FLASH NEWS
  • Loading...

बाढीपहिरोको वितण्डा, बेनीबासी सँधै अनिँदो

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १२८ पटक पढिएको
बाढीपहिरोको वितण्डा, बेनीबासी सँधै अनिँदो

मनसुन लागेसँगै सदरमुकाम बेनीबासी राम्ररी निदाउन पाएका छैनन । शुक्रवार राती पनि बेनीनगरपालिका, ७ मंगलाघाट बजारबासी भेलबाढी र पहिरो तर्काउदै झरीमा भिजेरै रात विताए । बैशाख–भदौसम्म पर्ने भारी बर्षापछि आउने बाढीले बेनीबासीलाई बर्षेनी सताउने गरेको छ । तर बर्खा भरीको भेलबाढीको पीडा हिउँदमा भुसुक्कै विर्सने वानीसँग नगरपालिका मात्र होईन, बेनीबासी पनि अभ्यस्त छन ।

हस्पिटलचोकबाट खैरेनी वस्ती हुँदैमाथी जामुनाखर्क पुग्ने सडकबाट निक्लेको माटोले कालीपुल वसपार्कमा, बेनी–अर्थुङे–पाखापानी र पुलाचौर जाने सडकबाट आउने भेलबाढीले क्याम्पसचोक र मंगलाघाट तथा बेनी–अग्नीखेत सडकले मंगलाघाट बजारमा बाढी पसेर समस्या मात्र होईन, पहिरो खसेर मानविय क्षतिको जोखिम बढेको छ ।

‘राती ११.३० बजेबाट भेलबाढी बजारका घर–घरमा पस्न थालेपछि दर्केपानीमा भिज्दै बाढी तर्काउँदै रात वित्यो’ मंगलाघाटका स्थानीय हिक्मत शेरचनले भने, ‘मेरै प्लाईउड उद्योगमा बाढी पसेपछि लाखौंका प्याईउड भिजेर लाखौं मुल्यको क्षति पुगेको छ ।’

शुक्रवार राती ११ देखी १ बजेसम्म परेको भारीबर्षापछि मंगलाघाट माथीको खोल्सामा पहिरोसहित बाढी पसेपछि बेनीनगरपालिका, ७ मंगलाघाट बजारमा रहेका ग्यारेज, प्लाईउड उद्योग, दर्जनबढी घरपसलमा भेलबाढी पसेको छ । त्यस्तै कृषी, भेटनरी, वन र भु संरक्षण कार्यालयका आवास क्षेत्र पनि बाढी पसेर डुवानमा परेको छ ।
माथी अथुङ्गेको जामुनाखर्क मावि क्षेत्रबाट झरेको भेलवाढी तल मोटरबाटोमा झरेपछि सन्तोष ढुङ्गानाको घर नजिकैबाट तल भत्काउँदै झरेर मंगलाघाटको साईवावा हुँदै पुरानो बजार क्षेत्रमा क्षति पुर्‍याएको हो । त्यसैगरी बेनी खानेपानीको ट्याङ्कीदेखी माथी मोटरबाटोमा माथीबाट झरेको पहिरोले नाली बुझिएपछि आँपारुख क्षेत्रबाट गएको भेलबाढी तल झरेपछि सरकारी कार्यालयका आवास क्षेत्रमा डुवान भएको हो ।
बेनीको शिरानमा अवस्थित अथुङ्गे गाउँ र ईन्द्रवक्स गण क्षेत्रमा जम्मा भएको भेलबाढी कमजोर बलौटे पहाडबाट खस्दा तल फेदीको बेनीबजारको क्याम्पसचोक र मंगलाघाट बजारमा ढुङ्गामाटो र लेदो पसेर क्षति पुर्‍याउने गरेको छ ।

बेनीका क्याम्पसचोक र मंगलाघाटमाथी अब्यवस्थित बेनी–अथुङ्गे मोटरबाटोबाट तल बाढी उर्लेर आउँछ । जव पानी पर्न थाल्छ तव रड, सिमेन्ट र कंक्रिटका घरमा बस्ने बेनीबासी रातभरी जाग्राम वस्छन । र यो एक वर्ष मात्र होईन, वर्षेनी यस्तै भैरहन्छ । नगरपालिका र सरोकारवाला निकाय रमिते भएको छ । यती सम्मकी बेनी नगरप्रमुख हरीकुमार श्रेष्ठ बाढीपहिरोबाट आफै प्रभावित भएपनि सडक र बाढीपहिरो नियन्त्रणमा ध्यान पुर्‍याउन सकेका छैनन ।

‘बाढीपहिरोले बर्खाभरी अनिदो वस्ने बेनीबासी असोज लागेपछि भने भुसुक्कै निदाउँछन, असारमा पानी पर्न थालेपछि वल्न विउँझिन्छन’ मंगलाघाटकी शान्ता पुनले भनिन, ‘छेपारोले घर बनाउने उखान जस्तै छ, बेनी संरक्षणको कुरा । जुन नेताले नि भाषण गर्छन, काम गर्दैनन । अहिलेसम्मको बजेटले माथीको भित्तो टालिन्थ्यो होला, खै त ।’