FLASH NEWS
  • Loading...

रेड र गोल्डेन स्याउ वगैचा नासेर हाईव्रिड स्याउ खेती गर्दै गुर्जावासी

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १८४ पटक पढिएको
रेड र गोल्डेन स्याउ वगैचा नासेर हाईव्रिड स्याउ खेती गर्दै गुर्जावासी

राम्रो फसल नदिएपछि गुर्जाबासीले पुरानो स्याउका वगैचा नासेर विदेशबाट आयातित उच्च घनत्वमा आधारित हाईव्रिड स्याउ खेती सुरु थालेका छन ।
धवलागिरी गाउँपालिका, १ मा पर्ने चुरेन र गुर्जा हिमालफेदीमा अवस्थित लुकेको मानव वस्ती गुर्जाका नाङ्लीवाङ स्थित पाखामा १० रोपनी क्षेत्रफलमा ०४५/०४६ सालताका रेड र गोल्डेन डेलिसिन जातको स्याउ खेती गरिएको थियो । रुखो र सुख्खा माटो भएको डाँडामा आसातित स्याउ खेती फस्टाएन । फलेका स्याउका दाना पनि ठूला भएनन । सोही बगैचा विस्थापित गरी गुर्जावासीले फेरी उच्च घनत्वमा आधारित स्याउका कलमी बेर्ना रोपेका हुन ।

गुर्जावस्तीका सवै दुई सय ६० घरधुरी आवद्ध भएको हिमाली कृषी सहकारी संस्थाले गुर्जा नाङ्लीवाङमा १० रोपनी क्षेत्रफलमा ८ सयबढी इटलीबाट आयातित उच्च घनत्वमा आधारित (हाइडेन्सीटी रहेको हाईव्रिड) स्याउका वेर्ना रोपेको हो । गुर्जामा सुरु गरिएको स्याउको ब्यवसायीक स्याउ खेती जिल्लाको पहिलो हो ।

गुर्जामा ब्यवसायीक स्याउ खेती गर्न कृषी ज्ञान केन्द्र म्याग्दीले ५० प्रतिशत अनुदानमा २ सय ५६ बेर्ना र धवलागिरी गाउँपालिकाले वडा मार्फत ७५ प्रतिशत अनुदानमा ५ सय ९२ बेर्ना रोपिएको हो ।
स्याउको बेर्ना रोप्ने उपयुक्त समय पुस–फागुन हो । तर उच्च घनत्वका स्याउका बेर्ना इटलीबाट ल्याउँदा ढिला भएकोले चैत–वैशाखमा मात्र वेर्ना रोपिएको थियो । रोप्न ढिला हुँदा विरुवामा टुसा/काईनो पलाएमा त्यो वेर्नाबाट राम्रो उत्पादन नदिने कृषी ज्ञान केन्द्रका वाली संरक्षण अधिकृत गोविन्द पाण्डेले बताए ।

‘कोरोनाको कारण इटलीबाट बेर्ना आईपुग्न र वारीमा पुऱ्याउँदा केही ढिला भएपनि फ्रिज जस्तो भ्यानमा कन्ट्रोल कन्डीसनमा पोखरासम्म ल्याईएको र तत्काल गाडीमा ल्याएर कृषकको वारीमा पुऱ्याईएको थियो । चैत–बैशाख लागेको र खुल्ला वातावरणमा बगैचासम्म विरुवा पुऱ्याउँदा एकाधमा टुसा आएको हुनसक्छ ।’

गुर्जामा गाउँपालिकाको अनुदानमा दुई बर्ष अघि कम्तीमा ५ सय दाँते ओखरको पनि खेती गरिएको छ । धवलागिरी गापा, १ गुर्जाबासीको मुख्य आम्दानीको श्रोत नै यार्चागुम्बा, जंगली च्याउ समेतका जडिबुटीको ब्यापार हो । यार्सागुम्बा, रातो च्याउ, सतुवा समेत बहुमुल्य जडिबुटी र वनस्पतीको उत्पादन र निकासी गरी जीविकोपार्जन गर्ने हुँदा गुर्जालाई हर्वल भिलेज पनि भनिन्छ ।