविनास रोक्न स्टीलका फ्यालक प्रयोग गरिन्छ । अझै दुर्गम गाउँहरुमा फाट्टफुट्ट काठको प्रयोग गरिन्छ । झोलुङ्गे पुलमा सस्पेन्सन, सस्पेण्डेड र ट्रसगरि तिन प्रकारका झोलुङ्गेपुल प्रचलनमा छन् ।

धेरै पहिलादेखी विभिन्न दाताहरुको सहयोगमा झोपु निर्माण भएपनि पछिल्लो चरणमा स्वीस विकास नियोग अर्न्तगतको हेल्पटासको आर्थिक सहयोगमा स्थानिय विकास मन्त्रालय/ट्रेल व्रिज सपोर्ट यूनिट (टिविएसयू)ले सहयोग गर्ने गरेको छ । एक सय २० मिटरभन्दा छोटा दुरीका झोलुङ्गे स्थानीय सरकारले आफ्नै प्राविधिक श्रोत र साधनमा निर्माण गर्न सक्छन । तर सो भन्दा लामा पुल भने टिविएसयु आफैले निर्माण गर्ने गरेको छ ।

ग्रामिण जनजीवनको प्रमुख आधार मानिएको झोलुङ्गे पुलले मानिसको जीवन सहज मात्र बनाएको छैन, त्यहाँको आर्थिक, सामाजिक विकासलाई समेत सहयोग पुर्‍याएको छ । हिंडेर तर्न नसक्ने नदी वा खोला पार गर्न र वल्लोपल्लो वस्तीसम्म छिटोछरितो यात्राकालागी बनाईएका झोलुङ्गे पुलले ग्रामिण भेगमा शिक्षा, श्वास्थ्य सेवा लगाएतका आर्थिक लाभ लिनमा सहयोग गरेको छ ।