आज:  | Thu, 30, Jun, 2022

घोडेपानी होटल पर्यटकले भरिभराउ

८ कार्तिक २०७५, बिहीबार ०७:५६ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता
पुनहील – अनुकुल मौषमले अन्नपूर्ण पदमार्गको उत्कृष्ट गन्तब्य पुनहिल र संसारकै गहिरो अन्ध गल्छीको तातोपानीका सवै होटल/गेष्टहाउसहरु पर्यटकले खचाखच छन ।पदयात्राका लागी विश्वकै १० उत्कृष्ट क्षेत्र मानिएको पुनहिल म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ६ घोडेपानीमा पर्छ । ईलाका प्रहरी कार्यालय घोडेपानीको तथ्याड्ढ अनुसार अहिले दैनिक करिव तिन सय पर्यटक घोडेपानी भित्रन्छन ।‘यो सिजनमा दैनिक तीन सयको हाराहारीमा पर्यटक सूर्योदयको दृश्य हेर्न पुनहिलमा आउँछन होला’ घोडेपानीका पर्यटन ब्यवसायी टेकसर बुद्धुजा मगरले भने, ‘आन्तरिक पर्यटक पनि उल्लेख्य आउँछन ।’३ हजार दुई सय १० मिटर उचाईमा अवस्थित पुनहिल डाँडो धौलागिरी र अन्नपुर्ण हिमालको घेरो र सुर्योदय तथा सुर्यास्त हेर्नलाई परिचित छ । ढुङ्गाईलो बाटोको दायाँवायाँ झ्याउले ढाकिएका बुढा गुराँसका रुख, तिनमा चढेर चचर्हुइ गरिरहेका बाँदर, चराको चिरविरले उकालो पुनहिल पदयात्राको अर्को विषेशता हो ।‘अन्नपूर्ण पदमार्गका हरेक पाईलामा मैले संसारको एक अनुपम सौन्दर्य दखें’ घान्द्रुकहुंदै घोरेपानी आई पुगेका बेल्जियमका क्रिस्तोभले पुनहिलको सिरेटोमा तात्तातो कफीको सुर्की लगाउँदै सुनाए ।वरीपरीका उल्लेरी, राम्चे, नाङ्गी, हिस्तान, खिवाङ्ग, शिख, हिस्तान, स्वांत आदी गाउँमा पुन (मगर) को वाहुल्य छ । तिनीहरुकै डाँडो भएकोले  पुन(मगर) हिल (डाँडो) भनिएको हो । नयाँ नामाकरण गर्नु पहिले यस डाँडोलाइ स्थानियले लुङतुङ डाँडो भन्ने गर्थे ।२०२३/२५ सालताका खिवाङ्ग गाउँका भारतिय सेनाबाट रिटार्यड लाहुरे गोठालो जानेक्रममा लुङतुङ डाँडो पुगे । त्यहाँबाट धौलागिरि, नीलगिरी, अन्नपुर्ण, लमजुङ्ग, माछापुच्छ्रे हिमालको मनोरम दश्यदेखेपछि सानो टिनमा ‘वे टु पुनहिल’ अंगारले लेखेर डाँडो तर्फ पर्यटकलाई डोर्‍याए । तिनताक घोडेपानीमा एउटा भकारीको गोठ मात्र थियो भने मुस्ताङ्ग जान आक्कल–झुक्कल बर्षमा दुई जार जना पर्यटक आउंथे ।त्यसैगरी कालिगण्डकी नदी कटानबाट बनेको संसारको सर्वाधिक गहिरो गल्छी (८ हजार ९१ मिटर गहिरो) तातोपानीका होटलहरु पनि आन्तरिक तथा बाह्य पर्यटक खचाखच भरिएका छन् । अन्नपूर्ण फन्को मार्न आएका पर्यटक र मोटरको सुगमताले दशैंतिहारको छुट्टी मनाउन आएका आन्तरिक पर्यटकको भीडले तातोपानीका होटल तथा गेष्टहाउसहरु खचाखच भएका हुन् । परम्परागत मान्यता विपरित शहरी क्षेत्रका तन्नेरी पुस्ता चाडवाडको समयलाई नयाँ—नयाँ स्थानको यात्रा गर्ने संस्कृति मौलाउँदै गएको छ । बैदेशिक रोजगारीमा पुगेका नेपालीबाट भित्रने विप्रेषणबाट उकासिएको आर्थिक हैसिएतले हाम्रो सामाजिक जीवन शैलीमा समेत ब्यापक परिवर्तन ल्याएको छ ।