FLASH NEWS
  • Loading...

कर्मचारी आन्दोलनले स्थानीय तह प्रभावित

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३६३ पटक पढिएको
कर्मचारी आन्दोलनले स्थानीय तह प्रभावित

कर्मचारी समायोजन गर्दा निजामति कर्मचारी सरह सेवा सुविधा र अवसर माग गर्दै कर्मचारी आन्दोलनमा उत्रेपछि जिल्लाका सवै स्थानीय तहको सेवा प्रभावित भएका छन ।

स्थानीय निकायको श्रोतबाट तलव भत्ता पाउँदै आएका कर्मचारीलाई वेवास्ता गर्दै सरकारले हालै जारी गरेको कर्मचारी समायोजन अध्यादेश, ०७५ ले निजामती कर्मचारीलाई एक तह बढुवाको सुविधा दिएको भन्दै आन्दोलनमा उत्रेका हुन । अध्यादेशले स्थानीय कर्मचारीलाई बढुवा लगाएत कुनै सुविधा नदिएको प्रति स्थानीय कर्मचारी असन्तुष्ट भएका हुन ।

‘कर्मचारी समायोजन हुँदा स्थानीय र निजामती कर्मचारी समान तरिकाले समायोजन हुनुपर्‍यो’ स्थानीय तह कर्मचारी हकहित समवन्य समिति म्याग्दीका अध्यक्ष हरी आचार्यले भने, ‘अध्यादेश विभेदकारी रह्यो । उस्तै काम र सेवामा सँगै कार्यरत हामी कर्मचारीलाई विभेद गरियो । हामी पनि प्रतिस्पर्धाबाट नियुक्त भएका हौं, खाली तलवभत्ता मात्र स्थानीय तहबाट लिएका हौं ।’

समाकक्षताको विषयमा स्थानीय तह कर्मचारीको मानमर्दन गरेर निजामती कर्मचारीलाई बढुवा गरिएको आरोप पनि स्थानीय कर्मचारीहरुको छ । केन्द्रका कनिष्ट कर्मचारी समायोजन भएर स्थानीय तह र प्रदेशमा वरिष्ठ कर्मचारीसरह जिम्मेवारी पाएर आउने हुँदा स्थानीय कर्मचारी मर्कामा परेका हुन ।

‘सरकारले स्थानीय कर्मचारीलाई बेवास्ता गरेर ल्याएको कर्मचारी समायोजन अध्यादेश विरुद्धमा हाम्रो आन्दोलन हो’ बेनी नगरपालिका, ५ का वडासचिव कृष्णबहादुर बानियाँले भने, ‘वर्षौं काम गरेका स्थानीय कर्मचारीलाई बेवास्ता गरेर निजामती कर्मचारीलाई बढुवा गरेर ल्याइँदा स्थानीय कर्मचारी मर्कामा परेका छन् ।’