- Loading...
कपडा वैंक : अनौठो पहल, यस्ताे छ कपडा बैंककाे इतिहाँस
- पुनहिल डट कम
- २ साल अघि
- ५४१ पटक पढिएको
लुगा शरीरमा गुप्ताङ छोप्न मात्र होईन, चिसो, वर्षा र अन्य जलवायु परिवर्तन वा मौषमी अवस्थाबाट जोगाउन लगाईने विभिन्न प्रकारका प्राकृतिक तथा कृतिम फाईवर (रेसा) प्रयोग गरी बनेको वस्तु हो । कपडा लगाउनु मानव समुदायको विशेषता हो ।
मानवशास्त्रीहरुका अनुसार मानिसले कपडाको प्रयोग कहिलेबाट सुरु गर्यो भन्ने कुनै जानकारी छैन । अनुमानमा २० लाख वर्ष पहिले प्रारम्भिक मानवहरुले रुखका पात, बोक्रा र मरेका जनावरको छालाले शरीर छोप्ने गर्थे ।
सयमकालसँगै पहिरनमा पनि परिर्वन भयो । इसापूर्व ६ हजार ५ सय बर्ष अघि देखी घाँस बुनेर, रुखका बोक्राको रेसा निकालेर बुन्ने र लगाउने चलनहुँदै आजको फेसनेवल युगमा आएको हो । तर समाजका सवै वर्ग र समुदायका मानिसले वर्षमा एक पटक राम्ररी शरिर छोप्ने गरी कपडा लगाउन पनि पाएका छैनन । तिनै निरपेक्ष गरिवीको रेखामुनी रहेका मानिसलाई लाज र घामपानीबाट जोगाउन म्याग्दीमा पनि एउटा अनौठो पहल भएको छ, कपडा बैंक ।
सदरमुकाम बेनी र माथी अथुङ्गमा एकसाथ कपडा बैंक खुलेका छन । बेनी नगरपालिका, ६ र ७ का वडाध्यक्षद्वय कृष्णसिं बानियाँ र रमेश श्रेष्ठले आ–आफ्नो वडा कार्यालयमा हिन्दुको महान चाड दशैं संघारमा कपडा बैंक अभियान सुरु गरेका छन ।
६ नम्बर वडा कार्यालय रहेको अथुङ्गेमा र ७ को वडा कार्यालय रहेको बेनी सामुदायीक चोक रहेका वडा कार्यालयमा एक साता अघि स्थापना गरिएको कपडा बैंकमा एक हजार थान हाराहारीमा कपडा रहेको छन । कपडा बैंकमा महिला, पुरुष दुवैलाई हुने कपडा लगाएत बच्चादेखी बुढापाकासम्मकालागी हुन कपडा रहेका छन ।
पुरानो कपडा जुन तपाईको शरिरमा फिट हुँदैन वा त्यसको फेसन सकियो । यस्ता कपडा के गर्ने ? कति दिन दराजमा सजाएर राख्ने ? तर समस्या के भने एक पटक लगाएका कपडा कसरी अर्कोलाई लगाई भन्न सक्नु हुन्न । हैरान नहुनुस्, कपडा नै लगाउन नपाएका मानिसहरु धेरै छन । यस्ता लुगा चाहिने मानिस कसरी खोज्ने ?
‘हामीले संञ्चालनमा ल्याएको कपडा वैंकमा सवै उमेर समुहका मानिसले लगाउन योग्य तर प्रयोग भएका मात्र होईन, प्रयोग नै नभएका कपडाहरु पनि छन । कतिपय कपडा ब्यक्तिले पुन: प्रयोगकालागी दान गरेका हुन । केही कपडा पसलहरुले स्टक आउट गर्न झिकेका नयाँ कपडा ल्याएर राखेका छौं’ बेनी नगरपालिका, ६ का वडाध्यक्ष कृष्णसिं बानियाँले भने, ‘शनिवार एक दिन खोल्छौं । गाउँका कपडा किनेर ज्यान ढाक्न मुस्किल भएका ब्यक्तिहरुलाई बैंकबाट निशुल्क एक जोर कपडा लैजान पाउँछन ।’
कपडा वैंक, पसल हैन । यो एउटा अभियान हो । लगाउन योग्य कपडा लगाउन नपाएकासम्म पुर्याउने पहल हो, कपडा बैंक । कपडा बैंकको उद्देश्य सरल छ, आवश्यकता नभएका ब्यक्तिहरुबाट लगाउने लुगा संकलन गर्ने र शरिर ढाक्न कपडा खाँचो भएका ब्यक्तिलाई उपलब्ध गराउने । जो कसैले पनि लगाउन मिल्ने पुराना कपडा तथा जुत्ताचप्पल लगेर छोड्ने । र आवश्यकता भएका अनाथ, विपन्न ब्यक्तिहरुले आफ्नो सरीरमा मिल्ने र सुहाउँने कपडा सित्तैमा लैजाने ।
कपडा वैंक कपडा खाँचो भएका तर किनेर लगाउन पैसाले साथ नदिएका गरिव, विपन्न ब्यक्तिलाई शरिरका झुत्रा र फाटेका कपडा फेर्ने अवसर मात्र होईन कपडा दाताहरुकालागी पनि राम्रो अवसर हो । घरमा लगाउन मिल्ने नयाँ नै देखिने कपडा छन, त्यस्सै फोहोरमा फाल्न पनि मनखत लागेको छ, कसैलाई दिउँ, एक पटक लगाएका लुगा कसरी दिनु । कपडा बैंक त्यो जग्जवको अवसर भएन त ?
कपडा वैंककाे इतिहाँस
कपडा बैंकको अभियान अमेरिकाको फोर्क काउन्सीलका स्थानीय स्वयंसेवक जिन्जर हेम्बरमेनले सन १९५५ बाट सुरु गरेका हुन । सन् १९५१ मा अमेरिकाको फर्क काउन्सीलमा ठूलो डढेला लाग्दा धेरै मान्छेको मृत्यु भएको र हजारौं मानिस वेघरवार हुँदा उनीहरुलाई राहत जुटाउने क्रममा जिन्जर हेम्बरमेनले कपडा बैंकको कल्पना गरेका थिए । सुरुमा उनीहरुले विभिन्न क्लव, पसल र ब्यक्तिहरुबाट चन्दा संकलन गरी कपडा किनेर बैंक सुरु भएको थियो ।
सन १९७१ मा फोक्र्स काउन्सीलमा अर्को डढेलकोको चपेटामा पर्यो । ८ जनाको परिवार जल्यो । त्यसपछि खाना पकाउने/खाने भाँडा, ओढ्ने, ओछ्याउने समेत लगाउने कपडाको खाँचोमा परेका परिवारलाई कपडा बढी भएका परिवारबाट संकलन गरी जिन्जर हेम्बरमेनले कपडा बैंक मार्फत निशुल्क वितरण गरिएको थियो ।
राम्रो प्रयोग गरिएको कपडा दान गर्न ‘कपडा बैंक’ गतिलो स्थान बनेको छ । र अहिले संसार भरी ‘कपडा बैंक’को प्रयत्न फैलिएको छ । सुरुमा कपडा बैंक आगलागी, डढेलो प्रभावित, बाढीपहिरो लगाएत प्राकृतिक प्रकोपमा परेका ब्यक्तिहरुलाई मात्र कपडा सहयोग गर्न गरेको थियो । अहिले यो प्रयासमा ब्यापक परिवर्तन आएको छ ।
अहिले संसारभरी निशुल्क र सशुल्क गरी दुई खाले ‘कपडा बैंक’को मोडेल अभ्यासमा छन । उच्च खानदानी परिवारले प्रयोग गर्ने महंगा कपडाहरु ‘कपडा बैंक’ले दानमा लिएर न्युन मुल्य राखेर विक्रि गर्ने र आउने आम्दानी समाजका अन्य सामाजिक क्षेत्रमा लगाउने एउटा मोडेल चलनमा छ ।
त्यस्तै, कपडा धेरै भएका मानिसबाट दानमा पाएको कपडाहरु ‘कपडा बैंकमा’ जम्मा नर्गे र कपडाको खाँचो परेका मानिसहरुलाई नि:शुल्क वितरण गर्ने । अहिले नेपालमा प्रचलनमा ल्याईएको कपडा बैंक यही निशुल्क वितरण प्रयास हो ।
कपडा बैंकको अर्को पनि मोडेल प्रचलनमा छ । कपडा धेरै भएका परिवारबाट प्रयोग भैसकेको कपडा बैंकमा जम्मा गर्ने र फेसन डिजाईन गर्ने स्कुलका विद्यार्थीलाई डिजाईन हेर्न, सिक्न र अभ्यास गर्न दानमा प्राप्त भएका कपडा निशुल्क दिने । कपडा बैंकको अवधारणाले पर्यावरण संरक्षणमा ठूलो योगदान पुर्याएको छ । घरमा अलपत्र परेका कपडा बैंकमा ल्याउँदा खाँचो परेका मानिसको गर्जो मात्र टर्दैन, घर सफा हुन्छ । कपडाको पुन: प्रयोगले वातावरण प्रदुषण घटाउँछ ।
नेपालमा भने सुदीश निरौलाले कपडा बैंक परियोजना सुरु गरेका हुन । स्वंसेवामा आधारित ‘कपडा बैंक’ को प्रयत्नले अति गरिव परिवार, सडक वालबालिका र विपदमा परेका ब्यक्तिलाई लाभ पुर्याउँछ । नेपालमा लगभग २५ प्रतिशत जनसंख्या अझै निरपेक्ष गरिवीमा बाँची रहेको छ । र उनीहरु शरीर ढाक्ने उपयुक्त न्यानो कपडा अभिलामा कडा मौषमी चिसोका कारणले ज्यान गुमाउने र विरामी पर्ने गरेका छन ।