FLASH NEWS
  • Loading...

बेनी–जोमसोम सडकमा वारम्बार पहिरो, बेगखोलामा फड्के पनि नहुँदा पैदलयात्रुलाई सँधैको सास्ती

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १०७ पटक पढिएको
बेनी–जोमसोम सडकमा वारम्बार पहिरो, बेगखोलामा फड्के पनि नहुँदा पैदलयात्रुलाई सँधैको सास्ती

तस्वीर सौजन्य : शिला खत्री

म्याग्दीको प्रहरीले जिल्लाका मुख्य सडकमा यातायात संञ्चालनको अवस्था जानकारी गराउन दैनिक विहान वुलेटिन निकाल्ने गरेको छ । के यो जानकारी सवै यात्रुकालागी प्रयाप्त छ ?
पैदल यात्रु भन्छन, प्रहरीको वुलेटिनले पैदल यात्रुलाई झुक्याईरहेको छ । प्रहरीको बुलेटिन पढेर यात्रा सहज छ भनि यात्रामा निक्लेका पैदल यात्रु मात्र होईन, मोटरसाईकल सवार यात्रुले धोका पाईरहेका छन ।
रघुगंगा गाउँपालिका, १ बेगखोलामा सवारी साधनहरु खोलाबाट पास हुने भएपनि पैदल यात्रुले भने बेगखोला पैदल तर्न सक्ने अवस्था छैन । पैदल यात्रु त्यहाँ नदीजन्य पदार्थ उत्खननमा संलग्न स्काभेटरको बकेटमा बसेर खोला वारपार गर्ने गरेका छन । कहिले घन्टौं खोला किनारामा अलपत्र परेपछि गन्तब्यमा हिंडेका ट्याक्टरलाई गुहार मागी खोला तर्ने गरेका छन । बेगखोलामा पैदल यात्रुकालागी झोलुङ्गे र फड्के पनि नहुँदा विरामी समेत यात्रुले खोलावारपार गर्न पाएका छैनन ।
‘बेगखोलामा यात्रुले सँजाय पाएका छन । बर्खाको सिजनमा न गाडी पाईन्छ न बेगखोलाको भेलमा हेलिएर तर्न सकिन्छ’ रघुगंगा गाउँपालिका, २ राखुकी शिला खत्रीले भनिन, ‘बर्खाको बेला सडकमा त्यसै कम गाडी गुड्छन । अहिले रुप्से छहरामा पहिरोले सडक बगाएपछि यातायात अवरुद्ध भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा चल्ने सिमित जीप/ट्याक्टर आक्कल झुक्कल आउँछन । बेगखोला तर्न दिनभरी किनारामा अलपत्र पर्नु पर्छ, कहिले स्काभेटरले यात्रु तार्छ कहिले कता जान्छ हेरेको हेऱ्यै हो ।’
बेनी–जोमसोम–कोरला सडकको बेनी–घाँसा ३६ किलोमिटर खण्डमा बर्षेनी वर्खायामका तीन महिना यात्रुले सास्ती खेप्न बाध्य छन । भारी वर्षापछि रुप्से झरनामा आएको बाढीले सडक बगाएपछि बेनी–जोमसोम सडकमा पैदल यात्रा समेत यातायात अवरुद्ध भएको छ । अझै कति दिन यातायात नखुल्ने हो टुङ्गो छैन ।
‘बेगखोलामा यात्रु हिंड्ने झोलुङ्गे वा फड्के समेत नहुँदा खोलामा पानीको सतह बढ्दा यात्रुलाई सास्ती भएको छ । आजै पनि बेनी अस्पताल ल्याईदै गरेकी गर्भवती अड्केको खवर पाएपछि स्काभेटरमा राखेर खाला तारियो’ प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भने, ‘पैदल यात्रुलाई खोला तार्ने अर्को विकल्प नहुँदा सडकको एउटा स्काभेटर राखेर मान्छे तार्ने गरेका छौं । घाम लागेर पानी घट्दा गाडी/ट्याक्टरले पनि तारिदिन्छन ।’
खोलामा पानीको सतहबढ्दा नजिकै नदीजन्य पदार्थ उत्खनन गरिरहेको स्काभेटरले यात्रुलाई बकेटमा राखेर खोला वारपार गराउने गरेको छ । तर्न सक्ने अवस्था भए प्रति ब्यक्ति ५० रुपैयाँ र मोटरसाईकलको ५ सय रुपैयाँ लिएर ट्याक्टरले बेगखोला तार्ने गरेको गुनासो छ ।
‘पैदल यात्रुले मुस्ताङ जाने र फर्कने गाडी कुर्ने र त्यहीं झुण्डिएर बेगखोला तर्ने गरिन्थ्यो । रुप्से छहरामा पहिरोले यातायात अवरुद्ध भएपछि त्यो पनि टुट्यो । हिजो (मंगलवार) दिनभर बसियो खोला तर्ने नभएपछि बेनी हिंडेको मान्छे घर फक्यौं’ अन्नपूर्ण गापा, ६ पोखरे बगरकी विष्णु गर्वुजाले भनिन, ‘बेगखोलामा अलपत्र यात्रुको पीडा देख्दा यो देशमा सरकार छैन । सवै मरे जस्तै लाग्छ । धिक्कार लाग्छ ।’


सडकको विभिन्न खण्डमा बाढी र पहिरोले यातायात अवरुद्ध हुँदा यात्रुले कष्टपूर्ण यात्रा गर्न बाध्य छन । प्रयोगमा भएका झोलुङ्गे मोटरबाटोले नष्ट गरिदिएको तर मोटरपुल नबन्दा रघुगंगा गाउँपालिका, १ स्थित बेगखोला र अन्नपूर्ण गाउँपालिका, ३ दाना स्थित रुप्से छहराको भेलमा हेलिएर पार गर्दा यात्रुलाई झन बढी जोखिम छ ।
रुप्से छहरामा पानीको सतहबढेसँगै मान्छे तर्न असंभव भएकोले दानाबाट झोलुङ्गे तरेर गाडपारहुँदै पुरानो पदमार्गबाट घाँसा पुग्ने गरिन्छ । रुप्सेपारी काप्रेगाउँवासी समेत दूई घन्टाको फेरोबाटो छिचोलेर वारीपट्टीको खेतवारीमा पुग्ने गरेका छन ।
बेगखोला र रुप्से छहरामा मात्र होईन दर्जनबढी स्थानमा पहिरो झरेकोले सडकको कहिले कहाँ त कहिले कहाँ यातायात अवरुद्ध भैरहन्छ । बेनी छेउको जलेश्वरमा दैनिक विहान डोजर ल्याएर सडकमा थुप्रने लेदो नपन्छ्याई यातायात सुचारु हुँदैन ।
बेनी–घाँसा सडक खण्डमा यो बर्ष मात्र होईन बर्षेनी बाढीपहिरोले सडकमा क्षति पुर्‍याउने भएकोले वर्खा यामको तीन महिना सडक अवरुद्ध भैरहन्छन । पहिरोको अधिक जोखिम रहेको क्षेत्रमा सडक निर्माण भएकोले वारम्बार समस्या आउने गरेको हो ।
सर्वाधिक गहिरो अन्ध गल्छिमा अवस्थित रुप्से झरनामा आएको बाढीले सडक बगाएपछि बेनी–जोमसोम सडकमा पैदल यात्रा समेत यातायात अवरुद्ध भएको छ । अझै कति दिन यातायात नखुल्ने हो टुङ्गो छैन । यातायात अवरुद्ध भएपछि मुस्ताङबाट आलु, स्याउ बोकेर झरेका र तल बेनीहुँदै खाद्यान्न समेत निर्माण सामाग्री बोकेर आएका सयौं सवारी साधन वारीपारी रोकिएका छन ।
माथिल्लो जलाधारमा भारीबर्षापछि पहिरो गएकोले रुप्से झरनामा गेग्रानसहित लेदोको बाढी आएपछि फेदीको सडक कटान गरेको हो । मंगलवार विहानैदेखी रुप्सेमा पानीको सतहबढेपछि अवरुद यातायात सडक नै बगेपछि बुधवारदेखी पूर्णरुपमा अवरुद्ध भएको छ । रुप्सेको बाढीले वल्लो–पल्लो भित्तो पुरै झारेर बगाएपछि नयाँ ट्याक खोल्न समस्या भएको हो ।
साउन २६ गतेको बाढीले एक महिनासम्म अवरुद्ध सडक रुप्से झरनामा नयाँ ट्याक खोलेर भदौ १ गतेदेखी यातायात संञ्चालन गरिएको थियो । भदौ ३० गतेदेखीको बाढीले ट्याक समेत बगाएपछि पुन: यातायात तथा पैदल यात्रा अवरुद्ध भएको छ ।
‘मंगलवार रुप्सेमा पानीको सतह केही घटेसँगै पानी फिँजारी नयाँ ट्याक खोलेर सवारी पास गराउने प्रयास असफल भयो । रातीको बाढी उर्लेर आएपछि वारीपारीको भित्ता समेत बगाएपछि भर्खर सडक खुल्ने संभावना नै रहेको छैन’ सडकका स्थानिय सुपरभाईजर इन्द्रसिं शेरचनले भने, ‘रुप्सेमा पानीको सतह नघटी भर्खर ट्याक खोल्न समस्या छ ।’
चार बर्ष अघि ०७३ भदौ १२ गते बेगखोलामा आएको बाढीले वस्तीसमेत त्यहाँको बेलिव्रिज बगाएपछि बर्षेनी बर्खायाममा बेगखोलामा पैदल यात्रुलाई खोला तर्न समस्या आउने गरेको छ । सवारी साधनपनि खोलामा पानीको सतह घट्दा जर्वजस्ती तार्ने र पानी बढ्दा यातायात अवरुद्ध हुने गरेको छ ।
सडक विभागले बेगखोलामाथी बन्ने मोटरपुलको डिजाईन टुङ्गो लगाउन सकेको छैन । बाडीले खोलाको स्पान बढाएको र वारम्बार धार परिवर्तन गरिरहने भएकोले कस्तो डिजाईनको पुल बनाउने चार बर्षसम्म टुङ्गो लगाउन नसकेको हो ।