- Loading...
प्रचण्डको ज्वाईं अर्थमन्त्री
- पुनहिल डट कम
- १ साल अघि
- ७५ पटक पढिएको
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आइतबार मन्त्रिपरिषद् विस्तार गर्दा नेकपा माओवादी केन्द्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ जीवन आचार्यले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनी अघिल्लो सरकारमा पर्यटन, वन तथा वातावरण मन्त्री थिए ।
नेपाली कांग्रेसका नेता थापाले मुख्यमन्त्री नियुक्त भएको (२१ असारमा) तीन दिनमै आचार्यलाई शक्तिशाली मन्त्रालयको जिम्मेवारी दिएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ रहेका आचार्यले बढुवासहित मन्त्रीको अवसर पाउँदा माओवादीभित्र चर्को असन्तुष्टि देखिएको छ ।
उदयपुर–२ (१) बाट निर्वाचित सांसद नारायण बुर्जा मगरले राजीनामाकै चेतावनी दिएका छन् । माओवादीमा दोहोर्याएर चुनाव जित्ने थोरै नेतामा उनी पर्छन् । तर पहिलोपटक प्रदेशसभा सदस्य जितेका आचार्यलाई दोहोर्याएर रोजाइको मन्त्री बनाउने निर्णयप्रति मगरले असन्तुष्टि जनाएका छन् ।
स्रोतका अनुसार, आचार्यसँगै मगरको नाम पनि मन्त्री बन्ने सूचीमा थियो । आइतबार मन्त्रिपरिषद् विस्तार हुँदा भने मगरको नाम काटिएर माओवादीबाट जीवन आचार्यले शपथ लिए ।
माओवादी केन्द्रका एक नेता भने प्रधानमन्त्री प्रचण्डमा हद तहको परिवार लिप्सा देखिँदा जीवन आचार्य शक्तिशाली मन्त्री बन्न पुगेको तर्क गर्छन् । तर प्रचण्ड आफै ज्वाईंलाई अवसर दिने पक्षमा उभिएपछि माओवादीका अरु नेताको चाहनाले काम गरेन । प्रचण्डकी छोरी गंगासँग विवाह गरेपछि पार्टीमा लागेका जीवनलाई २०७४ कै चुनावमा टिकट दिइएको थियो ।
ज्वाईंलाई उम्मेदवार बनाउन प्रचण्डले कांग्रेससँग प्रतिनिधिसभा निर्वाचन क्षेत्रकै टिकट साटेका थिए ।
प्राथमिकतामा परिवार
कुनै बेला आफूलाई कट्टर पहिचानवादी नेता बताउने प्रचण्डले प्रदेशको नामकरण कोशी राख्ने निर्णय लिनु र ज्वाइँलाई लगातार मन्त्री बनाउने निर्णय लिनुले मात्रै परिवार मोहको आरोप खेप्नु परेको होइन । ज्वाईं जीवन त प्रचण्डमा परिवार मोह रहेको देखाउने पछिल्लो उदाहरण मात्रै हुन् ।
यसअघि छोरी रेनुलाई भरतपुर महानगरको मेयर बनाउने निर्णयका कारण प्रचण्डले ठूलो आलोचना खेपेका थिए । कांग्रेससँग गठबन्धन गरेर २०७४ को स्थानीय चुनावमा रेनुलाई भरतपुर महानगरको मेयर पदमा उम्मेदवार बनाएको माओवादीले जवाफै दिन नसक्ने परिस्थिति खेप्नुपरेको थियो ।
पहिलोपटक कांग्रेससँग चुनावी गठबन्धन गरेकाले माओवादी कार्यकर्ताले रुख चिह्नमा र कांग्रेसले माओवादीलाई भोट हालेका थिए । यति गर्दा पनि रेनुलाई जित्न कठिन परेको थियो ।
रेनुलाई जिताउन मतपत्र च्यातेको दृष्य संसदीय अभ्यासकै निर्लज्ज घटना बन्यो । तिनै रेनु २०७९ को चुनावबाट मेयर दोहोरिएकी छन् । अर्की छोरी गंगाको कारण पनि प्रचण्ड उत्तिकै आलोचित छन् । प्रचण्ड प्रधानमन्त्री हुँदा स्वकीय सचिवका रुपमा गंगाले देखाइरहेको भूमिकालाई लिएर माओवादीभित्रै असन्तुष्टि छ ।
प्रधानमन्त्री प्रचण्डको (गत १७–२० जेठमा) भारत भ्रमणका क्रममा देखिएको गंगाको भूमिकालाई लिएर विपक्षी दलहरुले संसदमै कुरा उठाएका थिए । भारतीय अधिकारीहरुसँग कुरा गर्दा परराष्ट्र मन्त्री वा सचिव नराखी छोरी गंगालाई राखिएको भन्दै प्रधानमन्त्रीसँग प्रश्न गरिएको थियो ।
समकक्षी नरेन्द्र मोदीसँग वार्ताअघि १७ जेठ साँझ प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनयमोहन क्वात्रासँग भेटेका थिए । त्यो भेटमा प्रचण्डसँग छोरी गंगा मात्रै थिइन् ।
दुई छोरी र ज्वाईं जीवन मात्रै नभएर प्रचण्डले भाइ नारायण दाहाललाई पनि सुविधाको पद दिएका छन् । रामनारायण बिडारीको चार वर्षे कार्यकाल सकिएपछि २५ फागुन २०७८ मा नारायण दाहाल राष्ट्रियसभा सदस्य मनोनित भएका थिए ।
मन्त्रिपरिषदको सिफारिसमा दाहाल राष्ट्रियसभा सदस्य मनोनित हुँदा पनि प्रचण्डको परिवार मोहप्रति आलोचना भएको थियो । तर त्यसबेला प्रचण्डले कुनै जवाफ नदिए पनि भाइ नारायणले प्रतिवाद गरेका थिए । ‘मेरो दाबी छ, यस्तै बाहिरका कुराले मैले जति अवसरहरु पाउनुपर्ने हो, त्यो गुमाएको छु’, शपथपछि नारायण दाहालले भनेका थिए ।
बुहारी बिना मगरलाई पनि प्रधानमन्त्री प्रचण्डले परिवारका अरु सदस्य जत्तिकै महत्वका साथ अवसर दिएका छन् । तर गठबन्धनको उम्मेदवार बन्दा पनि बिना कञ्चनपुर–१ बाट पराजित भइन् । एमाले उम्मेदवार तारा लामासँग बिना पराजित भइन् ।
२०७४ को चुनावमा भने उनी यही क्षेत्रबाट जितेकी थिइन् । पहिलोपटक चुनाव जित्नासाथ बिना खानेपानी तथा सरसफाइ मन्त्री भइन् । ३ जेठ २०७५ मा एमालेसँग माओवादीको एकता भएपछि बिनाको मन्त्री पद लगभग स्थायी जस्तै थियो ।
माओवादीबाटै मन्त्री भएका अरु नेताको जिम्मेवारी हेरफेरदेखि पदमुक्त भइरहँदा बिना ढुक्कले मन्त्री रहिरहिन् । ५ पुस २०७७ मा केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि तत्कालिन नेकपामा प्रचण्ड र माधव नेपाल पक्षका सात मन्त्रीले सामूहिक राजीनामा दिंदा मात्रै उनी सरकारबाट बाहिरिएकी थिइन् ।