- Loading...
म्याग्दीमा सडक अवरुद्धहुँदा घाईतेको उद्धारमा समस्या, १०२ परिवार विस्थापित, ८६ घर उच्च जोखिममा
- पुनहिल डट कम
- ३ साल अघि
- १६३ पटक पढिएको
पहिरोले घर भत्कदा पुरिएर घाईते भएकी मंगला गाउँपालिका, ४ सिर्कुमकी ६२ बर्षिया भीमकला वुढा मगरको उद्धारमा समस्या भएको छ ।
लगातारको भारी बर्षापछि घर भत्कदा च्यापिएर गम्भीर घाईते भएकी बुढाको कम्मरमुनीको भाग नचल्ने भएको छ । घाईतेलाई बोकेर स्वास्थ्य संस्था पुऱ्याउने स्थानियले प्रयास गरेपनि बाढीपहिरोले सवै पैदलमार्गसहित मोटरबाट बन्द भएको र खराव मौषमको कारण हेलिकोप्टरबाट उद्धार गर्न समस्या भएको मंगला गाउँपालिका उपाध्यक्ष सृजना केसीले बताईन ।
लगातारको झरी/बर्षापछि मंगलाको सिर्कुममा मात्र होईन, सदरमुकाम बेनीबाट थप उपचारकालागी पोखरा रिफर गरिएकी अन्नपूर्ण गाउपालिका, १ दोवाकी घाईते सोनाम राम्जालीलाई बेनीका स्वयंसेवकहरुले स्टेचरमा बोकेर कुस्मा पुऱ्याई गाडीमा पोखरा पठाएका थिए । राम्जाली मंगलवार पहिरोमा परी घाईते भएकी थिईन ।
जिल्लाका सवै सडक अवरुद्ध हुँदा विरामीलाई आकस्मिक अस्पताल पुऱ्याउन समेत समस्या भएको छ । राजधानी समेत सहरबाट जिल्ला जोड्ने मालढुङगा–बेनी, बाग्लुङ–बेनी समेत प्रमुख तथा ग्रामिण सवै सडकमा झरेका पहिरोले यातायात अवरुद्ध भएको छन । त्यस्तै बाढीपहिरोले पोल ढल्ला जिल्लाका अधिकांश ग्रामिण वस्तीमा विधुत आपूर्ती बन्द भएको विधुत प्राधिकरणले जनाएको छ ।
बुधवार दिउँसो १ बजे प्रमुख जिल्ला अधिकारीले आयोजना गरेको स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा सरोकारवालाहरुको बैठकमा गरिएको रिपोर्ट अनुसार चार दिनदेखी अविरल भारी/अतिभारी वर्षाको बाढीपहिरोले घर भत्केको र उच्च जोखिममा परेपछि १०२ परिवार विस्थापित भै आफन्तको घर, गोठ र सुरक्षित स्थल तर्फ लागेका छन । बाँकी ८६ घर बाढीपहिरोको उच्च जोखिममा छन ।
मनसुनजन्य विपदबाट सवैभन्दाबढी बेनी नगरपालिकाको २, ३, ४, ५, ६ र ९ वडामा स–साना पहिरोले घर भत्केपछि ४२ परिवार विस्थापित भएका छन । १ सय २२ घर उच्च जोखिममा रहेको छ । बेनी नगरपालिका, ४ तातोपानीको उपल्लो बजारमा तलबाट म्याग्दी खोलाको कटानले र माथीबाट पहिरोले गरी दोहोरो जोखिममा परेको स्थानीय कुमार केसीले बताए । छुट्टै यहाँको तातोपानीको मुहान पनि म्याग्दी खोलामा आएको बाढीले पुरेको छ ।
‘सदरमुकाम समेत रहेको बेनीबजार कालीगण्डकी नदी कटानको उच्च जोखिमा परेको छ । संरक्षणकालागी लगाएको तटवन्ध दुई स्थानमा कालीगण्डकीले भत्काई कटान सुरु गरेको छ’ प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले भने, ‘बेनीको सुरक्षित क्षेत्र मानिएको न्यूरोडको पछिल्लो भागमा पनि माथीबाट पहिरो खस्न थालेको छ भने कालीपुल वसपार्कमा बाढीले क्षति पुऱ्याएको छ । छुट्टै सिंङ्गा तातोपानी बजारपनि जोखिममा परेको छ ।’
बेनी नगरपालिका, ६ डम्बरा क्षेत्रको वस्ती, वडा नं ४ उपल्लो तातोपानी र मसारवस्ती बाढीको कटान तथा पहिरोको उच्च जोखिममा छन । यी स्थानमा म्याग्दी नदीले धमाधम कटान गरिरहेको र माथीबाट पहिरो झरी रहेको छ । त्यस्तै वेनी बजारको हस्पिटलचोक, क्याम्पसचोक, न्युरोडको भित्ता खण्ड, वराहपाखो र खानेपानी ट्याङ्की र मंगलाघाट क्षेत्रमा पहिरो तथा कालीपुल र तल्लो बजार क्षेत्रमा कालीगण्डकी नदी कटानको जोखिम झन बढ्दै गएको छ ।
त्यसैगरी अन्नपूर्ण गाउँपालिकामा १७ घर परिवार विस्थापित भै आफन्तको घर, गोठ र सुरक्षित स्थलमा आश्रय लिएर बसेका छन । अन्नपूर्णको दोवा, पाउद्धार, किन्दु, स्वाता, घार, काफलडाडा र राम्चेमा पहिरोले बढी क्षति पुऱ्याएको छ ।
मंगला गाउँपालिका उपाध्यक्ष सृजना केसीका अनुसार मंगला गाउँपालिका, ४ धापुङमा ६ परिवारसहित बाढीपहिरोबाट मंगला गापामा २० परिवार विस्थापित भै आफन्तको घर तथा सुरक्षीत स्थानमा लगिएको छ । छुट्टै गत वर्षको मनसुनजन्य विपदमा घर गुमाएका एक ब्यक्तिको पुननिर्माण भैरहेको घरमा यो वर्ष फेरी पहिरोले पुरेको छ । थप ४ घर उच्च जोखिमा परहेका छन । मंगला गापामा पहिरोले एक विद्यालयमा क्षति पुऱ्याएको छ ।
लगातारको बर्षापछि मालिका गाउँपालिकामा २ पसलसहित ८ घरपरिवार विस्थापित भएको र गाउँपालिका केन्द्र रहेको दरवाङ वजारसहित दर्जनबस्ती उच्च जोखिममा रहेका प्रमुख प्रशासकीय अधिकृत विष्णु पौडेलले बताए ।
दुर्गम धवलागिरी गाउँपालिकाका विभिन्न वस्तीमा पहिरोले घरमा क्षति पुऱ्याएपछि २० परिवार विस्थापित भएका छन । थप ९ परिवार पहिरोको उच्च जोखिमा छन । पहिरोबाट सवैभन्दाबढी २ लम्सुङ र खोरिया वस्ती पहिरोको उच्च जोखिममा परेका छन । लम्सुङमा पुरानै पहिरोको जोखिममा परेको हो । खोरियावस्ती भने मुना–ढोरपााटन सडक निर्माण गर्दा डोजरले भित्ता काटेर छोडेको तर संरक्षण नगरेकोले माथीको वस्ती बग्न थालेको हो । यहा पहिरोको जोखिमबढेपछि १३ घरपरिवार विस्थापित छन ।
त्यस्तै बाढीपहिरोबाट रघुगंगा गापाका विभिन्न वडामा गरी १५ घर विस्थापित छन । विधुत आपुर्ती रोकिदा मोवाईल सम्पर्क विच्छेद भएकोले क्षतिको विवरण ल्याउन नसकिएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए । रघुगंगा गापा, ३ स्थित गलेश्वरबजार माथीबाट पहिरो र तलबाट राहुघाट नदी कटानको उच्च जोखिममा छ । जल तथा मौषम पूर्वानुमानको बाढी मापन केन्द्र अनुसार रहुघाट खोलामा मंगलवार साँझदेखी लगातार जलसतह सतर्कता तह पार गरेको छ ।
तस्वीर : कुमार केसी, कृष्ण वानियाँ, घनश्याम खड्का, विजय बानियाँ, खेम पुन