FLASH NEWS
  • Loading...

कांग्रेस महाधिवेशनको मञ्चमा ओली, दाहाल र नेपाल !

  • पुनहिल डट कम
  • २ साल अघि
  • ९८ पटक पढिएको
कांग्रेस महाधिवेशनको मञ्चमा ओली, दाहाल र नेपाल !

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल करिब १ वर्षपछि एउटै मञ्चमा देखिने भएका छन् । शुक्रबार भृकुटीमण्डपमा हुने कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहमा दाहाल र ओलीसहित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पनि सँगै देखिने भएका छन् ।

रुघाखोकीका कारण बिहीबार प्रेस चौतारीको एउटा कार्यक्रममा नगएका ओली शुक्रबार भने कांग्रेस महाधिवेशनमा सहभागी हुने प्रेस संयोजक रामशरण बजगाईंले बताए । पुस ५ गते पहिलो पटक प्रतिनिधिसभा विघटन गरेसँगै ओली र दाहाल एउटै मञ्चमा देखिन छाडेका छन् । तत्कालीन नेकपा सचिवालयको ७० औं बैठकमा ओलीमाथि दर्जनौं संगीन आरोप लगाउँदै दाहालले प्रस्ताव पेस गरेपछि दुई नेताबीचको सम्बन्ध बिग्रिएको थियो ।

पुस ४ गते खुमलटारस्थित दाहाल निवासमै पुगेर ओलीले आरोपपत्र फिर्ता लिन आग्रह गरेका थिए । उनले प्रस्ताव फिर्ता नभए आफू जस्तोसुकै अप्रिय कदम चाल्न पनि पछि नपर्ने संकेत गरेका थिए । त्यही संकेतअनुरुप नै उनले पुस ५ गते बिहान प्रतिनिधिसभा विघटनको निर्णय गरे । त्यस्तै ओली र नेपालबीच करिब ५ महिनायता भेटघाट भएको छैन ।

एमालेको दसौं महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवा गए पनि दाहाल सहभागी भएका थिएनन् । माओवादीले स्थायी कमिटी सदस्य लीलामणि पोखरेललाई उद्घाटन समारोहमा पठाएको थियो । एमालेले भने एकीकृत समाजवादी पार्टीलाई अवैधानिक करार गर्दै निम्तो नै पठाएको थिएन । एउटै पार्टीमा रहेका ओली, दाहाल र नेपाल लामो समयपछि एकै ठाउँमा देखिनुलाई चासोका साथ हेरिएको छ । *इकान्तिपुरबाट