- Loading...
बेंशी झर्दै भेडीगोठ
- पुनहिल डट कम
- ६ साल अघि
- ३३८ पटक पढिएको

पुनहिल– ‘झ्यारुङ्गोमा पाठा बोकेर भेडाको बथान धपाउँदै उँधौली/अभौली गर्न थालेको पनि ४२ बर्ष वितेछ’ खुल्ला आकाशमुनीको अगेनोमा भेडाको दुध बसाल्दै ५५ बर्षिय खड्गबहादुर पुर्जा मगरले सम्झे,–‘१३ बर्षको कलिलो उमेरदेखी नै भेडासँगै फिरन्ते जीवन चलेको छ, श्रीमति र छोराछोरीसँगको भेट दशैं–तिहार जस्तै ।
नाङ्गो आकाशमुनी तुसारोले लछप्पै भिजेको खुल्ला फाँटमा गोठ छ । वरीपरी भेडाको बथान विचमा अगेनो र छेवैमा ओछ्यान । शिरानमा छ, झ्यारुङ्गो । अगेनो नजिकै घोचो गाडेका छन, त्यहीँ झुण्डिएको छ, जापानी फिलिप रेडियो । लेखबेंशीका जुन चरन क्षेत्रमा पुगेपनि देशविदेशका खवर पुर्जासम्म ल्याउने माध्यम । यही रेडियो नै एक्लो जीवनको भरपर्दो सहयात्री । ‘मेरो आधा अङ्ग नै यही रेडियो हो । जुन ठाउँमा पुगेपनि रेडियो नेपाल आउँछ । यहीका समाचार, गीतसंगितले दुख विर्साउँछ’ रेडियोको कान बटार्दै पुर्जाले सुनाए
।
मगर जस्ता सयौं भेडागोठालाहरु हिमाली क्षेत्रका चरन क्षेत्रमा अधिक चिसो बढेपछि न्यानो खोज्दै वेंशी फाँटमा झरेका छन । हिमाली क्षेत्रका चरन क्षेत्र बुक्यानबाट जाडो छल्न भेडा धपाउँदै झरेका भेडागोठालाहरु बेंशीका फाँटमा खुल्ला आकाशमुनी पनि न्यानो मानेका छन गोठालाहरुकालागी वर्षायाम भन्दा हिउंदका दिन बढी कष्टकर मानिन्छ । बर्षासमयमा बढी चरनहुने हुंदा भेडा चर्न टाढा पुग्दैनन् । ‘भेडा चर्न टाढा नगएपछि दिनभर गोठमा बसेर आराम गर्न पाईन्छ । तर हिंउंदमा भने चरनको खोजीमा टढा–टाढा सम्म पुग्नेहुंदा पछिपछि हिंड्नु पर्छ’ भेडा चरनको दैनिकी सुनाउदंदै अर्का भेडा गोठाला लोकबहादुर चोचाङ्गीले सुनाए ।
जिल्ला भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार जिल्लाका एक सय ९३ जनाले परम्परागत तरिकाले फिरन्ते शैलीमा भ्याङ्लुङ्ग र बरुवाल जातका १४ हजार रैथाने भेडा पाल्दै आएका छन । अन्नपूर्ण गाउँपालिकाको शिख, नारच्याङ, दाना, दोवा रघुगंगा गापाको बेगखोला, भगवती, चिमखोला, कुईने–मंगले र धौलागिरी गाउपाको मल्कवाङ्ग, मुदी, मुना, लुलाङ्ग र गुर्जा भेडापालन पकेट क्षेत्र हुन । जिल्लामा अहिले भेटनरी अस्पताल तथा पशु सेवा कार्यालयले २० वटाभन्दा बढी भेडा पाल्नेलाई ब्यवसायीक मानेको छ । भेडासँगै मिलाएर खुल्ला तरिकाले पालिएका ८ हजार बाख्रा पनि छन । घर–घरमा पालिने खोरपाला भेडाबाख्राको गणना छैन ।
फिरन्ते भेडाबाख्रा बजार पुर्याउने झन्झट छैन । गाउँ–गाउँमा गरिने भूमेपुजा, बराह पुजा, विभिन्न जाति, जनजाहिरुको कुलपुजामा भेडाको वलीदिएर पुजा गर्न स्थानियले गोठबाटै खोसाखोस गर्छन । खयरबराह, प्यारीवराह, रिखारबराह, ढोरपाटनको ढोरबराह, विमको मालिका मन्दीर, दानाको भूमे, चिमखोलाको मण्डलीभूमे, गुर्जाको बराह ठूला र बढी भेडाको वली चढाईने मन्दीर हुन । यी मन्दीरहरुमा बर्षमा सयौंको संख्यामा भेडाको वली दिने चलन छ । गाउँ–गाउँमा लाग्ने यस्ता पुजाअर्चनाहरु फिरन्ते भेडीगोठकालागी बोका तथा भेडाको साँढ ब्यापार गर्ने गतिलो अवसर हो । एक सिजनमा एक गोठले ७५ हजारदेखी ५ लाख मुल्य बराबरको भेडा, बोकाको विक्री गर्छन । बुढाभेडीहरुलाई नजिकका गाउँमा विक्रि गर्ने गरिएको छ ।
जिल्लामा माशु खाने औषत दर बढी भएकोले पनि धार्मिक गतिविधीमा वली चढाउने प्रथा बढी भएको हुन सक्छ । विश्व स्वास्थ्य संगठनले प्रति ब्यक्ति बार्षिक १४ केजी माशु खानु राम्रो हुने बताएपनि म्याग्दीमा भने बार्षिक प्रति ब्यक्ति २० केजी माशु उपभोग हुने गरेको छ । कार्यलयको तथ्याड्ढ अनुसार जिल्लामा माशुको माग बार्षिक प्रर्तिब्यक्ति ३० केजी रहेपनि २० केजीमात्र आपूर्ति भैरहेको छ । जिउँदो भेडाको ब्यापार मात्र होईन भेडाको ऊनको पनि राम्रो ब्यापार हुने गरेको छ । पशु सेवा कार्यालयको तथ्याड्ढ अनुसार गतबर्ष जिल्लाबाट तीन हजार आठ सय क्वीन्टल ऊन विक्रि भएको थियो । यहाँ उत्पादित ऊन खस्रो भएकोले मुल्य भने पाउन सकेको छैन ।
फिरन्ते भेडालाई बेंशीको वस्तीमा चरनको अभाव छ । सामुदायिक बनको विस्तारले चरन क्षेत्र साँघुरिएपछि चरन समस्या भएको हो । सामुदायिक वन विकाससँगै चितुवा, बाघ, भालु जस्ता बन्यजन्तु बढेकोले भेडाबाख्राको सुरक्षामा समस्या थपिएको छ । हिमाली चरनक्षेत्रदेखी बेंंशीका फाँटमासमेत चितुवा र बाघले अघिलो बर्ष १२ वटा गोठमा आक्रमण गरेको थियो ।
त्यति मात्र होईन चरन क्षेत्रमा वनमारा र अन्य विषालु झार फैलिनु र फागुन–बैशाखमा वनमा लाग्ने/लगाईने डढेलोले पनि फिरन्ते भेडालाई चरनमा समस्या छ । भेडालाई चरनको मात्र होईन, सरुवा रोग समस्या भएको छ । जलवायु परिवर्तनसँगै बढेको तापक्रमको प्रभावले बेंशीमा मात्र देखिने खोरेत, निमोनिया, पिपीआर जस्ता रोगहरु हिमाली क्षेत्रमा पनि देखिन थालेको छ ।
साँघुरिएको चरन क्षेत्र, वन्यजन्तुको बढ्दो आक्रमण र भेडाबाख्रामा हिमाली चरन क्षेत्रसम्मै देखिन थालेको सरुवा रोगबाट बच्न परम्परागत फिरन्ते शैलीका भेडागोठलाई ब्यवसायीक योजना सहित पाल्नु पर्ने देखिएको छ । परम्परागत फिरन्ते भेडागोठलाई संगठित पार्दै ब्यवसायीक योजनासहित गोठसुधारमा काम गर्न स्थानीय तहले योजना बनाउनु पर्ने देखिएको छ ।
परम्परागत फिरन्ते भेडा पालन ब्यवसायलाई ब्यवस्थापन गर्न केन्द्रीय भेडाबाख्रा प्रर्वद्धन कार्यक्रम र चरनखर्क निती २०७१ ल्याएपनि ब्यवहारमा लागु भएको छैन । कृषी, पशु सेवा र वन कार्यालयविच समवन्यात्मक कार्यक्रम नहुँदा एक कार्यालयको कार्यक्रममा अर्को कार्यलय बाधक बन्ने गरेको छ ।
‘परम्परागत भेडापालन पद्धतिमा सुधार आउन आवश्यक छ । बर्षभरी आफ्ना गाईवस्तुको मुखमा बुझो लगाएर हुर्काएको सामुदायिक वनमा कसैले कठैबरा भनेर भेडालाई खुल्ला चरन दिँदैन’ भेटेनरी अस्पताल म्याग्दीका प्रमुख जीवन आचार्यले भने, ‘वसाई–सराईले खाली भएका बेंशीका जग्गामा घाँसखेती गर्ने र नजिक कवुलियती वन विकासगरी भेडाको चरन ब्यवस्थापन गर्न पर्छ ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
