आज:  | Sat, 25, Jun, 2022

के हो कलेजो प्रत्यारोपण ?

१९ माघ २०७५, शनिबार ०७:१८ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता

कलेजो मानव शरीरको सबैभन्दा ठूलो अंग भएकाले यसको प्रत्यारोपण अत्यन्त खर्चिलो र जटिल मानिन्छ । साथै यो सहज पनि छैन । हाम्रो मुलुकमा वर्षेनी कलेजो फेल हुनेहरूमध्ये आधाभन्दा बढी चाहिँ अत्यधिक मद्यपानका कारण त्यो अवस्थामा पुग्ने गरेका हुन्छन् । नेपालीमा हुने कलेजोको दीर्घकालीन रोगको एउटा कारण त मद्यपान भइहाल्यो, त्यसपछि हेपाटाइटिस ‘बी’ र ‘सी’ को संक्रमण एवं र कलेजोको क्यान्सर दीर्घकालीन कलेजो रोग यो अंग फेल हुने ९५ प्रतिशत कारक हो । बाँकी ५ प्रतिशतमा भने फोहोर पानीले हुने हेपाटाइटिस ‘ई’, कलेजोमा तामाको मात्रा बढी हुने विल्सन डिजिज, अटोइम्युन डिजिजले एक्कासी कलेजो फेल (एक्युट भिर फेल्योर) हो ।

के हो कलेजो ?

कलेजो हाम्रो पेटको माथिपट्टि दाहिने भागमा हुन्छ । यसले पाचनको लागि आवश्यक पित्तको निर्माण गर्छ । यस्तै रगत सफा गर्नुका साथै शरीरमा भएको ऊर्जालाई ग्लाइकोजिनको रूपमा संरक्षितसमेत राख्छ ।
यसले शरीरको लागि पाँच सयभन्दा बढी फरक–फरक काम गर्छ, जस्तो : रगत जम्न सघाउनु, संक्रमणबाट रक्षा गर्नु, विषालु तत्त्वको असरलाई कम गर्नु आदि । यो एक मात्र यस्तो अंग हो जसले आफ्नो पुनर्निर्माण समेत गर्छ । यसले शरीरको विषाक्तता कम (डिटक्सिफिकेसन) गर्नमा महत्त्वपूर्ण भूमिका खेल्छ ।

के हो कलेजो प्रत्यारोपण ?

यो एक प्रकारको शल्यक्रिया हो, जसमा रोग वा चोटपटक लागेको कलेजोलाई पूरै वा प्रभावित भागलाई मात्र हटाएर प्रतिस्थापित गरिन्छ । कलेजो फेल भएकाहरूको लागि यो जीवन बचाउने उपाय हो । हामी सवैलाई बाँच्नको लागि एउटा स्वस्थ कलेजो अत्यावश्क हुन्छ । स्वस्थ कलेजोले क्षतिग्रस्त भएको आफ्नो धेरैजसो भागलाई पुन: उमार्नसमेत सक्छ ।

कसले गर्ने कलेजो प्रत्यारोपण ?

दीर्घकालीन रूपले कलेजो फेल भएकाहरूलाई बाँच्नको लागि प्रत्यारोपण आवश्यक हुन्छ । एक्कासि कलेजो फेल (एक्युट लिभर फेल्योर) समेत हुने गर्छ । दीर्घकालीन कलेजो फेल हुने समस्या मुख्यत: सिरोसिसले गर्दा हुन्छ । यो सिरोसिस अत्यधिक मद्यपान, हेपाटाइटिस सी वा कलेजो सम्बन्धी अन्य रोगका कारण हुने गर्छ ।
कलेजो प्रत्यारोपण शल्यक्रिया गर्दा के हुन्छ ?

जीवित दाताको कलेजो लिएर प्रत्यारोपण गर्दा एकै पटक त्यही अस्पतालमा दुइटा शल्यक्रिया गर्नुपर्छ । एउटा कक्षमा शल्यक्रिया गर्ने विज्ञको टोलीले दाताबाट कलेजो झिक्ने काम गर्छ । अर्को कक्षमा ग्रहणकर्ताको क्षतिग्रस्त कलेजो झिकिन्छ । यसपछि दाताको कलेजो ग्रहणकर्तामा प्रत्यारोपित गरिन्छ । कलेजो दिने जीवित दाताले समेत शल्यक्रियापछि करिब एक सातासम्म अस्पतालमै बस्नुपर्छ ।

धेरैजसो कलेजो प्रत्यारोपण सफल हुने गर्छ । प्रत्यारोपण गराएकाहरू केही महिनापछि निको भएर सामान्य जीवनमा फर्कन सक्छन् । करिब ८५ प्रतिशत प्रत्यारोपित कलेजो एक वर्षपछि पुन: उम्रेर स्वाभाविक रूपमा काम गर्न थाल्ने मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर केन्द्रका निर्देशक एवं प्रत्यारोपण शल्यचिकित्सक डा. पुकारचन्द्र श्रेष्ठ बताउँछन् ।

कलेजो प्रत्यारोपण सहज छैन । यसमा जटिलता समेत देखिन्छ । पित्तनली क्षतिग्रस्त हुने, नयाँ कलेजोलाई शरीरको प्रतिरोधी प्रणालीले अस्वीकार गर्ने, संक्रमण र रक्तश्राव हुने, कलेजोको रक्त नलिकामा रगत जम्ने, रोग प्रतिरोधक क्षमतालाई कम गर्ने (इम्युनो सप्रेसिभ) औषधिको साइड इफेक्ट देखिनेजस्ता समस्या हुन सक्ने डा. श्रेष्ठ बताउँछन् ।

प्रत्यारोपणपछि
अमेरिकास्थित द नेसनल इन्स्टिच्युट अफ डाइबिटिज एन्ड डाइजेस्टिभ एन्ड किड्नी डिजिज (एनआइडीडीके) को तथ्यपत्र अनुसार, कलेजो प्रत्यारोपण गराएको पहिलो वर्ष सघन चिकित्सकीय फलोअपमा बस्नुपर्छ । त्यस्ता व्यक्तिहरूले स्वस्थ जीवनशैली अपनाउनुपर्छ । स्वस्थ खानपान र व्यायाम गर्नुपर्छ । धूमपान र मद्यपान त्याग्नुपर्छ ।

प्रत्यारोपण गराएकाहरूले चिकित्सकीय सुझावअनुसार नियमित औषधि सेवनसँगै अन्य सावधानी अपनाउनुपर्छ । यति मात्र नभई, यस्ता व्यक्तिले शरीरले कलेजोलाई अस्वीकार गरेको लक्षण र चिनोबारे विस्तृत जानकारी राख्नुका साथै यस्तो अवस्थाको आशंका हुनासाथ तुरुन्त चिकित्सकलाई सूचना दिनुपर्छ । प्रत्यारोपण गराएकाहरूले अन्य बिरामी व्यक्तिसँग हिमचिम गर्नु हुँदैन ।

मदिरा र कलेजो

जब कलेजोमा मदिराको प्रशोधन हुन्छ, त्यतिखेर थुप्रै विषालु रसायन त्यसबाट निस्किन्छ, जसले कलेजोलाई क्षतिग्रस्त पार्छ । एकपटक मदिरा अर्थात् कम्तीमा तीन पेग पिउनाले कलेजो दुई सातासम्म कलेजो बिमार हुन्छ । एकपटक मद्यपान गरेपछि कलेजोलाई पुन: स्वस्थ हुनमा दुई करिब साता लाग्छ । मद्यपानबाट जोगिनु कलेजो स्वस्थ राख्ने महत्त्वपूर्ण उपाय हो ।

कलेजोले के गर्छ ?

संक्रमणबाट जोगाउँछ । रगतबाट ब्याक्टेरिया र विषाक्त पदार्थ हटाउँछ । रगतलाई जम्न सघाउने प्रोटिनको निर्माण गर्छ । प्रतिरक्षा प्रतिक्रियालाई नियन्त्रणमा राख्छ । पोषकतत्त्व, औषधि र हार्मोनलाई प्रशोधन गर्छ । बोसो, कोलेस्ट्रोल र बोसोमा घुलनशील भिटामिन अवशोषण गर्न सघाउने पित्तको उत्पादन गर्छ । शरीरको उपयोगको लागि भिटामिन, लवण, बोसो र चिनीलाई संरक्षित राख्छ ।

चन्द्र केसीले ९ महिने बालिकालाई कलेजो दानगरी सफल प्रत्यारोपणपछि सवैमा चासो बढेको छ । हामीले कलेजोको महत्व बारे सवैमा जानकारी उपयोगी हुने ठानेर यो सामाग्री विभिन्न अनलाईन तथा स्वास्थ्य वुलेटिनबाट संकलनपछि सम्पादनगरी पाठककालागी प्रस्तुत गरेका हौं ।