- Loading...
पूर्वभारतीय राजदूतको पुस्तक : ‘…अनि चारजनै डीआईजी भारतीय दूतावास आइपुगे’
- पुनहिल डट कम
- ३ साल अघि
- ९२ पटक पढिएको
नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रेले नेपालको राजनीति, प्रशासन वा अन्य कुनै पनि संयन्त्रमा भारतीय ‘माइक्रो–म्यानेजमेन्ट’(सूक्ष्म व्यवस्थापन) रहने चर्चालाई निराधार भन्दै २०७३ फागुनमा नेपालको प्रहरी संगठनमा उब्जिएको विवादलाई उदाहरण बनाएर आफ्नो पुस्तकमा समेटेका छन् ।
यसै साता बजारमा आएको रेको ‘काठमाडौं डिलेमा (रिसेटिङ इन्डिया–नेपाल टाइज)’ पुस्तकमा तत्कालीन सरकारका गृहमन्त्री र प्रहरी महानिरीक्षक(आईजीपी) आकांक्षीका बारेमा खुलेर टिप्पणी गरेका छन् । आफ्नो लेखाइमा कसैको नाम नलिएपनि तत्कालीन शेरबहादुर देउवा सरकार, गृहमन्त्री विमलेन्द्र निधि र आईजीपी उपेन्द्रकान्त अर्यालको अवधी सकिएपछिको ‘अन्योल’ तथा राजनीतिक खेलकुद बुझिने गरी घटनाक्रम लेखेका छन् ।
२०१३ अक्टोबरदेखि २०१७ फेब्रुअरीसम्म काठमाडौंमा राजदूत रहेका रेको पुस्तकमा नेपाली नेताहरूको ‘देखाउने र लुकाउने चरित्र’ बारेमा पनि टिप्पणी गरिएको छ । रेका भनाइमा ‘चीनसँग नजिक मानिएका’ माओवादी नेता नारायणकाजी श्रेष्ठको निवासमा आफू २ पटक ‘लन्च मिटिङ’मा गएको तर नेता श्रेष्ठलाई ‘इन्डिया हाउस’ (लैनचौर)मा बोलाउँदा आउन नचाहेको सन्दर्भ उल्लेख गरेका छन् । नेता श्रेष्ठले फेरि पछि २०७२ को भुकम्पपछि आफ्नो चुनावी क्षेत्र(गोरखा)मा राहत सामग्री पठाइदिन राजदूत रेलाई अनुरोध गरेका रहेछन् । तर, राहत सामग्री ‘हेन्डओभर’ भएको कुनै औपचारिक समारोह गर्न चाहेनन् । सहयोग मात्रै लिए । त्यही क्रममा परराष्ट्रमन्त्री रहेका बेला श्रेष्ठले ल्याएको ‘कूटनीतिक आचार संहिता’ को खासै तुक नरहेको भन्दै पूर्व राजदूत रेले संहिताको यो पद्धति लोकतान्त्रिकभन्दा ‘एकाधिकारवादी’ रहेको धारणा राखेका छन् । उनले परराष्ट्र मन्त्री भइसकेका नेता श्रेष्ठ स्वयं समेतले आफूसँग ‘एक्लै’ भेट्न चाहने गरेको जनाएका छन् ।
रेले पूर्व प्रधानमन्त्री ओलीलाई नेपाली राजनीतिका ‘सबैभन्दा चतुर खेलाडी’ भनेका छन् । भारतसँग नेपालको महाकाली सन्धी (१९९६) भएताका भारतका सबैभन्दा ‘निकटतम मित्र’ ओली पछिल्ला समयमा ‘राष्ट्रवादी ओहोदा’ का कारण चिनिएको रेले उल्लेख गरेका छन् । कतिसम्म भने भारतसँग एक्लै लड्न–भिड्न सक्ने राष्ट्रवादी छविकै कारण ओली आफ्नो उपचारका लागि पनि पछिल्ला वर्षमा दिल्ली नगएर बैंकक वा सिंगापुर गइरहेको धारणा उनले राखेका छन् । *इकान्तिपुरबाट