FLASH NEWS
  • Loading...

टुसाको खाने सिजन

  • पुनहिल डट कम
  • १ साल अघि
  • २०० पटक पढिएको
टुसाको खाने सिजन

सहरका आफन्तलाई के कोसेली पठाउने ? सजिलो छ, टुसा । सहरमा टुसा भनेपछि हुरुक्कै हुन्छन, त्यसैले गाउँवाट सहर झर्दा आफन्तलाई लैजाने गतिलो कोसेली बनेको छ, निगालोको टुसा । तर कानुनतः टुसा संरक्षित वनपैदावर हो ।

नेपालका तारे होटलहरुमा विदेशबाट प्याकिङ्गका टुसा ल्याईन्छ । तर हाम्रा लेकाली वनजंगलमा प्रशस्त पाईने टुसाको ब्यवस्थापन गर्न आवश्यक छ । कुरिलो जस्तै टुसाको खेती संभव छ । टुसा भाँचेको कारण निगालोको झाडी फैलन र निगालाे अग्लाे बन्न सक्दैन । ब्यवस्थापन गरी एउटा निगालाेकाे घारीबाट बढीमा २–३ वटासम्म टुसा झिक्दा समस्या नहुने अनुभवीहरू बताउँछन ।

निगालोको टुसाको तरकारी कस्लाई पो मिठो नहोला र ? बर्षायाम सुरु भएसँगै जिल्लाका लेकाली वस्तीका अधिकांश घरका भान्सामा टुसाको तरकारी पाक्छ । पाहुनाको सत्कारमा टुसाको तरकारी पहिलो प्राथमिकतामा पर्ने गरेको छ । पाहुना पनि मासु भन्दा टुसाको तरकारीमा सन्तुष्ट हुन्छन । टुसा आलु वा कुखुराको मासुमा मिसाएर पकाउँदा बढी स्वादिलो बन्छ ।
लेकाली वस्तीमा टुसा भाँच्नेको चटारो लागेको छ । माथिल्लो लेकाली जंगलमा निगालोको टुसा पलाउन थालेपछि भाँच्नेको लर्को लाग्छ । लेकाली वस्तीबाट सहर झर्नेको झोलामा कोसेली (पार्सल) टुसा बोकेका हुन्छन । वाल्यकालमा टुसाको स्वाद पाएकाहरु बर्षायाम सुरु भएपछि सहरको बसाई छोडेर टुसा टिप्न मात्र पनि लेक उक्लन्छन ।
‘आजभोली पर्यटक छैनन, सवै गाउँले जंगल तिर टुसा, च्याउ र ढकायो साग टिप्न लर्को लाग्छ’ धवलागिरी गापा, ४ मुदी बगराकी हस्तमाया पुनले भनिन, ‘घरमा खाने मात्र होईन पोखरा, काठमाण्डौ लगाएत सहरका आफन्तलाई कोसेली पठाउन पनि टुसा टिप्न जान्छौं । जुकाले टोक्ने त सामान्य हो । साथीभाईसंग निगालोको बाक्लो झाडीमा टुसा टिप्न जाँदा रमाईलो पनि हुन्छ ।’
मिठो तरकारी वन्ने टुसा जरवुटा र मालुङ्गे जातका निगालो हो । यहाँका कृषकहरु ब्यापारिक प्रयोजनकालागी भन्दा घरमा खाने र आफन्तलाई कोसेली पठाउने प्रयोजनमा मात्र टुसा टिप्ने गरेका छन । टुसा ल्याएपछि बाहिरी वोक्राहरु फालेर भित्रको कलिलो भागलाई तरकारीको रुपमा प्रयोग गरिन्छ । टुसाको भित्री भागलाई वफाएर सुकाएपछि सुकुटी बनाई पछि खान पनि सकिन्छ ।


जिल्लाका उपल्लो भेगका राम्ने, घोडेपानी, स्वाता, पाउद्धार, नारच्याङ्ग, दाना, चिमखोला, कुईने, मंगले, मुदी, लुलाङ्ग, गुर्जा क्षेत्रमा प्रशस्त टुसा पाईन्छ । नेपालमा सवै भन्दा निगालोको टुसाको ब्यापार भने पोखरामा हुने गर्छ । तरकारीको रुपमा उपयोग गरिने जरवुटा र मालुङ्गे जातका निगालो २ हजार मिटरदेखी ४ हजार मिटरसम्मका उच्च पहाडी क्षेत्रमा मात्र पाईन्छन । वेंशीमा पाईने निगालो, तितेको टुसा खाँदैनन ।
टुसा खान मिठो भएपनि टिप्न सजिलो भने हुँदैन । घरदेखी धेरै टाढाका वस्तीमा खाना, खाजा बोकेर कहिलो काहीं त जंगलमै बास बस्नु पर्छ । बाक्लो निगालोको झाडीमा झरीवादल नभनी जुकाको टोकाई खप्नु पर्छ । ज्यानकै जोखिम पनि उत्तिकै रहन्छ । निगालोका टुसा हाव्रे र भालुको मुख्य आहारा हो । भालुको आक्रमण झेल्नु पर्छ । टुसा टिप्न जंगल गएको बेला भालुको आक्रमणमा परि कतिको ज्यान नै जान्छ ।
‘टुसा खान मिठो हो । भालुको आक्रमण हुने खतरा भैरहन्छ । एक्लै टुसा टिप्न जानु हुँदैन’ धौलागिरी पदमार्गको दोभानका बमबहादुर पाईजाले भने, ‘निगालोको टुसा भालुको मुख्य आहारा भएकोले टिप्न गएको बेला भालुको आक्रमणमा परी धेरै मान्छे मरेका छन ।’
टुसा निगालोको मुना हो । टुसा हुर्केर नै निगालो बन्छ । अरु सवै वनस्पति वेंशीको गर्मी क्षेत्रमा छिटो पालुवा हान्छन र विस्तारै लेकाली क्षेत्रका विरुवाले पालुवा हाल्छन । तर निगालो शुरुमा लेकमा पालुला अर्थात टुसा पलाउँछन र विस्तारै तल्लो क्षेत्रका निगालोमा टुसा पलाउने गर्छ ।
निगालो ग्रामिण जनजीवन सहज बनाउने प्रमुख वस्तु हो । डालो, डोको, नाम्लो, थुन्से, भकारी, चित्रा, मान्द्रो लगाएतको दैनिकीसंग जोडिएका घरायसी सामाग्री बनाउन निगालाको प्रयोग हुन्छ । सीमी खेतीमा निगालोको थाँक्रो बनाउने र गोठ बनाउन पनि निगालोको भरेना (घरको वीम जस्तै भकारी अड्याउन प्रयोग हुन्छ) बनाईन्छ ।