आज:  | Sun, 03, Jul, 2022

हाईटेन्सन मुनीको बास, त्रासै–त्रास

७ फाल्गुन २०७५, मंगलवार १५:३८ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता

अन्धगल्छीमा पर्ने आधा दर्जन वस्तीको आकासमा दाना– खुर्कोट–नवलपरासी–सुनौली २२०÷१३२÷३३÷११ केभिए आन्र्तर देशिय विधुत प्रसारण लाईन र जमिनमा १५–१५ मिटर छेउछेउलाई ‘राईट अफ वे’ कायम गर्दै भारत–तिब्बत जोड्ने सुनौली–जोमसोम–कोरला अन्तरदेशिय सडक निर्माणाधिन छन ।

रघुगंगा गाउँपालिका, १ तिप्ल्याङदेखी अन्नपूर्ण गापा, १ दोवा, २ भुरुङ, ३ दाना, ४ नारच्याङ, ६ घार र ७ हिस्तानको तल्लो क्षेत्र हुँदै मुस्ताङको घाँसासम्म करिव २५ किलोमिटर खण्डमा कालीगण्डकी नदी साँघुरो गल्छी भएर बग्छ । कालीगण्डकीले बनाएका अधिकतम दुई सय मिटर फराकिला बगरमा अवस्थित तिप्ल्याङ, महभीर, धिरच्याङ, ठूलोवगर, रातोपानी, पोखरेवगर, तातोपानी, नारच्याङ, दाना, गाडपार बस्तीमाथी उच्च भोल्टेज विधुत प्रसारण लाईन निर्माण भैरहेको छ ।

आकाशमा उच्च भोल्टेजको प्रसारण लाईनको र जमिनमा फराकिलो ‘राईट अफ वे’ सहितको सडकबाट कालीगण्डकी किनाराका बस्ती प्रभावित बनेका छन । यी आयोजनाबाट कालीगण्डकी नदी तटिय वस्तीमा उज्यालो भविश्यले भन्दा वस्ती उठ्ने त्रासले पिरोल्न थालेको छ ।

‘दैलो छेउमा सिंहदरवार आयो । खोलाको बगरमा पनि बस्ती बढ्ला, ब्यापार होला भन्ने लागेको थियो तर विजुली र सडकले सपना सवै खरानी भए’ अन्नपूर्ण गाउँपालिका केन्द्र पोखरेबगरका स्थानीय खड्ग गिरीले भने, ‘विधुत हाईटेन्सनले केही जमिन, आधा जमिन सडकले काटेपछि पुरै बस्ती उठ्ला कि भन्ने त्रास नै त्रासमा छौं ।’

सडक र विजुली प्रसारण लाईनको असर अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरे वगरलाई परेको छ । गापा केन्द्र कायमभएसँगै तिब्र बजारकिरण भैरहेको पोखरेवगरमा सरकारी कार्यालय राख्न र वस्ती वसाउन समस्या भएको छ । र यही साँघुरो वस्तीको विचबाट अहिले पनि ११ केभिए र ३३ केभिए गरी दुई वटा हाईटेन्सन लाईन टाँगिएका छन । वितरणलाईनको भद्रगोल अझ वेग्लै छ ।

संसारको सर्वाधिक गहिरो र साँघुरो यो अन्धगल्छीमा निर्माणाधिन र प्रकृयाका दर्जन आयोजनाको विजुली  केन्द्रीय ग्रीडमा जोड्न कालीगण्डकी करिडोर २२०÷१३२÷३३÷११ केभिए प्रसारण लाईन तिब्र गतिमा निर्माण भैरहेको छ । यी आयोजनाबाट उत्पादित विधुत दाना सवस्टेसनमा जोड्न साँघुरो गल्छीमा अवस्थित वस्ती माथी छुट्टाछुट्टै हाईटेन्सन लाईन बनाउनु पर्छ ।

‘जमिन तल कालीगण्डकी कटान, अनि सडकले ओगट्ने र आकासमा विजुलीको तारले ओगट्दा वस्ती विकास गर्न समस्या भएको छ’ अन्नपूर्ण गाउँपालिका प्रमुख डमबहादुर पुनले भने, ‘साँघुरो ठाउँमा सडक विजुली र भोली केवुलकार पनि थपियो भने हाम्रा वस्ती उठ्ने अवस्था आउन सक्छ । सडक, विजुली चाहिएको छ, नवनाउ भन्न पनि भएन बनाउँदा वस्ती नै जोखिममा छन ।’

कालीगण्डकी करिडोरको अन्धगल्छी खण्डको करिव ४० किमी क्षेत्रमा मुस्ताङ्गको १३.६ मेगावाटको थापाखोला, घलेम्दी (५ मेवा), मिस्त्रीखोला (४२ मेवा) राहुघाट (४० मेवा) घारखोला (१४ मेवा), कालीगण्डकी अपर (६४ मेवा) कालीगण्डकी गर्ज (१४६ मेवा), निलगिरी (३८ मेवा),  ताङछर खोला (२.४० मेवा), कोवाङ–कालीगण्डकी (४५० मेवा), माथिल्लो राहुघाट (४८.५ मेवा), कालीगण्डकी माथिल्लो (७२ मेवा) र कालीगण्डकी–तिप्ल्या¨ (६७ मेवा) विधुत दाना सव स्टेसनमा जोड्ने योजना छ ।

‘हाईटेन्सन लाईन सकेसम्म वस्ती छलेर वल्लो डाँडादेखी पल्लो डाँडासम्म तार टाँगेका छौं । तलका वस्तीलाई जोखिम छैन । तार र घर÷रुख वीचको दुरी भन्दा मापदण्ड अनुसार राखेका छौं’ कालीगण्डकी करिडोर प्रसारण लाईन आयोजना प्रमुख चन्दन घोषले भने, ‘प्रसारण लाईन मुनी आवास पूर्वाधार बनाउनु गैह्कानुनी हो । कसैले बनाउनु हु“दैन । साँघुरो गल्छी भएकोले वस्ती र सडक भन्दा धेरै टाढा पुग्न सकिने अवस्था छैन । बाध्य छौं ।’

प्रसारण लाईनको मुनी सुरक्षाको दृष्टिले ज्यादै जोखिम हुन्छ । विधुत प्राधिकरणले उच्च भोल्टेजका प्रसारण तथा वितरण लाईनमुनि घर लगाएतका संरचना निर्माण नगर्न सचेत गराउँदै आएको छ । विधुत नियमावली, २०५० ले तारदेखी घर वा रुखसम्मको दुरी २२० केभिएसम्मका भोल्टेजसम्म करिव ५ मिटर कायम गरेको छ । तर कालीगण्डकी करिडोरमा प्राधिकरणले स्थानियवासी र स्थानीय सरकारको असहमति अटेर गर्दै वस्तीमाथी प्रसारण लाईन निर्माण गरिरहेको छ ।

जोखिम न्यूनिकरण गर्न प्राधिकरणले ठूला भोल्टेजका प्रसारण लाईनमुनी पर्ने जग्गा वा घर मुअब्जा वा क्षतिपूर्ति तिरेर अधिकरण पनि गर्छ । स्थानीयले त्यो जोखिम मोलेरै उपभोग गर्दै आएका पनि छन । अझ स्थानीय, जग्गा ब्यपारी र सरोकारवाला निकायको वेवास्ताले यी विधुतको प्रसारण लाईन मुनीको जग्गा खरिद विक्रि समेत हुने गरेको छ । उच्च भोल्टेजका प्रसारण तथा वितरण लाईनमुनी जग्गा गैरकानुनी मात्र होईन अकालको मृत्यु बन्छ । हाईटेन्सन लाईनमुनी घर हुँदा बेला बेला दुर्घटना भै मानवीय क्षति समेत हुने गरेको छ । हाईटेन्सन मुनी वस्ती वस्न, खेती गर्न र रुख विरुवा रोप्न वर्जित भएपनि कालीगण्डकी करिडोरको अन्धगल्छी क्षेत्रमा भने वस्तीमाथी नै हाईटेन्सन बन्दै छन ।

कालीगण्डकी करिडोरमा २२०÷१३२÷३३÷११ केभिए विधुत प्रसारण लाईन र सुनौली–बेनी–जोमसोम–कोरला समानन्तर निर्माण भैरहेका छन । विधुत नियमावली अनुसार ११ हजार वा ३३ हजार भोल्टेज माथिका प्रशारण लाईन तार सडक वारपार, सडक छेउभन्दा ६.१ मिटर दुरी कायम राख्नु पर्ने नियम भएपनि यहाँ दुई आयोजना विच ‘राईट अफ वे’ को विवाद चुलिएको छ । विधुत आयोजना भन्छ, सडकले भित्ता च्यापोस, सडक भन्छ, प्रसारण लाईनले राईट अफ वे अतिक्रमण ग¥यो ।

अन्नपूर्ण गापा, ७ महभीरदेखी मुस्ताङ घाँसासम्मको भुभाग यति साँघुरो छ कि वेनी–जोमसोम–कोरला सडकको मापदण्ड अनुसार सडक बन्न नभएपछि हाफ व्रिज वा सुरुङ मार्गको अध्ययन भैरहेको छ । ११ मिटरका सडकमा १५–१५ मिटर दाया–बायाँ ‘राईट अफ वे’ कायम गरिएकोले विधुत प्रसारण लाईनका टावरले डिस्टर्व गरेको सडक आयोजनाले आरोप छ ।

‘केही स्थानमा विधुत प्रशारण आयोजना र सडक विच समस्या देखिएको छ’ बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख मुकुन्द अधिकारीले भने, ‘अन्धगल्छीको साँघुरो घाँटीमा बग्ने कालीगण्डकी नदीको एउटै किनारामा दुई वटा ठूला आयोजना एकैसाथ संञ्चालनहुँदा डिस्टभेन्समा भेट हुने रहेछ ।’