पुनहिल– अन्नपूर्ण चक्रिय पदमार्गको प्रख्यात गन्तब्य पुनहिल पुग्ने पदमार्गमा पक्की मोटरबाटो निर्माण हुने भएको छ । आईतवार प्रतिनिधी सभा सदस्य भुपेन्द्रबहादुर थापाले पोखरे–चित्रे सडक स्तरउन्नती गर्न पक्की मोटरबाटो शिलन्यास गरे ।
सरकारले हालै घोषणा गरेको मुलुकका उत्कृष्ट सय पदयात्रा गन्तब्यमा समावेश भएको पुनहिल पुग्ने तातोपानी–घोडेपानी खण्डको पदमार्ग मोटरबाटोले छिन्नभिन्न भएको छ । वैकल्पिक पदमार्ग निर्माण नगरी कच्ची मोटरबाटोमा गुड्ने ट्याक्टर र गाडीले उडाएको धुलोले पदमार्गका यात्रु कुहिरोले छोपिएर यात्रा गर्न बाध्य छन ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले भुकम्प प्रभावित अन्र्तगत अन्नपूर्ण गाउँपालिका, ६ घारको पोखरेबगरबाट सोही वडाको चित्रेसम्म १८ किमी ५ सय मिटर कच्ची सडकमा सव वेस/वेस र कालोपत्रे सडक निर्माण गर्न थालेको हो । सडकको अन्तिम विन्दु चित्रेबाट ४० मिनेटमा घोडेपानी पुनहिल पुग्न सकिन्छ ।
कालोपत्रे सडक निर्माणले पर्यटकीय गन्तब्य घोडेपानी/पुनहिल पुग्ने पर्यटकको संख्या थप बृद्धी हुने छ, घट्ने छैन । पदयात्रुकालागी वैकल्पिक पदमार्ग निर्माण गर्न पहल सुरु गरेका छौं’ सडक स्तरउन्नती गर्ने कामको शिलन्यास गर्दै सांसद थापाले भने, ‘जुन उत्साहकासाथ सडक खन्न शिलन्यास भएको छ, ठेकदारको विदाई पनि यसैगरी गर्ने वातावरण सवैबाट मिलाउँ ।’
पोखरेवगर–घार–खिवाङ–शिख–चित्र १८.५ किमी सडक स्तर उन्नत गर्न ३६ करोड ६९ लाख ५८ हजार लागत अनुमान गरिएकोमा काठमाण्डौको मोतिदान/जयमाता जेभीले मुल्यअभिवृद्धि करसहित २७ करोड ९१ लाख ३५ हजारमा ठेक्का लिएको हो । सडक स्तरोन्नती गर्दा ठेकदारले ढुङ्गामाटो काट्ने, ग्यावीन वाल लगाउने, मेसिनरी वाल लगाउने, ह्युमपाईप लगाउने, आरसीसि गर्ने, सव वेस/वेस र कालोपत्रे गर्ने, स्टोन सोलिङ्ग र आरसिसी गर्ने कार्य तोकिएको छ । तर सडकमा कहींपनि ड्रेन खन्ने (नाली बनाउने) उल्लेख गरिएको छैन ।
‘मोटरबाट अव सवैको आवश्यकता बन्यो । पर्यटकको परिभाषा पनि फेरिदै जान थालेको छ । पदयात्रा रुची राख्नेकालागी वैकल्पिक मार्ग छ’ घोडेपानीका पर्यटन ब्यवसायी समेत रहेका अन्नपूर्ण गाउँपालिका अध्यक्ष डमबहादुर पुनले भने, ‘यो सडक अन्नपूर्ण गापा ६ र ७ को मात्र होईन कास्कीको घान्दुक र उल्लेरी क्षेत्रको पनी लाईफलाईन बन्न सक्छ ।’