आज:  | Sat, 02, Jul, 2022

बेंशी झर्दै भेडीगोठ

११ मंसिर २०७५, मंगलवार ०९:३३ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता
पुनहिल– ‘झ्यारुङ्गोमा पाठा बोकेर भेडाको बथान धपाउँदै उँधौली/अभौली गर्न थालेको पनि ४२ बर्ष वितेछ’ खुल्ला आकाशमुनीको अगेनोमा भेडाको दुध बसाल्दै ५५ बर्षिय खड्गबहादुर पुर्जा मगरले सम्झे,–‘१३ बर्षको कलिलो उमेरदेखी नै भेडासँगै फिरन्ते जीवन चलेको छ, श्रीमति र छोराछोरीसँगको भेट दशैं–तिहार जस्तै ।

नाङ्गो आकाशमुनी तुसारोले लछप्पै भिजेको खुल्ला फाँटमा गोठ छ । वरीपरी भेडाको बथान विचमा अगेनो र छेवैमा ओछ्यान । शिरानमा छ, झ्यारुङ्गो । अगेनो नजिकै घोचो गाडेका छन, त्यहीँ झुण्डिएको छ, जापानी फिलिप रेडियो । लेखबेंशीका जुन चरन क्षेत्रमा पुगेपनि देशविदेशका खवर पुर्जासम्म ल्याउने माध्यम । यही रेडियो नै एक्लो जीवनको भरपर्दो सहयात्री । ‘मेरो आधा अङ्ग नै यही रेडियो हो । जुन ठाउँमा पुगेपनि रेडियो नेपाल आउँछ । यहीका समाचार, गीतसंगितले दुख विर्साउँछ’ रेडियोको कान बटार्दै पुर्जाले सुनाए ।

मगर जस्ता सयौं भेडागोठालाहरु हिमाली क्षेत्रका चरन क्षेत्रमा अधिक चिसो बढेपछि न्यानो खोज्दै वेंशी फाँटमा झरेका छन । हिमाली क्षेत्रका चरन क्षेत्र बुक्यानबाट जाडो छल्न भेडा धपाउँदै झरेका भेडागोठालाहरु बेंशीका फाँटमा खुल्ला आकाशमुनी पनि न्यानो मानेका छन गोठालाहरुकालागी वर्षायाम भन्दा हिउंदका दिन बढी कष्टकर मानिन्छ । बर्षासमयमा बढी चरनहुने हुंदा भेडा चर्न टाढा पुग्दैनन् । ‘भेडा चर्न टाढा नगएपछि दिनभर गोठमा बसेर आराम गर्न पाईन्छ । तर हिंउंदमा भने चरनको खोजीमा टढा–टाढा सम्म पुग्नेहुंदा पछिपछि हिंड्नु पर्छ’ भेडा चरनको दैनिकी सुनाउदंदै अर्का भेडा गोठाला लोकबहादुर चोचाङ्गीले सुनाए ।

जिल्ला भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार जिल्लाका एक सय ९३ जनाले परम्परागत तरिकाले फिरन्ते शैलीमा भ्याङ्लुङ्ग र बरुवाल जातका १४ हजार रैथाने भेडा पाल्दै आएका छन । अन्नपूर्ण गाउँपालिकाको शिख, नारच्याङ, दाना, दोवा रघुगंगा गापाको बेगखोला, भगवती, चिमखोला, कुईने–मंगले र धौलागिरी गाउपाको मल्कवाङ्ग, मुदी, मुना, लुलाङ्ग र गुर्जा भेडापालन पकेट क्षेत्र हुन । जिल्लामा अहिले भेटनरी अस्पताल तथा पशु सेवा कार्यालयले २० वटाभन्दा बढी भेडा पाल्नेलाई ब्यवसायीक मानेको छ । भेडासँगै मिलाएर खुल्ला तरिकाले पालिएका ८ हजार बाख्रा पनि छन । घर–घरमा पालिने खोरपाला भेडाबाख्राको गणना छैन ।

फिरन्ते भेडाबाख्रा बजार पुर्‍याउने झन्झट छैन । गाउँ–गाउँमा गरिने भूमेपुजा, बराह पुजा, विभिन्न जाति, जनजाहिरुको कुलपुजामा भेडाको वलीदिएर पुजा गर्न स्थानियले गोठबाटै खोसाखोस गर्छन । खयरबराह, प्यारीवराह, रिखारबराह, ढोरपाटनको ढोरबराह, विमको मालिका मन्दीर, दानाको भूमे, चिमखोलाको मण्डलीभूमे, गुर्जाको बराह ठूला र बढी भेडाको वली चढाईने मन्दीर हुन । यी मन्दीरहरुमा बर्षमा सयौंको संख्यामा भेडाको वली दिने चलन छ । गाउँ–गाउँमा लाग्ने यस्ता पुजाअर्चनाहरु फिरन्ते भेडीगोठकालागी बोका तथा भेडाको साँढ ब्यापार गर्ने गतिलो अवसर हो । एक सिजनमा एक गोठले ७५ हजारदेखी ५ लाख मुल्य बराबरको भेडा, बोकाको विक्री गर्छन । बुढाभेडीहरुलाई नजिकका गाउँमा विक्रि गर्ने गरिएको छ ।

जिल्लामा माशु खाने औषत दर बढी भएकोले पनि धार्मिक गतिविधीमा वली चढाउने प्रथा बढी भएको हुन सक्छ । विश्व स्वास्थ्य संगठनले प्रति ब्यक्ति बार्षिक १४ केजी माशु खानु राम्रो हुने बताएपनि म्याग्दीमा भने बार्षिक प्रति ब्यक्ति २० केजी माशु उपभोग हुने गरेको छ । कार्यलयको तथ्याड्ढ अनुसार जिल्लामा माशुको माग बार्षिक प्रर्तिब्यक्ति ३० केजी रहेपनि २० केजीमात्र आपूर्ति भैरहेको छ । जिउँदो भेडाको ब्यापार मात्र होईन भेडाको ऊनको पनि राम्रो ब्यापार हुने गरेको छ । पशु सेवा कार्यालयको तथ्याड्ढ अनुसार गतबर्ष जिल्लाबाट तीन हजार आठ सय क्वीन्टल ऊन विक्रि भएको थियो । यहाँ उत्पादित ऊन खस्रो भएकोले मुल्य भने पाउन सकेको छैन ।फिरन्ते भेडालाई बेंशीको वस्तीमा चरनको अभाव छ । सामुदायिक बनको विस्तारले चरन क्षेत्र साँघुरिएपछि चरन समस्या भएको हो । सामुदायिक वन विकाससँगै चितुवा, बाघ, भालु जस्ता बन्यजन्तु बढेकोले भेडाबाख्राको सुरक्षामा समस्या थपिएको छ । हिमाली चरनक्षेत्रदेखी बेंंशीका फाँटमासमेत चितुवा र बाघले अघिलो बर्ष १२ वटा गोठमा आक्रमण गरेको थियो । त्यति मात्र होईन चरन क्षेत्रमा वनमारा र अन्य विषालु झार फैलिनु र फागुन–बैशाखमा  वनमा लाग्ने/लगाईने डढेलोले पनि फिरन्ते भेडालाई चरनमा समस्या छ । भेडालाई चरनको मात्र होईन, सरुवा रोग समस्या भएको छ । जलवायु परिवर्तनसँगै बढेको तापक्रमको प्रभावले बेंशीमा मात्र देखिने खोरेत, निमोनिया, पिपीआर जस्ता रोगहरु हिमाली क्षेत्रमा पनि देखिन थालेको छ ।साँघुरिएको चरन क्षेत्र, वन्यजन्तुको बढ्दो आक्रमण र भेडाबाख्रामा हिमाली चरन क्षेत्रसम्मै देखिन थालेको सरुवा रोगबाट बच्न परम्परागत फिरन्ते शैलीका भेडागोठलाई ब्यवसायीक योजना सहित पाल्नु पर्ने देखिएको छ । परम्परागत फिरन्ते भेडागोठलाई संगठित पार्दै ब्यवसायीक योजनासहित गोठसुधारमा काम गर्न स्थानीय तहले योजना बनाउनु पर्ने देखिएको छ ।परम्परागत फिरन्ते भेडा पालन ब्यवसायलाई ब्यवस्थापन गर्न केन्द्रीय भेडाबाख्रा प्रर्वद्धन कार्यक्रम र चरनखर्क निती २०७१ ल्याएपनि ब्यवहारमा लागु भएको छैन । कृषी, पशु सेवा र वन कार्यालयविच समवन्यात्मक कार्यक्रम नहुँदा एक कार्यालयको कार्यक्रममा अर्को कार्यलय बाधक बन्ने गरेको छ ।‘परम्परागत भेडापालन पद्धतिमा सुधार आउन आवश्यक छ । बर्षभरी आफ्ना गाईवस्तुको मुखमा बुझो लगाएर हुर्काएको सामुदायिक वनमा कसैले कठैबरा भनेर भेडालाई खुल्ला चरन दिँदैन’ भेटेनरी अस्पताल म्याग्दीका प्रमुख जीवन आचार्यले भने, ‘वसाई–सराईले खाली भएका बेंशीका जग्गामा घाँसखेती गर्ने र नजिक कवुलियती वन विकासगरी भेडाको चरन ब्यवस्थापन गर्न पर्छ ।’