- Loading...
नमुना सामुदायीक पदमार्ग
- पुनहिल डट कम
- ६ साल अघि
- ५०५ पटक पढिएको

म्याग्दी– परम्परागत पर्यटनबाट निश्चित ब्यक्तिबाहेक समुदायले लाभ लिन नसकेपछि सुरु गरिएको ‘पर्यावरणीय गाउँ र सामुदायिक पदमार्ग’ मा पर्यटकको ओईरो लाग्न थालेको छ ।
अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङ्ग, ५ शिख/पाउद्धार, ६ खिवाङ्ग, ७ हिस्तान, ८ राम्चे/नागी र पर्वत जिल्लाको जलजला गाउँपालिका, १ बाँसखर्कका समुदाय मिलेर ७ बर्ष देखी अन्नपूर्ण–धौलागिरी सामुदायीक पदमार्ग संञ्चालनमा ल्याएका हुन । पदमार्ग क्षेत्रका बस्तीमा घरबास (होमस्टे), सामुदायीक होटल/लज उपलब्ध छन ।
सामुदायीक पदमार्ग प्रविधी मैत्री छ । बेनीबाट सुरु हुने पदमार्ग नागी, महरे, फुलवारी, हिस्तान, स्वाँता, खोप्रा र खयरवराह तालसम्म पुग्न सकिन्छ । अन्नपूर्ण–धौलागिरी सामुदायीक पर्यापदमार्गमा अन्नपूर्ण सर्किटका प्रख्याद पदमार्ग घोडेपानी, तातोपानी र घान्द्रुकबाट समेत जोडिएको छ ।
‘सामुदायीक पदमार्गको आकर्षणले पर्यटक बर्षेनी बढ्दै गएपछि हिजोआज अग्रिम बुकिङ्ग गर्न नसके पर्यटकको चापले होटलमा बास पाउन समेत मुस्किल भएको छ’ सामुदायीक पदमार्गका संयोजक चित्र तिलिजाले भने, ‘अधिकांश क्षेत्रमा होटल क्षमता बढाउन काम सुरु भएको छ ।’
बेनीबाट ४ किमी उत्तर घुमाउने तालबाट पूर्व लागेपछि सुरु हुन्छ, अन्नपूर्ण–धौलागिरी सामुदायीक पर्यापदमार्ग । घुमाउने तालबाट ३ घन्टा उकालो चढेपछि बाँसखर्क (१५२६ मी.) पुग्न सकिन्छ । अर्गानीक सुन्तला गाउँबाट परिचित बाँसखर्कमा साँझ सामुदायीक डाईनिङ्गमा खानापछि घरबासमा बाँडिएर सुत्ने ब्यवस्था छ ।
दोस्रो दिन बाँसखर्कबाट ३ घन्ता उकालो सल्लेरी वनको ढुङ्गा विच्छाएको चिटिक्क र मनोरम उकालो चढेपछि डाँडाकटेरी पुग्न सकिन्छ । डाँडाकटेरीमा समुदायले ब्यवस्थापन गरेको खाना र खाजा पाईने रेष्ट्रो छ । थप २ घन्टा छड्के उकालो चढेपछि पुग्न सकिन्छ, नागी गाउँ (२३२० मी.) । मगर जातीको बसोबास रहेको साँस्कृतिक गाउँ नागीमा सामुदायीक लज छन । यहाँ नि:शुल्क वाईफाई सेवा पाईन्छ । नागीबाट अन्नपूर्ण र धौलागिरी हिमालमा सूर्यास्तको दृष्य लोभलाग्दो देखिन्छ । नागीबाट यात्रा छोटो पार्न चाहने यात्रुले फलबारीबाट घोडेपानी तर्फ पनि लाग्न पनि सकिन्छ ।
तेस्रो दिन नागीबाट जंगल सफारी गर्दै ४ घन्टामा धिमाको डाँडा (हम्पाल) पुग्न सकिन्छ । यहाँ रहेको सामुदायीक डाईनिङ्ग हलमा लन्च गरी २ घन्टा थप उकालो चढेपछि महरेडाँडा (३३०० मि.) पुग्न सकिन्छ । यस मार्गमा पानी नपाईने हुँदा पानी र सामान्य चकलेट समेतका हल्का खानेकुरा यात्रुले बोकेर हिँड्नु उत्तम हुन्छ । पदमार्गमा प्रयाप्त पदसंकेतहरु टाँगिएको भएपनि समुह वा गाईड विना एक्लै हिँड्नु उपयुक्त हुँदैन । महरेमा ३० बेड क्षमताको सामुदायीक लज छ । फ्रि वाई फाई उपलब्ध छ । महरे अन्नपूर्ण–धौलागिरी हिमालय रेञ्जका सवै हिमालहरु पानोरोमिक भ्यू देख्न सकिन्छ । यहाँबाट सूर्योदय र सूर्यास्तको मनोरम दृष्य देख्न सकिन्छ । चरा अध्ययन गर्न चाहने पर्यटकहरुकालागी महरे थप आकर्षण हो ।
चौथो दिन महरेबाट ब्रेकफास्टगरी २ घन्टा ओरालो हिँडेर डाँडाखर्क/फुलवारी (२८२० मी) झर्न सकिन्छ । वा ३ घन्टा ओरालो/तेस्रो जंगलको बाटो हिँडेर घोडेपानी पनि जान सकिन्छ । अन्नपूर्ण–धौलागिरी सामुदायीक पर्यापदमार्गमा अन्नपूर्ण सर्किटका प्रख्याद पदमार्ग घोडेपानी, तातोपानी र घान्द्रुकबाट समेत जोडिएको छ ।
फुलवारी/डाडाखर्कमा गुराँसे जंगलको विचमा अवस्थित सुन्दर फाँटमा २० बेड क्षमताको सामुदायीक लज उपलब्ध छ । नजिकै नीजि तहबाट संञ्चालित लज तथा रेष्टुरेन्ट पनि उपलब्ध छ । डाँडाखर्क गुराँशे जंगल, हिमाल र चराचुरुङ्गी हेर्न आकर्षक स्थल छ ।
पाँचौ दिन डाँडाखर्कबाट ३ घन्टा हिँडेपछि ठूलाखर्क पुगिन्छ । यहाँ सानो स्थानीय रेष्टुरेन्ट छ, खाजाकालागी । ठूलाखर्कको छेवैमा सुन्दर प्यारीवराह ताल छ । ठूलाखर्कबाट यात्रा छोट्याउनु परेमा दुई घन्टा हिँडेर टिकोट (२२०० मि.) पुग्न सकिन्छ । परम्परागत अर्गानीक कृषी फर्महरु रहेको रमणीय मगर वस्ती टिकोटबाट संसारको सर्वाधिक गहिरो अन्ध गल्छीलाई राम्रोसँग देख्न सकिन्छ । छैठौं दिन टिकोटबाट ३ घन्टा ओरालो बैंसरी झरेरपछि बेनी–जोमसोम सडक भेटिन्छ । मोटरमा बेनीहुँदै पोखरा फर्कन सकिन्छ ।
महरेबाट लामो यात्रा गर्न फलाटेमा लन्चगरी स्वाँता वास बस्न पुग्न सक्छन । फलाटे घोडेपानी नजिकको पर्यटकीय वस्ती हो । महरेबाट ६ घन्टाको ओरालो र १ घन्टा उकालो चढेपछि स्वाँता (२२७० मी) पुग्न सकिन्छ । स्वातामा लज तथा रेष्टुरेन्ट र स्थानिय रेष्टुरेन्टहरु पनि पाईन्छ । स्वाता महर बस्ती हो । लुम्लेपछि बढी पानी पर्ने वस्ती स्वाँता अन्नपूर्ण सर्किट अन्र्तगत घोडेपानी–तातोपानी पदमार्गको पारीपट्टी अवस्थित छ ।
स्वातावाट अर्को दिन ३ घन्टा उकालो चढेपछि आहलखर्कमा लन्च गर्न सकिन्छ । यहाँ सामुदायीक डाइनिङ्ग छ । आहलखर्कबाट ३ घन्टा माथी चढेपछि ढाँडखर्क (३०२६ मि.) पुग्न सकिन्छ । ढाँडखर्कमा २० बेड क्षमताको सामुदायीक लज छ । होटलमा लघुजलविधुत र इन्टरनेट उपलब्ध छ ।
ढाँडखर्कबाट ४ घन्टा उकालो चढेपछि खोप्रा (३६६० मी) पुग्न सकिन्छ । खोप्राबाट अन्नपूर्ण, बराह र निलगिरी हिमाललाई नजिकैबाट देख्न सकिन्छ । धौलागिरी हिमालय रेञ्जको पानोरमा भ्यू पनि उस्तै नजिक र आकर्षक देखिन्छ । तल घोडेपानी, शिख, घार, खिवाङ्ग, दोवा, तातोपानी, दाना समेतका वस्तीहरुको एरियल भ्यू देख्न सकिन्छ । पोखरा–जोमसोम उडान भर्ने प्लेनहरु खुट्टामुनीबाट उडेजस्तो देखिन्छ । खोप्रामा लेकाली फुलहरु फुल्दा मनसुन ट्रेक अझ उपयुक्त छ । खोप्राबाट अन्ध गल्छीको नजिकैबाट देख्न सकिन्छ । खोप्रामा परम्परागत याक तथा भेडा गोठहरु भेटिन्छन । फ्रि वाईफाई, लघुजलविधुत र अन्य सुविधा उपलब्ध छन । खोप्रामा अन्नपूर्ण चक्रिय पदमार्गका प्रख्यात गन्तब्य पुनहिल र घान्द्रुकबाट समेत जोडिएको छ । खोप्राबाट पुनहिल वा घान्द्रुक जता गएपनि एक दिनमा पुग्न सकिन्छ ।
खोप्राबाट ६ घन्टा उकालो चढेपछि प्रशिद्ध खयरवराह ताल (४६३८ मी.) पुग्न सकिन्छ । खयरशिखरको फेदीमा अवस्थित खयरताल यात्रा गर्न खोप्राबाट प्याकिङ्ग खाना लैजानु पर्छ । विचमा नौलोवन तथा खयरखोलामा फिरन्ते चौरी तथा भेडा गोठ पाइनछन । क्याम्पट्रेक पनि गर्न सकिनछ । खयरतालबाट खोप्रा फर्कन ४ घन्टा लाग्छ । खयरवराह तालमा जनैपूर्णिमामा ठूलो धार्मिक मेला लाग्छ ।
खोप्राबाट दुई बाटोबाट फर्कन सकिन्छ । पहिलो खोप्राबाट ४ घन्टा ओरालो पाउद्धार गाउँ झर्ने वा ५ घनटा ओरालो हिँडेर नारच्याङ्ग गाउँ ओर्लने । पाउद्धार झरेमा अर्को दिन थप ३ घन्टा ओरालो घारखोला ओर्लेर मोटरबाटो भेट्न सकिन्छ ।
पदमार्गभरी स्थानिय गाईड वा पोटर पाउने सकिन्छ । प्राय: पदमार्गका होटल तथा रेष्टुरेन्ट छुट्टाछुट्टै वस्तका समुदायले ब्यवस्थापन गर्छन । ती सामुदायीक लज तथा रेष्टुरेन्टको आम्दानी ति वस्तीले सामुदायीक काममा खर्च गर्छन । तर सवै वस्तीका समितिलाई मुल ब्यवस्थापन समितिमार्फत गाईड गरिएको हुन्छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
