FLASH NEWS
  • Loading...

विद्यालय शिक्षा विद्यालय राष्ट्रियकरण होइन, मर्ज गर्नुपर्छ

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ११९ पटक पढिएको
Post Thumbnail

कोरोना भाइरस (कोभिड–१९) कारण विद्यालय शिक्षा प्रभावित भयो । वैकल्पिक शिक्षण सिकाइ सुरू गरे पनि सबै विद्यार्थीको पहुँचमा पुग्न सकेन । निजी विद्यालयको शिक्षण सिकाइ केही प्रभावकारी भए पनि विभिन्न माग राखेर १ साउनदेखि स्थगित गरे ।

अहिले विद्यालय तहका ७५ लाख बालबालिका शिक्षाको पहुँचभन्दा बाहिर छन् । अब  विद्यालय शिक्षालाई कसरी प्रभावकारी बनाउने ? शिक्षाको गाँठो कहाँ–कहाँ छ ? गाँठोलाई कसरी फुकाउने ?  शिक्षाविद् डा. विद्यानाथ कोइराला

गाँठो फुकाउने जिम्मा पालिकालाई

शिक्षाको गाँठो फुकाउन सजिलो छ । अड्किएको कतै पनि छैन । सरकारले सम्पूर्ण जिम्मा पालिकालाई दिनुपर्छ । शिक्षामन्त्रीले शिक्षक महासंघ, प्याब्सन र एनप्याब्सनलाई पालिकासँग सहकार्य गर्न भन्नुपर्छ ।

निजीकोे समस्या सरकारले लिनु पर्दैन 

निजीको जे समस्या छ, त्यो सरकारले लिनु पर्दैन । निजी विद्यालयको समस्या त अभिभावकसँग हो । अभिभावकसँग छलफल गर्न दिनुपर्छ । शुल्क तिर्न अभिभावक तयार छन् ।

कोही अभिभावक पूरै तिर्न सक्ने होलान्, कोही आधा दिने होलान्, कोही थोरै दिन सक्लान्, कोही दिनै नसक्ने पनि होलान् । यो  विद्यालय र अभिभावक बसेर मिलाउन सकिने विषय हो ।

शुल्क नलिनू भन्नु मुर्ख्याइँ

तर शुल्क नै नलिनू भन्नु भनेको मुर्ख्याइँ हो । शिक्षामन्त्री नै कुलपति भएको खुला विश्वविद्यालयमा भर्ना, पढाइ, परीक्षा अनलाइनबाटै हुन्छ । अनलाइनबाट पढाएको किन शुल्क लिएको ? अनि विद्यालयहरूले अनलाइनबाट कक्षा चलाउँदा नलिऊ भन्न मिल्छ ?

विद्यालय मर्ज गर्नुपर्छ, राष्ट्रियकरण गर्न हुँदैन

सरकारले पालिकालाई अब विद्यालय भटाभट मर्ज गर्न भन्नुपर्छ । निजीलाई निजीसँग, सरकारीलाई सरकारीसँग वा सकिन्छ भने निजी र सरकारीबीच पनि मर्ज गर्नुपर्छ ।

मर्ज कसरी गराउने भन्ने प्रश्न होला । त्यो पनि सजिलो छ । पालिकाले पनि मर्ज गराउन बल गरेका छन् । शिक्षक महासंघलाई सोध्ने, कुनकुन विद्यालयमा कति विद्यार्थी छन् ? थोरै विद्यार्थी छन् भने त्यत्तिकै ओगटेर किन राख्ने ? अहिले गाउँगाउँमा मोटरबाटो पुगेको छ ।

निजीका विद्यार्थीले मोटर चढेका छन् भने सरकारीका विद्यार्थीले किन नहुने ? मर्ज भएपछि मोटरबाट एक ठाउँबाट अर्को ठाउँमा विद्यार्थीलाई सजिलै लैजान सकिन्छ । अर्को विद्यालयमा सेल्टर बनाउन सकिन्छ । ४–५ जना विद्यार्थी बस्न सक्ने सेल्टर बनाउन सकिन्छ ।

मर्ज गरेर खाली भएको विद्यालयलाई खाली राख्नु पर्दैन । त्यसलाई लाइब्रेरी वा लोकल म्युजियम बनाउन सकिन्छ । मर्ज भएपछि शिक्षक जान चाहन्छन् भने जान्छन् । जान चाहेनन् भने  जगेडा शिक्षक राख्न सकिन्छ ।

निजीलाई राष्ट्रियकरण गर्ने आवाज उठिरहेका पनि छन् । तर राष्ट्रियकरण गर्नु हुँदैन । राष्ट्रियकरण गर्नु भनेको महागल्ती हुन्छ । यो गल्ती गरिनु हुन्न ।

वैकल्पिक शिक्षण सिकाइ पूरक हो 

वैकल्पिक शिक्षण सिकाइ वैकल्पिक होइन, पूरक हो । तत्काल विद्यालय खोल्न मिल्छ मिल्दैन, यो विज्ञ डाक्टरले भन्ने कुरा हो । सरकारले ६ वटा जिल्ला कोरोनामुक्त भनेको छ । कोरोना कतिलाई जाँचेको हो ? कहाँको मान्छे जाँचेको हो  ?

तत्काल गाह्रो छ, त्यसैले सबै विकल्प खुला राख्नुपर्छ । स्कुल जान सकिन्छ भने दूरी कायम गर्न पनि सकिन्छ । स्कुल जान सकिदैँन भने विद्यार्थीको घरमा जाने डिजाइन बनाउनुपर्छ । अभिभावक, विद्यार्थी र शिक्षक तयार भए विद्यालय खोल्न सकिन्छ । होइन, तीमध्ये कोही डराए भने विकल्प दिऔँ ।

शैक्षिकसत्र ढिला गर्नु हुन्न

शैक्षिकसत्रलाई ढिला गर्नु हुन्न । वैशाखदेखि नै शैक्षिकसत्र चलाउनुपर्ने हो । रेडियो, टेलिभिजन, अनलाइन, अफलाइन केबाट हुन्छ चलाउनुपर्छ । अब दोहोरो मोड चलाएन भने २० प्रतिशत विद्यार्थी विद्यालयबाट आउट हुन्छन् ।

विद्यार्थीलाई जोड्न भएका सबै विकल्पको प्रयोग गर्नुपर्छ । त्यसका लागि विद्यार्थीको शैक्षिक सामग्री बनाउनुपर्छ । शिक्षा मन्त्रालयका कर्मचारीले होइन, प्राइभेट वा सरकारी विद्यालयका शिक्षकलाई सामग्री बनाउने जिम्मा दिनुपर्छ ।