आज:  | Tue, 28, Jun, 2022

अर्गानिक वेसारले बजार पाएन

३ फाल्गुन २०७५, शुक्रबार ०८:२१ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता

कविता पुन (औला)

यहाँका गाउँमा उत्पादित अर्गानिक वेसार (हलेदो)ले बजार नपाउँदा कृषकको बारीमा थन्किएको छ ।

अन्नपूर्ण गाउँपालिका, ७ हिस्तान औलका कृषकले उत्पादन गरेको परम्परागत नापतौल अनुसारको ७ मुरी धुलो वेसारले बजार पाउन सकेको छैन । औलमा उत्पादित १४ मुरी वेसारमध्य ६ मुरी स्थानीय पर्यटकीय वजार घोडेपानी, तातोपानी, तिप्ल्याङ र बेनीमा विक्रि भएपनि ८ मुरी धुलो शुद्ध आर्गनिक वेसारले बजार नपाएको हो ।

कृषी प्राविधिकले वेसार (हलेदो) खेतीकालागी माटो उपयुक्त छ, खेती गर्नुस प्रयाप्त बजार छ, मुल्य राम्रो पाईन्छ भनेर उक्साएर, खेति गरेपनि बजार ब्यवस्था नहुँदा घरमै अलपत्र परेको कृषकले गुनासो गरेका छन ।

‘वारीमा वेसारको राम्रो खेतीहुँदा र वोराका वोरा बेसार उत्पादन हुँदा धेरै पैसा आउने भयो भनेर उत्साह थियो । तर विक्रि नभएपछि अलि मन खस्केको छ’ अगुवा कृषक मेखकुमार पाईजाले भने, ‘डोकोमा बोकेर ब्यापार गर्ने ढंग आफुसँग छैन, पसलमा सोध्यो सवैले राख्दैनौं मात्र भन्छन । वेकार खेती गरें जस्तो भाछ ।’

कृषी ज्ञान केन्द्र बेनीका अनुसार १ हजार १ सय देखी १ हजार ३ सय मिटरसम्मको प्राय सवै क्षेत्रमा वेसार खेती हुन्छ । बेनी नगरपालिका, १ रत्नेचौर, २ खवरा, ३ भकिम्ली, ५ पुला, ९ घतान, मंगला गाउँपालिका ५ र ६ बरंजाको २० हेक्टर क्षेत्रफलमा ब्यवसायीक खेतीबाट एक सय २९ मेट्रिक टन वेसार उत्पादन हुन्छ ।

‘जिल्लाका प्रायः सवै वस्तीको वलौटे दोमट माटोमा वेसारको खेती हुन्छ तर घरायसी प्रयोजनकालागी । ब्यवसायीक रुपमा भने ज्यादै थोरै खेती हुन्छ’ कृषी ज्ञान केन्द्रका सूचना अधिकारी समेतरहेका वालवानी अधिकृत भोजबहादुर थापाले भने, ‘औलमा वेसार कृषक नयाँ हुँदा बजार नदेखिएको हो । डोकोमा बोकेर हिंड्दा मिसावटको डरले हत्तपत्त कसैल नकिनेको हुनसक्छ ।’

कृषी प्राविधिकले अधिकतम १ हजार ३ सय मिटरसम्म वेसार खेती हुन्छ भने पनि जलवायु परिवर्तनले तापक्रम बृद्धी भएकोले १ हजार ८ सय मिटरसम्म बेसारको राम्रो खेती हुने गरेको छ । ठूलो खडेरीमा बाहेक सिंचाई र गोडमेल आवश्यक नहुने वेसार कम लगानीमा मनग्य आम्दानी गर्न सकिने खेती हो । परम्परागत नेपाली खेती प्रणाली निर्वाहमुखी रहेकोले हरेक घरमा धेरथोर अन्य वालीसँगै वेसार खेती गर्ने र विशेष परिकारमा बाहेक वेसार प्रयोग नहुने हुँदा वेसारको गाउँमा भन्दा शहर÷बजारमा बढी विक्रि हुन्छ ।

‘एक माना (आधा केजी) वेसार भए वर्षलाई खान पुग्छ । मासु वा त्यस्तै खास खाना पकाउँदा मात्र वेसार प्रयोग गर्ने चलन छ’ मालिका गाउँपालिका, ५ रुमका मतिबहादुर पुनले भने, ‘बजारको वेसारमा पिठो मिसाउने भएकोले असरी वेसार किन्न उपभोक्ता हिच्किचाउने गर्छन ।’