आज:  | Thu, 30, Jun, 2022

धान थन्क्याउने चटारो

१२ कार्तिक २०७५, सोमबार १०:४३ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता
म्याग्दी–पहाडी भेगका अधिकांश कृषकलाई मुख्यवाली धान भित्राउने चटारो सुरु भएको छ । लेकाली क्षेत्रका धान खेतमा जेठ अन्तिम लाग्दो असारमै धान रोप्ने हुँदा मध्य असोजदेखी नै धान पाक्न सुरु हुन्छ ।मौषममा फेरवदल हुने जोखिम रहेकोले कृषक विहान, दिउँसो र रातीसम्मै धानवाली थन्क्याउन उद्दत छन । कालीगण्डकी र म्याग्दी नदी किनाराका फाँटमा भने धान पाक्न ठिक्क छ ।‘वाली थन्क्याउने समय ख्याल गर्ने र भोली भन्ने वेला होईन । मौषमी खेतीमा निर्भर हाम्रो कृषी प्रणालीमा घामपानीको संकेत बुझ्न नसके बर्षभरीको मेहनत क्षणभरमा नष्ट हुन्छ’ घारका कृषक श्याम खड्काले भने, ‘कात्तिकका कम्तीमा २० दिन कृषकलाई भोक, निद्रा र थकाई लाग्ने वेला होईन । धान काट्ने र थन्क्याउने चटारो छ ।’जिल्लामा १ हजार ८ सय मिटर उचाईमा अवस्थित घार र मुनासम्म दर्माली, झिनुवा, मार्सी, कालो मार्सी, ताकमारे आदी रैथाने जातको धान खेती हुन्छ । घार उत्तरी भेगमा सवै भन्दा उचाईमा धान खेती हुने वस्ती हो । जिल्लाका धान खेतबाट चोटपटक लाग्दा र सुत्केरीकालागी लोकप्रिय खानाको रुपमा प्रयोग हुने अनदी धान, आडिलो र बढी चामल पर्ने मानिएको कालोमार्सी र आँगा धान लोपउन्मुख अवस्थामा पुगेको छ ।जिल्ला कृषी ज्ञान केन्द्रका अनुसार काली गण्डकी र म्याग्दी नदी किनाराका बगरफांट, रत्नेचौर, सिमलचौर, पिपलबोट, मौवाफाँट, पोखरेबगर, ताराखेत, सहस्रधारा, हिल्वाङ्ग जस्ता धानको पकेट क्षेत्रमा गौरिया, गुडुर, पोखरेली जेठोबुढो, र लुम्ले बास्मती तथा उपल्लो भेगका एक हजार ५ सयदेखी १ हजार ८ सय मिटर उचाईमा माछापुच्छ्रे–३ र छोम्रोङ्ग धान प्रचलनमा आएको छ ।ज्ञान केन्द्रका अनुसार जिल्लामा ३ हजार ८ सय ९५ हेक्टर क्षेत्रफलमा गरिने धानखेतीबाट ९ हजार ५ सय ६० मेट्रीक टन धानको उत्पादन हुन्छ । कुल धानखेती योग्य जमिनको १६ प्रतिशत क्षेत्रफलमा सिंचाई सुविधा छ ।‘जिल्लाको अधिकांश खेतमा परम्परागत विधीबाट रैथाने जातका धान खेती हुने र आकाशे पानीमा निर्भर छ । यस बर्ष आकासे पानी ठिक समयमा परेको र अन्त्य भएकोले धान उत्पादन राम्रो हुने अनुमान गरेका छौं’ ज्ञान केन्द्रका बागवानी अधिकृत भोजबहादुर थापाले भने, ‘कृषीको पुरानो संरचना भत्केको र नयाँ संरचना पूर्ण कार्यान्ययनमा आई नसकेकोले धानको अभिलेख ब्यवस्थित गर्न समस्या छ ।’