- Loading...
बाढीपहिरोबाट म्याग्दीका ६ सय परिवार विस्थापित
- पुनहिल डट कम
- ४ साल अघि
- ८४ पटक पढिएको
अविरल बर्षापछि आएको बाढपहिरोमा परी जिल्लाका ६ वटै स्थानिय तहका विभिन्न बस्तीका ६ सयबढी घर परिवार विस्थापित भएका छन ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाले उपलब्ध गराएको तथ्याङ्क अनुसार धौलागिरी गापामा २ सय ९८ परिवार, मालिका गापामा १ सय ६५ परिवार, मंगला गापामा ३४ परिवार, बेनी नगरपालिकामा १५ परिवार, रघुगंगा गापामा ३६ परिवार र अन्नपूर्ण गापामा ५२ परिवार बाढीपहिरोबाट घरपूर्ण क्षति, आंशिक क्षति र अति असुरक्षित भएको कारण विस्थापित भएका हुन ।
बाढीपहिरोमा परि असारयता धौलागिरुमा १९ जना, मालिकामा ८ जना, रघुगंगामा ३ जना र अन्नपूर्णमा १ जनागरी ३१ जनाको मृत्यु भएको छ । धौलागिरीमा २, मालिकामा २ र अन्नपूर्णमा १ जनागरी ५ जना बेवत्ता छन । धौलागिरी र मालिकामा गरी १२ जना घाईते छन ।
असारपछि बाढीपहिरोले धौलागिरी गाउँपालिका, ६ र ७ वडाका काफलडाँडा, ताकम, कुम्री, दमाका,रिखा, घन्टीवाङ, अर्भाङ, खग्रिवाङ, राम्चे, काफलडाँडा, अदीवरा,रुईसे, धारापानी समेतका वस्ती, मालिका गाउँपालिकाका विम, नौरुङ, दुले, अर्गला, निस्कोट, देविस्थान समेत वस्ती, मंगला गापाका अर्मन, किमचौर, सिर्कुम, सहश्रधारा, कस्केवारीमा क्षति पुर्याएको थियो । त्यस्तै रघुगंगाको पिप्लेगलेश्वर र कुईनेमंगले, कोटगाउँ, अन्नपूर्ण गाउँपालिकाको तातोपानी, सुगा, फगाम, ठाडा, र दोसल्ले वस्ती र बेनी नपाका अर्थुङे, छापा, सल्लेरी, घतान, पात्लेखेत पहिरो प्रभावित क्षेत्र हुन ।
‘विस्थापित तथा बाढीपहिरो प्रभावितको तथ्याङक, हामीले स्थानीय तहमा सकृय रेडक्रसका उपशाखामाहरुले संकलन गरेको विवरणमा आधाररित छ । टोलवस्ती पुगेर सकेसम्मको अभिलेख अध्यवधि गरेका छौं’ नेपाल रेडक्रस म्याग्दी शाखाका प्रमुख धनन्जय श्रेष्ठले भने, ‘केन्द्रीय विपत ब्यवस्थापन समितिले विपतहरुको प्रारम्भीक द्रुत लेखाजोखा फारम भर्ने जिम्मेवारी रेडक्रसलाई दिएको भएपनि जिल्लामा प्रशासनले हामीलाई वेवास्ता गर्दा तथ्याङमा एकरुपता नभएको हो ।’
विस्थापित मध्य धौलागिरीका विस्थापितलाई हेम मावि सिवाङ, जनविकास आधारभुत विद्यालय, दलित सामुदायीक भवन र धारापानीका ६६ घर दलितपरिवारलाई नजिकै पाखामा त्रिपालको गोठ बनाई राखिएको छ । त्यस्तै मालिका गाउँपालिका विमका घरपूर्ण क्षति भएका १५ परिवारलाई गाउँका खाली घरमा ब्यवस्थापन गरिएको छ । घर जोखिममा परी विस्थापित भएकालाई किसानी मावि र केही ठाँउमा पाल टाँगेर राखिएको छ । धौलागिरी र मालिका बाढीपहिरोको मुख्य प्रभावित क्षेत्र हो । मंगला गापा, ५ अर्मनका ३४ परिवारलाई सुरक्षित स्थानमा स्थानन्त्रणगरी पालमा राखिएको छ । अर्मनका पहिरोको जोखिममा परेका परिवार दिनमा घर जाने र राती पालमा गै सुत्ने गरेका छन ।
बेनी नगरपालिकाका १५ परिवार आफन्तको घरमा आश्रय लिएका छन भने रघुगंगा गाउँपालिका, ८ कुईनेमंगलेका १३ परिवार आफन्तका घरमा आश्रय लिएर बसेका छन । गलेश्वरका पहिरो प्रभावितहरु भने दिनमा घर फर्कने तथा राती नजिकै गायत्री मन्त्रीरको धर्मशालामा सुत्ने गरेका छन ।
अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष केशमायाँ मगरसमेत ५२ घरपरिवार पहिरोले घर भत्काएको र पहिरोको उच्च जोखिममा परेपछि विस्थापित छन । यहाँका सवै विस्थापित आफन्तको घरमा आश्रय लिएर बसेका छन ।
‘घरको माथीदेखी निरन्तर पहिरो झरीरहेको छ । घरको छेउछाउसम्म ढुङ्गा आएका छन, माथी भीर थप चिरापरेको र पहिरो खस्न नरोकिएकोले घर छोडेर आफन्तको घरमा आश्रय लिएका छौं’ अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष समेत रहेकी पहिरोबाट विस्थापित केशमायाँ मगरले भनिन, ‘घरको सवै निकाल्यौं । खेतीपाती भएकोले दिनमा घरमा जान्छौं । धान, कोदो गोडमेल गर्छौं र राती आफन्तको घरम बस्न आउने गरेका छौं ।’
तर जिल्ला विपद ब्यवस्थापन समितिको सचिवालय समेत रहेको जिल्ला प्रशासन कार्यालयमा हालै ठूलो मानविय क्षतिसहित भएको बाढीपहिरो प्रभावित बाहेक अन्य तहको अभिलेख छैन । प्रशासन कार्यालयमा पहिरो गएको दई साता वित्दासम्म अझै विस्थापितको संख्या, महिला, पुरुष, बालबालिकाको संख्या र पशुचौपाया तथा भौतिक क्षतिको विवरण अध्यावधि गर्न सकेको छैन ।
‘बाढीपहिरोबाट पीडित, क्षति र लैङ्गिक विवरण समेत सवै तथ्याङक विभिन्न निकाय विच फरक–फरक पाईएको छ । हामीले प्राप्त गर्ने तथ्याङक प्रहरीले संकलन गरेको हो’ जिल्ला विपत ब्यवस्थापन समितिको फोकल पर्सन समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले भने, ‘स्थानीय तह, रेडक्रस समेत सामाजिक संस्था र प्रहरीले संकलन गरेको डाट मेल नखाएको भेटेका छौं । प्रहरीलाई डाटा अपडेत पठाउन भनेको छु ।’