आज:  | Tue, 05, Jul, 2022

उफ ! श्वास फेर्ने गाह्यो

२८ पुष २०७५, शनिबार १४:५५ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता

फोहोरमैला बेनी–जोमसोम सडकबाट दुनियाँले छिछि गर्ने गरी धार्मिक महत्वको कालीगण्डकी नदीमा नफाल । संभव नभए कम्तीमा घातक फोहोरमा आगो नलगाउ ।’ स्थानियको बर्षेनी बेनी नगरपालिकासँग अनुनय गर्ने शब्द हुन यी । तर सोमत गुमाउँदै गएको बेनी नगरपालिकाले मानव श्वास्थ्यमा घातक असर पर्नेगरी फोहोरमा आगो लगाउन छोडेको छैन । फोहोरमा आगो लगाउँदा निक्लेको धुँवाले बगरफाँट र बेनीबासीलाईस्वास फेर्न मुस्किल हुने गरेको छ ।

फोहोरमैला जलेर निक्लेको धुँवाले स्वास फेर्न समेत मुस्किल भएपछि स्थानियवासीले विरोध गर्दै आएपनि नगरपालिकाले चासो राखेको छैन । औषधी, विषादी, प्लास्टिक र केमिकल मिश्रित फोहोरमा आगो लगाउँदा निक्लेको विषालु धुँवाले वालवालिकालाई स्वास फेर्न समस्या देखिएको छ ।

‘फोहोर ब्यवस्थापन गर्न र आगो नलगाउन पटक–पटक गुनासो गरेपनि बेनी नगरपालिकाले चासो राखेन’ रघुगंगा गाउँपालिका अध्यक्ष समेत रहेका कालीपुलबासी भवबहादुर भण्डारीले भने, ‘वयस्कलाई त विहान घर बाहिर निक्लनै सकिन्न, पिरो न पिरो धुँवाले आँखा र छाती पोल्छ । मर्निङवाक गर्न समस्या छ । बालबालिकालाई झन समस्या नै भएको छ ।’

प्रदुषित धुँवाले वेष्टपोईन्ट आवसीय मावि÷कलेजमा रहेका बालबालिका मात्र होईन, नजिकका बस्ती बगरफाँट, गलेश्वर, डल्लेपिपल, पिपलचोक, कालीपुल, क्याम्पसचोक, पारीवेनीसम्म राती श्वास फेर्न समस्या हुने गरेको छ । कालीगण्डकी नदी किनारामा अवस्थित ल्याण्डफिल्ड साईडबाट निक्लेको विषालु टक्सिनयुक्त धुँवाको मुस्लोले विहान बेनीबजार बाक्लो हुस्सुले छोपे झै बन्ने गरेको छ । दिनमा घामको तापले धुँवा उडेर माथी गएपनि राती चिसोमा धुँवा सतहमा फैलिएर नदी किनाराको वस्ती बेनीलाई छोप्ने गरेको छ ।

‘राती स्वास फेर्न गाहे हुन्छ । विहान उढ्दा नाक र छाती पोल्छ’ क्याम्पसचोकका चित्र तिलिजाले भने, ‘मानव श्वास्थ्यमा दीर्घकालसम्म असर गर्ने औषधी, केमिकल र प्लास्टिकजन्य फोहोर जलाउँन पूर्ण प्रतिवन्ध नै लगाउनु पर्छ ।’

बेनीबाट निक्लेको फोहरमैला पर्यावरणीय रुपमा मात्र होईन धार्मिक महत्वको कालीगगण्डकी फाल्ने गरिएको छ । विकल्प फेला नपरेको भन्दै नगरपालिकाले बेनी–जोमसोम सडकको बेनी–गलेश्वर खण्डको सेतीपहिरो छेउबाट कालीगण्डकी नदीमा फोहोर खसाल्ने गरेको छ शहरबजारबाट निक्लेको फोहरमैलाको ब्यवस्थापन तथा प्रवन्ध गर्ने दायीत्व स्थानिय निकायको हो । अघिल्ला बर्षहरुमा पनि स्थानियको विरोध आएपछि फोहोर मैलामा आगो नलगाउने आप्mने प्रतिवद्धता नगरपालिकाले कार्यान्वयन गरेको छैन ।

‘डम्पिङसाईटमा लागेको आगो र निक्लेको धुँवाले स्थानियको श्वास्थ्यमा असर परेको गुनासो छ’ नगरपालिकका इन्जिनियर विमल रन्जन कार्कीले भने, ‘१५ दिन भित्र फोहोरलाई ब्यवस्थित गर्छौं । कुहिने र नकुहिने फोहोर छुट्टाएर रिसाईकल गर्न मिल्ने झिक्छौं । कुहिनेलाई मल बनाउने योजना छ ।’

तत्काल प्रयोग हुन नसक्ने अवस्थामा रहेका, फालिएका वा सडेगलेका, वातावरणमा हस आउनेगरी निस्कासन गरिएका ठोस, तरल, ग्या“स, लेदो, धु“वाधुलो, विधुतिय तथा सूचना प्रविधिका लागी प्रयोग भएका घरेलु, औधोगिक, रसायनिक, स्वास्थ्य संस्थाजन्य वा हानिकारक सामाग्रीलाई फोहरमैला भनिन्छ ।

फोहरमैला ब्यवस्थापन ऐन ०६८ ले फोहरमैलाको ब्यवस्थापन गर्न, स्थानन्त्रण केन्द्र, ल्याण्डफिल साईट, प्रशोधन प्लान्ट, कम्पोष्ट प्लान्ट, वायोग्या“स प्लान्ट लगाएत फोहरमैलाको संकलन, अन्तिम विर्सजन तथा प्रशोधनकालागी आवश्यक पूर्वाधार एवं संरचनाको निर्माण र संञ्चालन गर्ने जिम्मेवारी स्थानिय निकायलाई तोकेको छ । तर जननिर्वाचित प्रतिनिधीहरुले समेत धार्मिक तथा पर्यावरणीय दृष्टीले संवेदनशील कालीगण्डकी नदीमा जैविक तथा मानव स्वास्थ्य, जीवजन्तु एवं वातावरणमा गम्भीर असर गर्ने औधोगिक, रासायनिक, औषधीजन्य फोहर फाल्न र अझ आगो लगाउन छोडेका छैनन ।