- Loading...
ओलीले सरकार र दाहालले पार्टी चलाउने
- पुनहिल डट कम
- ५ साल अघि
- ११३ पटक पढिएको
नेकपाको सचिवालय बैठकले पार्टी र सरकारको भूमिकालाई प्रभावकारी बनाउन अध्यक्षद्वयको कार्यविभाजन टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले नेकपा सहअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सञ्चालनमा कार्यकारी भूमिका पाउने भएका छन्।
दुई अध्यक्षको वरियतामा ओलीको पहिलो र दाहालको दोस्रो यथावत रहनेछ। सचिवालय स्रोतका अनुसार बैठकको अध्यक्षता संयुक्त रुपमा गर्ने भएता पनि सञ्चालन दाहालले गर्नेछन्। बैठकले पार्टी अध्यक्षद्वयको मर्यादाक्रम भने पुरानै कायम गरेको छ । पार्टी बैठकको अध्यक्षता दुवै अध्यक्षले संयुक्तरुपमा गर्ने निर्णय भएको छ तर बैठकको सञ्चालन भने अध्यक्ष दाहालले गर्नेछन् । अध्यक्षद्वयबीचको आपसी सल्लाहमा पार्टी र सरकार सञ्चालन गर्ने निर्णयसमेत भएको छ ।
केही समय देखि पार्टीमा एक व्यक्ति एकको जिम्मेवारी हुनुपर्ने एजेण्डा दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले उठाउँदै आएका थिए। सचिवालयको बुधबारको निर्णयसँगै ओली पाँचै वर्ष प्रधानमन्त्री हुने निश्चित भएको छ।
दाहाललाई पार्टीको कार्याकारी जिम्मेवारी दिए पनि सरकार र पार्टी सञ्चालनमा दुवै नेताको समझदारीमा हुने सचिवालयको निर्णय छ। राजनीतिक स्थायित्वको सन्देश दिन यो प्रतिनिधिसभाको अवधिभरी नै ओली प्रधानमन्त्री रहने गरी सचिवालयले निर्णय गरेको हो।
२०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता हुँदा ओली र दाहालले बराबर अवधिका लागि आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी भए पनि बुधबारको निर्णयले त्यसलाई निष्प्रभावी बनाएको छ।