- Loading...
मोडर्ना खोप : १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिने निर्णय
- पुनहिल डट कम
- २ साल अघि
- ३१४ पटक पढिएको
सरकारले कोभिडविरुद्धको खोप मोडर्ना पनि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिने निर्णय गरेको छ । यसअघि अर्को खोप फाइजर पनि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिइएको थियो ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखा प्रमुख सागर दाहालले आइतबार बसेको खोप सल्लाहकार समितिको बैठकबाट मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिने निर्णय गरेको बताए । उनले यो खोप अबको एक साता भित्रै लगाउन सुरु गर्ने तयारी रहेको बताए ।
दाहालका अनुसार मोडर्ना खोप सात महिनासम्म भण्डारण गर्नुपर्दा माइनस १५ देखि २५ डिग्री सेल्सीयसमा राख्नुपर्ने भएपनि एक महिनासम्मका लागि भने खोपका लागि सामान्य मानिने २ देखि ८ डिग्री तापक्रम राख्न सकिन्छ । त्यसैले यो खोप गाँउ गाँउका विद्यालयमा लगेर दिने योजना रहेको समेत उनले सुनाए ।
‘कोभ्याक्स सुविधा अन्तरगर्त अहिले मोडर्ना खोप १ लाख ८८ हजार डोज आएको छ । त्यसैले यो खोप पनि बालबालिकाहरुका लागि पर्याप्त हुँदेन । तर सामान्य तापक्रममा लैजान मिल्ने हुनाले यसलाई गाँउ गाँउका विद्यालयमा पु र्याएर लगाउने भन्ने योजना बनेको छ । कहाँ कहाँ लैजाने भन्ने बारेका जानकारी केही दिनमै सार्वजनिक गर्नेछौँ,’ उनले भने ।
दाहालले केही दिनमै थप ६ लाख डोज फाइजर खोप पनि आउने भएकोले शहरी क्षेत्रका विद्यालयमा फाइजर र ग्रामिण क्षेत्रका मोर्डना गर्ने कि भन्ने विषयमा समेत छलफल भएको सुनाए ।
मोडर्ना खोप पनि २८ दिनको अन्तरमा दुई डोज लगाउनु पर्छ । यसअघि १८ वर्ष माथिका व्यक्तिलाई दिइदै आएको मोर्डना खोपलाई केही महिना अघि विश्व स्वास्थ्य संगठनले १२ वर्ष माथिकालाई दिन मिल्ने अनुमति दिएको थियो । विश्व स्वास्थ्य संगठनको अनुमति पछि नेपालले पनि बालबालिकालाई दिने निर्णय गरेको हो ।