कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य अप्रत्याशित रुपमा बढेको छ ।
प्रतितोला रु ९९ हजार ८ सय मा कारोवार भएको पहेँलो धातुमा आज रु एक हजार ६ सयले वृद्धि छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार ४ सय कायम भएको छ । सोही परिमाणको तेजाबी सुनको मूल्य एक लाख ९ सय निर्धारण गरिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा आज चाँदीको मूल्य रु ६५ ले बढेको छ । एकतोला सेतो धातुको मूल्य आज रु एक हजार २ सय ९५ निर्धारण भएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य रु १० हजार ४०० ले बढेर रु ८७ हजार पुगेको थियो ।
त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २,०२४.५३ अमेरिकी डलर कायम भएको छ । त्यसैगरी प्रतिऔँस चाँदी २५.९६ अमेरिकी डलर निर्धारण भएको छ ।