आज:  | Tue, 05, Jul, 2022

मगर, माघेसंक्रान्ति अनि ख्याली

१ माघ २०७५, मंगलवार ११:३७ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता
घर–घरमा वन तरुलले बनाएको प्रसाद ‘निस्रो’ले कुलदेवता र दिदीबहिनीको पुजा गरी मगरहरु समुदायले ख्याली नृत्य गर्दै माघे संक्रान्ती मनाएका छन ।माघे संक्रान्ति सवै जातिले मनाउने भएपनि प्रकृति पुजक मगर जातिको माघे संक्रान्तिलाई मुख्य चाडको रुपमा मनाउँ छन । माघे संक्रान्तिपछि ‘उभौली’ सुरु भएको छ । म्याग्दीका  मगर समुदाय माथिल्लो क्षेत्रमा गुजुमुञ्च परेका परम्परागत शैलिका घर, मौलिक संस्कृति अनि सोझा, सरल र मिजासिला हुन्छन ।पशु चौपायासहित जहाँ जे बाली पाक्छ त्यही नै वसोवास गरि अर्कोवाली खान अर्को खर्क (खेतिफाँटमा) वसाई, जाडो गर्मी मौषम अनुसार गोठलाई लेक–वेंशी गर्ने परम्परालाई नै ‘उधौली–उभौली’ भन्ने गरिन्छ । फिरन्ते गोठ राख्ने (पशुचौपाया पाल्ने) र खेति गरिने फाँट अनुसार वस्ती सार्ने परम्परामा माघदेखी हिंउँद सकिएकोले अव विस्तारै वेंशी झरेका गोठहरु माथिल्लो क्षेत्र तर्फ लग्ने प्रचलन छ ।‘माघे संक्रान्ति परम्परागत मगरहरुको विछोडको अर्थात विदाईको पर्व पनि हो । हिउँदमा जाडो छल्न वेंशी झरेका मगरहरु छुट्टिएर आ–आप्mना खर्क तर्फ गोठ लग्ने हुँदा माघे संक्रान्ति उल्लास पूर्वक मनाउने र पैंयु फुलेपछि फुर्सदमा माईती भेट्न आएका चेलीवेटीलाई वनको कन्दमुल खुवाई विदाई गर्ने पुख्यौली चलन हो’ अन्नपूर्ण गाउँपालिका, ६ खिवाङका पूर्व शिक्षक पूर्णबहादुर पुनले भने, ‘युग फेरियो । संस्कार र संस्कृति पनि फेरिएको छ । पुर्खाले जे गरे त्यही गर्न अहिलेको पुस्तककालागी संभव छैन । यो निरन्तर फेरिने प्रकृया हो ।’मगर जातिले वनको कन्दमुल तरुलर सख्खरखण्डको परिकार बनाई चेलीवेटी पुज्ने र पितृ पुजागरी मनाउने गर्छन । पुस मसान्तमा दाजुभाईले ल्याएको वनतरुललाई राती पकाउने चलन छ । माघे संक्रान्तिको विहान नुहाई पुर्खा (कुलकुलायन)लाई पुजागरी दिदीबहिनीलाई तरुलको विशेष खाना ‘निस्रो’ दिने गर्छन । महिलाहरु निस्रो लिएर वनमा गै निस्रो खाँदै रमाईलो गर्ने र पुरुषले दिनभर धनुष काँडा (तारो हान्ने) खेल्ने गर्छन । साँझ सवै एक ठाउँमा जम्मा भै ‘ख्याली’ गाउने परम्परा भएपनि हिजोआज पुख्यौली पोसाक लगाएका मगर÷मगर्नीहरु जम्मा भै ख्याली गित गाउँदै र नाच्दै बजार÷शहर परिक्रमापछि जातिय, सांस्कृतिक तथा भाषागत आन्दोलनको चर्चा गर्दै समापन गर्ने गरिएको छ ।‘म्याग्दी क्षेत्रमा मगर भाषा लोप भयो÷गुमायौं । बचेको कला, भेषभुषा, संकृति पनि समयानुकुल भन्दै छोट्याउँदै र परिस्कृत भैरहेको छ’ मगर सघं गण्डकी प्रदेश समितिका सचिव राजकुमार थापाले भने, ‘आज भोली मगरका जातिको मात्र सवै जातीको संस्कृति र भेषभुषाको औपचारिक कार्यक्रममा प्रर्दशनमा मात्र सिमित हुन थालेको छ । एक दिने संस्कृति रमाएका छौ ं’माघीमा ख्याली‘ख्याली’ पुन मगरको पुख्यौली नृत्य हो । परम्परागत भेषभुषामा सजिएको मादलेले ‘थान फुति नाका धाङ, नाका धाङ, नाका धाङ’ ख्याली नृत्यको ताल । यो तालमा महिलाको भेषमा सजिएका मारुनीहरु नाच्दै मादलेको अघिअघि दायाँघुम्छन् । मारुनीलाई बायाँफर्काउन भने मादलेले ‘फुति–फुति नाका धाङ, नाका धाङ, नाका धाङको ताल बजाउँछन् । ख्याली नृत्यमा मादलका २२ ताल हुन्छन ।ख्याली गित शुरु गर्नेलाई थाल्ने, गीत गाउनेहरुलाई छोप्ने र महिलाको भेषमा सजिएर नाच्ने पुरुषलाई मारुनी तथा पुरुषकै भेषमा मादल बजाउंदै नाच्नेलाई मादले भनिन्छ । पुन मगरको अर्को पुख्यौली नृत्य हो, सरस्वती जगाउने नृत्य । सरस्वती जनाउने नृत्यमा भने तक तक तकथाङ, थाङ थाङबाट शुरु गरिन्छ । अन्तिममा गुनगुन नाकाथाङको ताल बजाईन्छ । सरस्वती जगाउँदा भने मादलको सात ताल बजाउने गरिन्छ । यस्तो ताल बजाउँदा कोही कोही काप्ने समेत गर्छन् । प्रकृति प्रेमी पुन मगरहरु सरस्वती जगाउदा देवताको प्रतिकको रुपमा प्रकृतिलाई पुकार्दै गीत गाउँछन् ।जस्तै ः आकासैको सूर्य देउता, पातलैको अग्नी देउता, आकासैको चन्द्र देउता, पत्तालैको जल देउता । आदी । मगर जातिमा मुख्य तिन सम्प्रदायहरु ढुट भाषी मगर (१२ मगरात), काईके भाषी मगर (तराली) र खाम भाषी मगर (१८ मगरात) मध्य रुकुम, रोल्पा, बाग्लुङ, पर्वत, म्याग्दी क्षेत्रमा बसोवास गर्ने पुन, तिलिजा, खोरजा, गर्वुजा, पाईजा, शेरपुजा लगाएतका एक सय ७ उपथरका मगरहरु वीच ख्याली लोकप्रिय पुख्र्यौली नृत्य हो । त्यस बाहेक पुन मगरहरुमा यानीमायाँ, सुनीमायँ, सोरठी, भ्mयाउरे, शिरफुले जस्ता गीत लोकप्रीय छन । मगर बाहुल्य जिल्ला भएपनि म्याग्दीका पुन मगरहरु आप्mनो मातृभाषा बोल्न जान्दैनन् ।‘विदेश जाने परम्पराले संस्कृती लोपोन्मुख भएको छ । मेलापर्व र उत्सवहरु परम्परा र संस्कृति युवापुस्तामा हस्तान्त्रण गर्ने एउटा माध्यम बनेका छन’ नेपाल मगर संघका जिल्ला अध्यक्ष मनप्रसाद थजालीले भने, ‘माघे संक्रान्ति मुलत कृषीकर्मसँग सम्बन्धीत भएपनि हिजो आज पुख्यौली पोसाक पहिरिएर गीत र नृत्यगरी रमाउने माध्यम बनेको छ ।’