- Loading...
देशकै ठूलाे सोलार आयोजनाको १.२५ विद्युत् प्रणालीमा थपियो
- पुनहिल डट कम
- ४ साल अघि
- १२९६ पटक पढिएको
प्राधिकरणको स्वामित्वमा रहेको देवीघाट विद्युत केन्द्रको नाममा रहेको जग्गामा राखिएको सोलार प्यानलमार्फत दिउँसो उत्पादित विद्युत सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । ब्याट्री नराखिएकाले घाम लागेको समयमा मात्रै सोलार प्लान्टबाट विद्युत् उत्पादन हुने छ । २५ मेगावाट जडित क्षमताको ग्रिडमा आवद्ध नेपालकै सबैभन्दा ठूलो सोलार आयोजना हो ।
आयोजनाको १० मेगावाट विद्युत् डेढ महिनाभित्रमा ग्रिडमा जोडिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । बाँकीको काम अगाडि बढिरहेको तर प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन स्वीकृतिको प्रक्रियामा रहेकाले निर्माणमा केही समय लाग्ने देखिएको कार्यकारी निर्देशक घिसिङले बताए ।
‘वैशाखभित्रमा १५ मेगावाट ग्रिडमा जोड्ने गरी काम भइरहेको थियो तर लकडाउनका कारण निर्माण प्रभावित हुँदा केही ढिला भयो’,घिसिङले भने । ‘सोलारबाट उत्पादित विद्युत जोडिएसँगै नेपालको प्रणालीमा जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् बढी रहेकोमा अब ऊर्जाका विभिन्न स्रोतको विविधिकरण हुँदै प्रणालीमा ऊर्जा मिश्रण बढ्दै गएकोछ ।’
सरकारले दीर्घकालिन रुपमा आन्तरिक उत्पादनबाटै विद्युतमा आत्मनिर्भर हुने उद्धेश्यले आगामी दश वर्षमा उत्पादन गरिने १५ हजारा मेगावाटको लक्ष्यलाई आधार मानी विद्युत आयोजनाहरुको उत्पादन समिश्रण अनुपात लागू गरेको छ । प्रणालीमा जलाशययुक्त तथा पम्प स्टोरेजः ३०–३५ प्रतिशत, पिकिङ रन अफ द रिभरः २५–३० प्रतिशत, रन अफ द रिभरः ३०–३५ प्रतिशत र अन्य वैकल्पिक श्रोतः ५–१० प्रतिशत बमोजिमको अनुपात कायम रहने व्यवस्था गरिएको छ ।
विद्युत केन्द्रको कर्मचारी आवास क्षेत्र नजिक रहेको खाली जग्गामा १० मेगावाट र पावर हाउस नजिक रहेका तीन ठाउँमा ५ मेगावाट विद्युत् उत्पादन गर्न सक्ने सोलार प्यानलको जडान गरिएको छ । अहिले देवीघाट विद्युतगृह नजिकको एक ठाउँमा राखिएको प्यानलबाट उत्पादन भएको विद्युत् प्रणालीमा जोडिएको हो । एउटा प्यानलबाट २ सय ७५ वाट विद्युत् उत्पादन हुने छ । एक मेगावाट उत्पादन गर्ने प्यानल राख्न २० रोपनी जग्गा प्रयोग गरिएको छ ।
देविघाट विद्युतगृह नजिकै सोलार आयोजनाबाट उत्पादित विद्युत् जडानका लागि ६६–३३ केभीको नयाँ सबस्टेसन पनि निर्माण भइरहेको छ । सबस्टेसन निर्माणमा केही समय लाग्ने देखिएकाले हाल चालू अवस्थामा रहेको ३३ केभी प्रसारण लाइनमार्फत वैकल्पिक व्यवस्था गरी सोलारबाट उत्पादित विद्युत् प्रणालीमा जोडिएको आयोजना प्रमुख विकास बहादुर रघुबंशीले जानकारी दिए ।
विश्व बैकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजना अन्तर्गत प्लान्ट स्थापनाका लागि चिनियाँ कम्पनी राइजन ईनर्जीस“ग तीन करोड ८० लाख अमेरिकी डलरमा ठेक्का सम्झौता गरिएको थियो । सोलार प्लान्टको डिजाइन, आपूर्ति, निर्माण, सञ्चालन र मर्मतसम्भार ठेकेदार कम्पनीलेनै पाँच वर्षसम्म गर्ने छ । कम्पनीले ५ वर्षसम्म प्लान्टको सञ्चालन तथा मर्मतसम्भार गरी प्राधिकरणलाई चालू अवस्थामा हस्तान्तरण गर्ने छ । कम्पनीले प्लान्टबाट वार्षिकरुपमा तीन करोड ३० लाख युनिट सुनिश्चित ऊर्जा (ग्यारेण्टेड इनर्जी) आपूर्ति गर्नु पर्ने छ ।
प्लान्ट पूर्ण रुपमा सञ्चालनमा आएपछि हिउँदमा राष्ट्रिय प्रणालीमा रहेको ऊर्जा अभावलाई कम गर्न सहयोग गर्ने छ ।
प्लान्ट सञ्चालनमा आएपछि कुलेखानी जलाशययुक्त र कालीगण्डकी ए,मध्यमस्र्याङदी,मस्र्याङदी, चिलिमे जस्ता अर्ध–जलाशययुक्तको जलाशयमा दिउसो पानी सञ्चित गरी ती विद्युत केन्द्र विद्युतको माग बढी हुने बेलुका र बिहान (पिक समय) सञ्चालन गर्न मद्दत पुग्ने छ । जसले पिक समयको विद्युत माग र आपूर्तिको व्यवस्थापनलाई थप सहज बनाउने अपेक्षा प्राधिकरणको छ । https://www.merolagani.com