- Loading...
फलफुल वेर्ना वेचेर लाखौं कमाउँछन म्याग्दीका किसान
- पुनहिल डट कम
- ४ महिना अघि
- १९३ पटक पढिएको
कृषीमा संभावना नदेखेर युवा विदेश पलायन भैरहेका बेला मंगला गाउँपालिका, ४ बरंजाका रेशम वुढाथोकीले लोकल बाँसखर्क जातका सुन्तला, कागती, ओखरका वेर्ना बेचेर असारमा एकमुष्ठ १४ लाख ५१ हजार रुपैयाँ नगद वुझे । फुटकर बेर्ना विक्रिको हिसाव नै राखेका छैनन ।
वुढाथोकीको वरंजा नर्सरी तथा पशुपंक्षी फर्ममा विउ, मल, ज्याला, वेर्ना उमार्ने प्लास्टिक, प्लास्टिक टनेल र औषधी समेत करिव २ लाख लगानी गरेका थिए । खर्च मध्यको ठूलो प्लास्टिक टनेल बहुवर्षिय लगानी हो ।
‘मैले यस वर्ष स्थानीय मंगला गाउँपाििलका, बाग्लुङको काठेखोला गाउँपालिका र बाग्लुङ वरेङको एक कृषक समुह र स्थानीयलाई सुन्तला, कागती, ओखर र सिर्मुकाठका बेर्ना वेचेर साढे चौध लाख नगद बुझें । ग्राहक खोज्न हिंड्नु परेन, सवैले हातहातमा पैसा बोकेर विरुवा लिन घरमै आएं’ वरंजा नर्सरी तथा पशुपंक्षी फर्मका संञ्चालक रेशम बुढाथोकीले भने, ‘घरको खेतीपाती, गाईभैसीको गोठभकारो, घाँसपात र सामाजिक कामसमेत भ्याएर पनि नर्सरीमा राम्रो भएको छ । इच्छा र जाँगर भए, बाहिर जानु पर्दैन रहेछ, घरमै आउँदो रहेछ, पैसा ।’
वुढाथोकीले थपे, ‘नर्सरीमा अनुदान प्राप्त भएकोले सुन्तला र कागतीका बेर्ना मैले स्थानीय पालिकालाई प्रति गोटा ४३ रुपैयाँको दरले र बाहिरका पालिका, समुहलाई प्रतिगोटा ४५ रुपैयाँको दरले बेचेको हुँ । ओखर प्रति बेर्ना ३ सय र सिर्मुका बेर्ना ६० रुपैयाँ गोटामा विक्रि गरेका हुँ ।’
थोरै लगानी गरेर मनग्य आम्दानी भैरहेको ब्यवसाय हो, नर्सरी । रेशम वुढाथोकीले जस्तै मनसुन सक्रिय भएसंगै फलफुल तथा अन्य जातका विरुवा बेचेर म्याग्दीका दर्जनबढी नर्सरी किसानले विरुवा वेचेर मनग्य आम्दानी गरेका छन ।
नर्सरी ब्यवसाय कम लागतमा, थोरै जनशक्ति र सजिलोसँग गर्न सकिन्छ । नर्सरीमा स्थानीय हावापानी सुहाउँदा फलफुल, टिम्मुर, डालेघाँस, राम्रा प्रजातीका काठका वेर्ना तथा सतुवा समेतका जडिबुटीका वेर्नाको माग बढी छ । नर्सरी ब्यवसाय ओझेलमा रहेको तर उदाउँदो ब्यवसाय हो । खासगरी फलफुलका वेर्ना उत्पादन गर्ने नर्सरीले थोरै लगानीमा मनग्य आम्दानी गर्न थालेका छन ।
सुन्तला, कागती समेत फलफुलका बेर्ना विउबाट उत्पादित र कलमी गरिएका हुन्छन । जिल्लामा काउली, काँक्रा, खुर्सानी, कुरिलो, प्याज, घिरौंला समेतका तरकारीका नर्सरी, सुन्तला, कागती, किवी, जुनार, एभोकाडो, ओखर, मेवा आदिका नर्सरी छन ।
यसैगरी डालेघाँस तथाबहुमुल्य काठ हुने सिर्मु समेतका वनपैदावरका वेर्ना उत्पादन गर्ने वन नर्सरी, टिमुर, लसुन, प्याज, कालो मरिच आदीउत्पादन गर्ने मसलेदार नर्सरी र सतुवा, अतिस, विषजरा समेतका विरुवा उत्पादन गर्ने जडिबुटी नर्सरी ब्यवसायीक रुपमा फस्टाएका छन ।
कृषी ज्ञान केन्द्रको अभिलेख अनुसार जिल्लामा सूचिकृत फलफुल नर्सरीको संख्या ९ वटा छन । छुट्टै ५ वटा बेनी नगरपालिकामा सूचिकृत फलफुल नर्सरी छन । सानो परिणाममा बेर्ना उत्पादन गर्ने तर सूचिकृत नभएका फलफुल नर्सरी ७ वटा छन । यी नर्सरीबाट बार्षिक एक लाखबढी सुन्तला, ३० हजार हाराहारीमा कागतीका बेर्ना उत्पादन हुने गरेको छ ।
‘फलफुलका स्वास्थ्य बेर्ना उत्पादन गर्ने र बजारीकरण गर्न नर्सरी प्रर्वद्धनमा प्राविधिक ज्ञान, प्रविधी र अनुदान सहयोग गरेका छौं’ कृषी ज्ञान केन्द्रका प्रमुख संञ्जिव बास्तोलाले भने, ‘जिल्लामा अमिला जातका फलफुलको लागि सवैभन्दा उत्तम क्षेत्र हो । उपल्लो क्षेत्रमा दाँते ओखर, आरु, आरुवखडा आदी राम्रो उत्पादन हुन्छ । विरुवाको मागपनि सुन्तला, कागतीपछि किवी, दाँते अखोखर र तल्लो क्षेत्रमाएभोकाडोको पनिमाग बढेको छ ।’
त्यस्तै फलफुल तथा वन नर्सरीबाट मनग्य आम्दानी गर्नेमा पर्छन, बेनी नगरपालिका, ९ तोरीपानीका सागर बानियाँ । बानियाँले फुलफुल जातका सुन्तला, कागती, ओखर बाहेक टिमुरका बेर्ना उत्पादनमा दक्षता राख्छन ।
बेनी नगरपालिका, ३ भकिम्लीको ‘बेलढुङ्गा फलफुल नर्सरी’ ले यस वर्ष सुन्तला र कागतीका विजु बेर्ना वेचर ८ लाखबढी आम्दानी गरेको जनाएको छ । ‘हामी फलफुल नर्सरीमा नयाँ हौं तर ब्यवस्थित सुरु गरेका छौं । सरकारी बजार खोज्नु पर्ने भएकोले सरकारी दररेट भन्दा सस्तो मुल्यमा बेचेका छौं’ वेलढुङ्गा फलफुल नर्सरीका केयरसिं पुनले भने, ‘फलफुल नर्सरीमा राम्रो भविश्य छ । जिल्लामा अहिलेसम्म विजु विरुवा मात्र उत्पादन छ, कलमी विरुवाले छिटो प्रतिफल दिने भएकोले हामी कलमी विरुवा उत्पादन तयारीमा छौं ।’
त्यस्तै, अन्नपूर्ण गाउँपालिका–३ दानाका जोगबहादुर विश्वकर्माले यस वर्ष सुन्तला र कागतीका बेर्ना वेचेर एक लाख कमाए भने, सोही ठाउँका दुर्गादत्त सुवेदीले ६० हजार कमाए । यी केही उदाहरणमात्र हुन । सानो र गाउँको पाखोवारीमा पनि सजिलै गर्न सकिने नर्सरी ब्यवसायमा पुरुष र महिला उक्तिकै सत्रिय छन ।
फलफुल तथा तरकारीका वेर्ना उत्पादन गर्ने नर्सरी ब्यवसाय संञ्चालन गर्नेमध्ये दानाका दिलमाया पुन, गौमती वुढाथोकी, बेनी–९ कि सरस्वती चोखाल, ७ कि सिता गुरुङ पनि अगुवा हुन । घर छेउको जंगलबाट पर्स्याउला ल्याउँछन, गाईभैसीको गोवर मिलाएर कम्पोष्ट मल बनाउँछन । विउ पनि बाहिरबाट ल्याउनु पर्दैन । वारीकै सुन्तलाका बोटबाट ठूला र स्वस्थ दाना छानेर विउ झिक्छन । विरुवा उर्माछन ।
विरुवामा पनि विचौलिया सकृय छन । पहुँचवाला विचौलियले जिल्ला–जिल्लाका स्थानीय तहमा पुगेर अनुदानका विरुवा ल्याउन टेण्डर हाल्छन । टेण्डर स्वीकृत भएपछि ब्यापारीहरु नर्सरी पुग्छन र सस्तोमा वेर्ना उठाउँछन । वेर्ना उत्पादन गर्ने कृषकको अनुदानमा विरुवा वितरण गर्ने कार्यालय/निकायसम्म पहुँच नपुग्ने र सरकारी विधी प्रकृया पुर्याउन नसक्ने भएकोले विचौलियाले कतिमा टेण्डर गर्छन, कतिमा वेच्छन कृषकले पत्तै पाईदैनन ।
‘सरकारी कार्यालयमा पुगेर कोटेशन हाल्ने, मोलमोलाई गर्ने ढंग छैन, चिनजान पनि छैन । फलफुलका वेर्ना वेच्ने ठूला ब्यापारीले विभिन्न कार्यालयमा कोटेशन गरी महंगो मुल्यमा वेर्ना वेच्ने ठेक्का लिन्छन । हामीले तिनै ठेकदारलाई सस्तोमा वेर्ना वेच्छौं’ जोगबहादुर विकले सुनाए ।
कृषी ज्ञान केन्द्रको अभिलेख अनुसार यस वर्ष जिल्लाका ६ वटा पालिकाले ३ हजार ९ सय वटा केरा, १ हजार ३ सय ९० वटा किवी, एक सय १४ ओखर, २७ हजार ३ सय ५० वटा सुन्तला र ६ हजार ६ सय ३५ वटा कागतीका वेर्ना अनुदानमा बाँडेका छन । मंगला गाउँपालिकाले सर्वाधिक १४ हजार सुन्तलाका बेर्ना बाँडेको छ भने धवलागिरी गापाले ७ हजार २ सय ६० सुन्तला वेर्ना बाँडेको छ । रघुगंगा गापाले यस वर्ष विरुवा वितरण कार्यक्रम नभएपनि एक वडाले ३ सय १० वटा सुन्तला बेर्ना बाँडेको जनाएको छ ।
ज्ञान केन्द्र प्रमुख बास्तोलाका अनुसार प्रोजेक्टेड ग्रीनहाउस भित्र उत्पादित सुन्तला जातका बेर्नाको जिल्ला दररेट ५० रुपैयाँ गोटा मुल्य निर्धाण गरिएको छ । कलमी वेर्नाको भने ६५ रुपैयाँ गोटा मुल्य निर्धारण गरिएको छ । फलफुल खेतीले जिल्लामा विस्तारै ब्यवसायीक बन्न थालेसँगै फलफुलका वेर्ना उत्पादन गर्ने नर्सरी ब्यवसाय पनि फस्टाउन थालेको छ ।
पछिल्लो एक दशकदेखी जिल्लामा सुन्तलाको ब्यवसायीक खेती फस्टाउन थालेको हो । सुरु सुरुमा कृषकहरुले कृषी कार्यालय मार्फत स्याङ्जा, गोर्खाबाट सुन्तलाका वेर्ना ल्याएर रोप्ने गर्थे । कृषी कार्यालयले नै सुन्तला, कागतीका वेर्ना जिल्लामै उत्पादन गर्न सिकाएपछि नर्सरी ब्यवसाय सुरु भएको हो ।
०४४/०४५ साल तिर तत्कालिन कृषी शाखाले गलेश्वरमा सरकारी स्वामित्वको फलफुल नर्सरी स्थापना गरी सुन्तला र कागतीका वेर्ना उत्पादन थालेको थियो । जिल्लाको पहिलो फलफुल नर्सरीबाट उत्पादित सुन्तला, कागतीका वेर्ना वरपरका कृषकलाई दुई–चार वटाका दरले बाँड्थ्यो । जुन नर्सरी बहुदल आएपछि भताभुङ्ग भयो ।
वेलायती सरकारको अनुदानमा संञ्चालित लुम्ले कृषी केन्द्रले चार दशक अघि जिल्लाको उत्तरी भेगका वस्तीहरुमा आरु, आरुवखडा, खुर्पानी समेतका फलफुलका वेर्ना वितरण गर्ने र डाले घाँसका वेर्ना उत्पादन गर्ने नर्सरी बनाई दिएको थियो । २०४० साल तिर राखु, घार, तातोपानी, दाना क्षेत्रमा सुन्तलाको राम्रो खेती गरिएको भएपनि ति परम्परागत थिए, ब्यवसायीक थिएनन ।
जिल्लामा सुन्तलाको ब्यवसायीक खेती थाल्ने अगुवा कृषक भने बेनीनगरपालिका, ३ भकिम्ली राखुका धनबहादुर रोका हुन । रोकाले ०४७ सालमा स्थापना गरेको ‘धनश्री बागवानी फारम’ जिल्लाको पहिलो ब्यवसायीक फलफुल फारम हो ।
कोदो वारी मासेर सुन्तला खेती गरेका रोकाको वारीमा लटरम्म फलेका सुन्तला पाकेर पहेंलपुर भएको देखेपछि मात्र छिमेकीले सुन्तला खेती गर्न थालेका थिए । अहिले भकिम्ली राखु, सुर्केमेला, बास्कुना, थामडाँडा, मरेक क्षेत्रका सवैका कोदो वारीमा सुन्तला खेती भैरहेको छ ।
जिल्लामा निजी क्षेत्रबाट सुन्तला जातका फलफुलका वेर्ना उत्पादन सुरु गर्ने अगुवाहरु भने अन्नपूर्ण गापा, ३ दानाका जोगबहादुर विक र बेनी गपा, ३ भकिम्ली राखुकी मनकुमारी पुन हुन । साविकको कृषी विकास कार्यालयले ०५९/०६० साल तिर नर्सरी तालिम दिएपछि सुन्तला र कागतीका वेर्ना जिल्लामै उत्पादन सुरु भएको हो ।
‘जिल्लाको पहिलो फलफुल नर्सरी गलेश्वरमा तत्कालिन कृषी शाखाले स्थापना गरेको नर्सरी हो । जुन सफल बनेन । निजी क्षेत्रबाट भने ०५८–०६० बाट भकिम्ली र दानामा कृषी विकास कार्यालयको प्राविधिक तथा आर्थिक सहयोगमा स्थापना गरिएको हो’ म्याग्दी र मुस्ताङमा ३४ बर्ष कृषी/वागवानी क्षेत्रमा कृषी प्राविधिक भै काम गरेका सेवानिवृत कृषी प्राविधिक भोगबहादुर थापाले भने, ‘जिल्लामा फलफुल (सुन्तला)को ब्यवसायीक खेती गर्ने अगुवा कृषक भकिम्ली राखुका धनबहादुर रोका र फर्म धनश्री बागवानी फारम हो ।’
कृषी ज्ञान केन्द्रको अभिलेख अनुसार जिल्लाको करिव ७ सयबढी हेक्टर क्षेत्रफलमा सुन्तला खेती भैरहेको छ । सुन्तला खेती गरिएको मध्य ३ सय ५५ हेक्टर क्षेत्रफलमा लगाएका सुन्तलाका बोटबाट उत्पादन भएको छ । ज्ञान केन्द्रले तयार पारेको विवरण अनुसार म्याग्दीका कृषकले सुन्तला बेचेर २१ करोडबढी आम्दानी गरेका थिए । पछिल्ला तीन वर्षदेखी बर्षेनी उत्पादन दिने सुन्तला खेतीको क्षेत्रफल १०–१२ हेक्टर बढीरहेको छ ।
‘धान खेत र कोदो वारीमा सुन्तला रोपेको हुँ । सुन्तला खेतीलाई मल पुर्याउन कुखुरा पालेको छु, केही बाख्रा छन । यही आम्दानीले चार जना छोराछोरीलाई काठमाण्डौ राखेर पढाएको छु । नर्स, इन्जिनियर र अरु पढ्ने सवै खर्च पुर्याउने मुल श्रोत यही सुन्तला खेती हो’ बेनी नपा, ४ बास्कुनाका तिलकबहादुर गुरुङले भने, ‘सुन्तला, कागतीबाट बार्षिक ८–९ लाख आम्दानी हुन्छ । गाउँभरी सवैका बारीमा सुन्तलै सुन्तला छन ।’ उनले थपे, ‘सुन्तला वेच्न समस्या छैन, पोखरा, काठमाण्डौ, नायारणगढ र वुटवलका ठूला ब्यापारी पैसा बोकेर दैलोमा आउँछन, वोटमा हेर्छन, गम्छन र बगानै किन्छन । रोगब्याथी र असिनाबाट जोगिए, पैसा हातमै आउँछ ।’