- Loading...
कुकुर तिहार ः कृषकका साथी अर्थात कुकुर
- पुनहिल डट कम
- २ साल अघि
- २६७ पटक पढिएको
‘कुकुरले दिएको दोस्रो जीवन बाँचेको मान्छे, वन र गोठमा बस्ने मेरोलागी कुकुर सँधैको देउता’ दुर्गम गुर्जाका पृथमान छन्त्यालले विगत कोट्याए, ‘एक पटक भेडा चराउन गएको बेला भालु र चितुवा लाग्ने भीरबाट लडें । खुट्टा भाँचिएर उठेर सकिन । तीन वटा कुकुर थिए, एउटा गोठ कुर्ने दुई वटा भेडा चराउने । चराउन आएको एउटा कुकुरले भेडा खर्कमा लगेछ, अर्कोले मलाई रातभरी भुक्दै कुरेर बस्यो । म गोठ नफर्केपछि अरु गोठालाले कुकुर भुकेको आवाज खोज्दै आएर भोलीपल्ट मलाई उद्धार गरे । कुकुर नभएको भए सायद म चितुवाको आहारा भैसक्थें ।’
पृथमानको मात्र होईन लेकका प्राय: सवै गोठ देखी तराईका खरिहानसम्म घर, खेतीवाली र पशुको सुरक्षामा कुकुर प्रयोग हुँदै आएको छ । लेकका खर्कहरुमा पशु चौपायालाई चितुवा समेतका हिंस्रक जनावरबाट जोखाउन, पहाडका वस्तीमा बाँदरबाट खेतीवाली र स्यालबाट कुखुरासमेतका पंक्षि जोगाउन र गाउँ–शहरमा घरमा चोरीबाट जोगाउन कुकुर पाल्ने प्रचलन छ ।
झ्यारुङ्गोमा पाठा बोकेर भेडाको बथान धपाउँदै उँधौली/अभौली गर्न थालेको पनि ४५ बर्ष वितेछ लालविर तिलिजाले भेडीगोठमा खेपेका दुखसास्ती अनि कुकुरको अटुट साथ सम्झे । छेउको भोटे कुकुर सुम्सुम्याउँदै तिलिजाले सम्झे, ‘मेरा जीवनका सवै भन्दा भरपर्दा र प्रीय साथी भनेकै यी कुकुर हुन । बर्षमा श्रीमति र छोराछोरीसँग मुस्किलले एक साता वित्दा बाँकी दिनका सहयात्री यीनै कुकुर हुन । भेडाका असली गोठाला ।’
एक गास कलो, दुई मुठी खोले र खाएर फालेका हाडखोरको भरमा कुकुरले मानिसको इमान्दारी पूर्वक सेवा गर्दै आएको छ । त्यसैले सवैभन्दा इमान्दार र वफादार प्राणी कुकुरले जनावरमा सवैभन्दा धेरै मानिसको मायाँ पाएको छ । अहिले पनि खाना खाईसकेपछि अन्तिम गाँस (कलो) आगनको डिलमा ल्याई कुकुरलाई खुवाउने चलन छ । भित्र ढिँडो खाएर बाहिर भातमा घ्यु हालेको कलो कुकुरलाई खुवाउने चलनले कुकुर प्रतिको शान र मानको रुपमा लिईन्छ ।
कुकुरको असाधारण सुँध्न सक्ने क्षमताको कारण मान्छेले घुमन्ते युगदेखी हिंस्रक जनावरको आक्रमणबाट वच्न र सिकार गरी आहारा जोहो गर्न कुकुरको प्रयोग गर्न थालेको हो । आज उप्रान्त लेकाली भेडा, गाईभैसी र चौरी गोठमा असली गोठाला यीनै कुकुर उपस्थित छन । कुकुरको घर/गोठको रक्षकमा बाहेक मान्छेले सिकार गरी आफ्नो आहारा जुटाउन पनि युगौंदेखी कुकुरको सहयोग लिँदै आएको छ ।
अनुभवी गोठालाहरुका अनुसार कुकुरले दाईने तर्फ पुच्छर हल्यायो भने उ दुखी भएको, देव्रेपट्टी हल्लायो भने डराएको, विस्तारै हल्लायो भने लजाएको र जोडसँग पुच्छर हल्लायो भने कुकुर रिसाएको छ भन्ने बुझ्नु पर्छ । कुकुरले पनि मान्छेले जस्तै आँखामा हेरेर हाउभाउ पहिचान गर्छ ।
र आज कुकुर तिहार । कुकुरले मान्छेलाई लगाएको अतुलनीय गुनको भारा (अमुल्य सम्मान गर्न) तिर्न हिन्दु सनातन धर्ममा यमपञ्चकको दास्रो दिन तिहारमा रातो अक्षेताको टिका, सयपत्री फुलको माला लगाई सकेसम्मको मिठो खानेकुरा खुवाएर कुकुरको पुजा गरिन्छ ।