FLASH NEWS
  • Loading...

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

नेपालको पर्यटनमा विविधता र प्रशस्त संभावना छ । पर्यटनलाई तीर्थयात्रा पर्यटन, पर्वतीय पर्यटन, साहसिक पर्यटन, खेल पर्यटन, प्रकृति पर्यटन जस्तै अहिले स्वास्थ्य पर्यटन जोडेर हेरिन्छ ।
नेपालको असाधारण पर्यटन विविधता मध्य एक हो, भू–तापीय पानी अर्थात हटस्प्रिङ । हटस्प्रिङको लाभ लिन जाने संकृतिलाई जियोथर्मल टुरिजम पनि भनिन्छ । नेपालको पूर्व–पश्चिम छरिएर प्राकृतिक तातोपाानी (हटस्प्रिङ)को पाईन्छन । समुदायले परम्परादेखी स्वास्थ्य लाभमा उपयोग गर्दै आएको तातोपानीको सरकार तथा सरोकारवाला निकायबाट खासै चासो र अध्ययन गरेको पाईदैन ।
प्राकृतिक तातोपानीका मुहान केवल न्यानो दिने पानी मात्र होईनन, यी मान्छेको शरीर र आत्म दुवैलाई शारिरिक तथा मानसिक स्फुर्ति दिने ढोका हुन । प्राकृतिक तातोपानीका मुहानहरु प्रकृतिले मानवलाई दिएको बहुमुल्य उपहारमध्य एक हो ।


भनिन्छ, पृथ्वीमा जीवनको उत्पत्ति यस्तै तातोपानीका मुहानबाट भएको हो । र प्राचीन समयदेखी नै मानिसहरु नुहाउन, आराम गर्न र चिकित्सा उपचारको रुपमा तातोपानीका मुहानहरुको उपयोग गर्दै आएका छन । तर कति डिग्री सेल्सियस (तापक्रम) भएको मुलको पानीलाई ‘तातोपानी’ मान्ने विश्वब्यापी परिभाषा छैन । सामान्यतयाः मानिसको शरीरको तापक्रम भन्दा माथीको (३७ डिग्री सेल्सियस) भएको प्राकृतिक पानीका मुललाई तातोपानी भन्नु पर्छ भन्ने मान्यता बढी स्थापित छ । विश्वभरका प्रचलन मध्य ४०–५० डिग्री सेल्सियस भन्दा केही माथी पानीको तापमान भएका तातोपानी लाभदायक मानिन्छ ।
ग्लोवल वेलनेस इस्टिच्युटको ‘एशियन हटस्प्रिङ इन्डस्ट्री ओभर भ्यू २०१८’ मा उल्लेख भए अनुसार संसार भरका १ सय २७ देशमा तातोपानीका प्राकृतिक मुहान पाईन्छन । तातोपानीका मुहानको पब्लिक हेल्थ सेन्टर, ब्यक्तिगत सौन्दर्य स्थल, शारिरिक ब्यायाम तथा तौल घटाउने र मानसिक तनाव घटाउन ब्यवसायीक प्रयोग गरिएको छ ।
विश्वका तातोपानी मुहानहरुमध्य २६ हजार (७६.३ प्रतिशत) एसिया प्रशान्त क्षेत्रमा पाईन्छ । विश्वमा सवैभन्दा बढी तातोपानीका मुहान जापानमा (२० हजार ९ सय वटा) छन । चीन विश्वमा तातोपानी उपयोग गरी जियोथर्मल टुरिजमबाट आम्दानी गर्ने पहिलो देश हो ।
नेपालको ७७ मध्य २१ जिल्लाका ५० स्थानमा भू–तापीय तातोपानी मुहान पाईन्छ । यी मध्य २४ वटा तातोपानीका मुहानमा ब्यवसायीक रुपमा उपयोग गरिएको छ ।


तातोपानीको उत्पत्ति र नेपालमा तातोपानीका मुहानहरु
४ करोड वर्षअघि भारतीय र युरेशियन प्लेटहरु हिंस्रक रुपमा ठोक्किएपछि त्यसले नेपालको पूर्वदेखी पश्चिमसम्म विश्वका कान्छा हिमालहरु उत्पत्ति गरायो । हिमालसँगै फेदीमा तातोपानीका मुहानहरु निक्लेको मानिएको छ ।
शान्तमान राई, तारानिधी भट्टराई र दुर्गा खतिवडाको ‘हट वाटर स्प्रीङ (थर्मल/स्प्रीङ) इन नेपाल’ भन्ने सोधपत्रमा उल्लेख भए अनुसार नेपालको पूर्वदेखी पश्चिमसम्म फैलिएका तातोपानीका मुहानहरु हेर्दा ति भुकम्पिय मेन सेन्ट्रल थ्रस्ट नजिक उत्तर तर्फ अवस्थित छन । भारतीय प्लेट र तिब्बतियन प्लेटहरु एकापसमा धसिएको क्षेत्रको चर (छिद्र)बाट तातोपानीका मुहान निक्लेको ठानिन्छ । नेपालका भू–तापीय तातोपानी मुहान भुकम्प जोखिम क्षेत्रमा पर्छन ।


म्याग्दीमा तातोपानीका मुहान ः
नेपालमा सवै भन्दाबढी म्याग्दीमा ८ स्थानमा (धवलागिरी गापा, १ गुर्जा, ४ मुदीबगरा, बेनी नगरपालिका वडा नं ४ स्थित सिङ्गा, रघुगंगा गाउँपालिका, ४ दर्मिजा, अन्नपूर्ण गाउँपालिका वडा नं १ दोवा तातोपानी, २ मा भुरुङतातोपानी, ५ पाउद्धारको तातोपानी र ६ वडाको रातोपानीमा प्राकृतिक तातोपानीका मुहान छन । यी ठाउँमा स्थानीयले प्राकृतिक सार्वजनिक स्वास्थ्य केन्द्रको रुपमा प्रयोग गर्दै आएका छन ।


भू–तापीय पानीमा के के यौगीक तत्व पाईन्छ ?
पृथ्वीको धेरै तल पुगेको पहाडका ढुङ्गगा भित्री म्याग्माले तातेको ढुङ्गामा पानीको मुल सम्पर्कमा पुग्दा तलको वाफले धकेलिएर बाहिर निक्लने तातोपानीमा डुबेर आरोग्यता हासिन पनि वैकल्पिक उपचार पद्धति मानिन्छ । तातो मुहानको पानीमा ठूलो मात्रामा घुलनशील खनिजहरु हुन्छन ।
‘हट स्प्रिङ टुरिजम न्यूजलेटर फरम चाईना, भोलुम ५’ मा उल्लेख भए अनुसार तातोपानीका मुहानमा अक्सर क्याल्सियम, लिथियम, रेडियम, क्षारिय क्लोराईड, एसिड सल्फेट, बाईकार्बोनेट, फलाम हुन्छन ।
ड्ड खनिजतत्व मिश्रण नभएका साधारण तातोपानीले थकान, स्नायु दुखाई, अनिद्रा र उच्चरक्तचाप जस्ता समस्याकालागी राम्रो मानिन्छ ।
ड्ड सल्फर र सिलिकायुक्त तातोपानीले पुराना छालाका रोगहरु सुख्खापन, चिलाउने, दुखाइ र जलेको घाउ निको पार्छ । यस्तो पानी पिउँदा कब्जियतबाट समेत राहन पाईने अध्ययनहरुले देखाएको छ । सल्फरयुक्त पानीले छालालाई नरम र मुलायम बनाउछ । मधुमेह रोग नियन्त्रण राख्ने, उच्चरक्तचाप नियन्त्रण गर्न सल्फरयुक्त पानी बढी प्रभावकारी मानिएको छ ।

क्लोराईडुक्त तातोपानीमा नुनको मात्रा बढी पाईन्छ । क्लोराईडुक्त तातोपानीले जोर्नी दुखाई, मांशपेशी दुखाई (चोटपटक) काटेको, पोलेको घाउ निको पार्छ । महिलाको रोगमा पनि राम्रो मानिन्छ । यो तातोपानीले ब्लडप्रेसर स्लो हुने विरामीलाई पनि राम्रो मानिएको छ ।

कार्बोनेटेयुक्त तातोपानीले छालालाई मुलायम बनाउने र चिल्लो बनाउँछन । यस्तो पानीले सौन्दर्य कायम राख्न सहयोग गर्छ । छालासम्बन्धी अन्य रोगमा पनि प्रयोग हुन्छ ।

फलामयुक्त धेरै भएको तातोपानी मुहानमा रंगहीन भएपनि सतहमा आएपछि वायुमण्डलको प्रतिक्रियाले पानी बगेको स्थानमा खैरो खिया लागेको देखिन्छ । फलाम मिश्रित तातोपानी लामो समयसम्म तातोपन रहन्छ । यो पानी पिउँदा शरिरमा आईरनको मात्रा बढाउँछ । एनीमिया रोग नियन्त्रण गर्छ । महिलाहरुको महिनावारी सम्बन्धी रोगलाई लाभ पुग्ने अध्ययनहरुमा पाईन्छ ।

रेडियोएक्टिभ मिश्रित तातोपानीले रेडियम वा रेडोन हुने भएकोले बाथरोग उपचार, उच्चरक्तचाप नियन्त्रण गर्ने र गाउट जस्ता रोग निको पार्न सहयोग गर्ने विश्वका विभिन्न देशहरुले हटस्प्रिङ सम्बन्धी अध्ययन बताएको छ ।

अम्लीय तातोपानी जीवाणुरहित गुणका हुन्छन । बढी तातो हुन्छ । छाला रोगलाई फाईदा गरेपनि संवेदनशिल छाला भएका र कमजोर स्वास्थ्य भएकाले यस्तो पानीमा नुहाउँदा ख्याल गर्नु पर्छ । एलर्जी हुने र रिङ्गटा लाग्ने हुन सक्छ ।

म्याग्दी र तातोपानी उपचार

कुनै औषधी प्रयोग नगरी, शल्यक्रिया नगरी, सुई नखोपी गरिने प्रभावकारी र हानीरहित उपचार विधी हो, प्राकृतिक चिकित्सा । आरोग्यताकालागी परम्परादेखी नै संसारभर प्राकृतिक तातोपानीका कुण्डमा नुहाउने क्षतातोपानी कुण्ड स्नान गर्ने गरिन्छ ।
तातोपानीको कुण्डमा डुबुल्की लगाएर नुहाउने गर्दा छाला, हाडजोर्नी, ग्यास्टिक समेतकाा रोगहरु निको भएको अनुभवको आधारमा प्राकृतिक चिकित्सामा तातोपानी कुण्ड स्नान तर्फ आर्कषण वढ्दो छ । बेनी अस्पतालका फिजियोथेरापिष्ट डा.हरी सुवेदीका अनुसार तातोपानीमा डुब्दा शरीरका रक्तनली खुलेर रगत प्रवाह बढ्ने भएकोले शरिरमा अक्सिजन र खनिजयुक्त रगत शरिरका सवै अङगमा पुग्छ ।
त्रिभुवन विश्वविद्यालय रसायनशास्त्र केन्द्रीय विभागले सन् २०२४ मार्च २९ मा बेनी नगरपालिका, ४ सिङ्गातातोपानीको वायोकेमिकल टेष्ट गर्दा सल्फर डाइअक्साइड, कार्बन डाईअक्साइड, हाईड्रोजन सल्फाईड, आइरन, जिंङ, पारो आदी खनिजहरु मिश्रित रहेको भेटेको थियो ।

उपचार विधीमा जोडिदै तातोपानी
शरीर र प्रकृति पनि पञ्चतत्वले बनेको छ । प्रकृति र शरीर आपसमा एकाकार छन । त्यसैले प्राकृतिक उपचारमा शरीरलाई रोगमुक्त बनाउन अग्नी, आकास, जल, वायु र पृथ्वी (माटो)को उपयोग गर्ने गरिएको छ ।
प्राकृतिक उपचारमा भोजन, माटो, मालिस (थेरापी), वायु र पानी चिकित्सा विधी प्रमुख हुन । त्यहीमध्य तातोपानी स्नान (जल चिकित्सा) एउटा विधी हो । जल चिकित्सामा पानीको गुणको उपयोग गरी मानिसको शारिरिक तथा मानसिक रोगको उपचार गरिन्छ ।
तातोपानीको कुण्डमा डुबेर स्थानगरी गरिने प्राकृतिक चिकित्साले संसारभर वेलनेस र रिक्रिएसन पर्यटन र शारिरिक तथा मानसिक स्वास्थ्य लाभकालागी तातोपानीका कुण्ड खोज्दै डुबुल्कि मार्ने, नुहाउन आउने क्षतातोपानी कुण्ड यात्री (जियोथर्मल टुरिष्ट) को रुपमा विकास भैरहेको छ ।
सिङगा तातोपानीमा पनि साउना स्नान, थेरापी र योगालाई जोडेर निर्माणाधिन फिजियो तथा हाईड्रो थेरापी खोल्दै छ । होमियोथेरापी, फिजियोथेरापी, नेच्युरोप्याथिक थेरापी र योगा जोडेर उपचार गरिने भएको छ । ‘तातोपानीमा ध्यान, योगा, मेडिटेसन र थेरापीहरु सहितको प्राकृतिक चिकित्सालय संञ्चालन गर्दा स्वास्थ्य पर्यटनमा बृद्धी हुने छ’ तातोपानी कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले सुनाए ।
तातोपानीको उपयोग तरिका
मुहानबाट निक्लेको तातोपानीको गुणस्तरलाई परिवर्तन नगरी पोखरीमा राखी नुहाउने, डुबुल्कि लगाउन योग्य पानी उच्च गुणस्तरको मानिन्छ । कतिपय तातोपानीको मुहानबढी तातो हुँदा प्राकृतिक गुणस्तर र खनिजतत्वमा असर नगरी पानी चिसाउने गरिन्छ । त्यसकालागी मुहानबाट पानीलाई कुलो वा पाईपमा बगाएर पोखरीमा सेलाएर पोखरीमा बस्न योग्य वा नुहाउन ठिक्क बनाउने गरिन्छ । कतै चिसो पानी मिसाएर पनि तातोपानीको न्यानोपनालाई कम पार्ने गरिन्छ । तर त्यसो गर्दा तातोपानीको मुहानबाट प्राप्त हुने प्राकृतिक खनिजपदार्थलाई पातलो बनाउने भएकोले उपचार कम प्रभावकारी हुन्छ ।


भु–तापिय पानी (हटस्प्रिङ)को अर्थतन्त्र
पर्यटकको सेवागरी मन जितेर आर्थिक लाभ लिने पर्यटन क्षेत्रले राजश्व संकलन, रोजगारी वृद्धी र पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँछ । शारिरिक, मानसिक स्वास्थ्यलाभ र मनोरन्जन प्रदान गर्ने जियोथर्मल स्प्रिङ (तातोपानीका मुहान) विश्वमा उदाउँदो स्वास्थ्य पर्यटन उद्योग हो ।
नेपालमा सवैभन्दा बढी भू–तापीय पानीमा प्राकृतिक उपचार गराउने र आर्थिक लाभ लिने बेनी नगरपालिका, ४ स्थित सिङ्गा तातोपानी हो । रेकर्ड अनुसार चालु आव ०८०/८१ को साउन–वैशाख (१० महिना)मा पोखरीमा लामो समय (कम्तीमा एक साता)डुवेर उपचार गर्ने प्रयोजनकालागी १८ हजार २ सय २७ जना र एक पटक (पटके टिकट) काटेर तातोफानी डुब्ने ब्यक्ति चालु आवको वैशाखसम्ममा २३ हजार २ सय ब्यत्ति पुगे ।
तातोपानी कुण्ड ब्यवस्थापन समितिले लामो समय तातोपानी डुब्न गएका ब्यक्तिबाट एक हप्ताको प्रति ब्यक्ति ३ सय ५० रुपैयाँका दरले प्रवेश शुल्क वापत ६३ लाख ७९ हजार ६ सय ५० रुपैयाँ र छोटो समय तातोपानी नुहाउन वा पोखरीमा डुब्न आएका ब्यक्तिबाट समितिले दिनमा प्रति ब्यक्ति एक सय र साँझको समयमा थप एक सय रुपैयाँ शुल्क लिँदा २५ लाख ३० हजार गरी चालु आवको १० महिनामा गरेको करयोग्य कुल ८९ लाख २७ हजार ६ सय ५० रुपैयाँ आर्जेको जनाएको छ । यो रकममा स्वच्छिक चन्दा, विभिन्न दाताबाट प्राप्त आर्थिक अनुदान समावेश छैन । तातोपानी कुण्डममा हुने आम्दानीबाट २५ प्रतिशत बेनी नगरपालिकाले राजश्व प्राप्त गर्छ । भने नेपाल सरकारले १३ प्रतिशत राजश्व (भ्याट कर) प्राप्त गर्छ ।

तातोपानीको कमाई ः
तातोपानीमा २ प्रकारका मान्छेहरु आउँछन । पहिलो लामो समय तातोपानीमा डुबेर स्वास्थ्य लाभ लिने । दोस्रो एक दिन वा केहीवेर तातोपानीे पोखरीमा डुबेर आनन्द लिने पटके पर्यटक । लामो समय तातोपानीमा डुब्न आएकाहरुले पनि दुई खालका हुन्छन, स्वपाक्य खाने र होटलबास गर्ने ।
तातोपानी कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्का, होटल ब्यवसायी कुमार केसी, मना तुलाचन, मासु पसल संञ्चालक कमल केसी, डेरी ब्यवसायी चन्द्रा सापकोटाको अनुभव अनुसार आफै पकाउनेले खाना, माछामासु, कोठाभाडा, प्रवेश शुल्क, सावुन, सेम्फु, टावेल, पोखरीमा डुब्ने कपडा समेत आधारभुत क्षेत्रमा एक सातामा औषतमा १३ हजार रुपैयाँ र होटलमा खानेवस्नेले औषतमा एक सातामा २५ हजार रुपैयाँ खर्च गर्छन । स्थानीयको अनुभवजन्य हिसाव अनुसार चालु आव ०८०/८१ मा एक हप्ताभन्दाबढी समय तातोपानी डुब्न आएका १८ हजार २ सय ब्यक्तिले कोठाभाडा, खाना, खाजा र प्रवेश शुल्कमा २९ करोड ४५ लाख खर्च गरे ।
त्यस्तै, चालु आवमा एक पटक मात्र तातोपानी डुब्न आएका विरामी २३ हजार ६ सय ब्यक्तिहरुले तातोपानी प्रवेश शुल्क, खाजाखर्च गरी औषतमा एक जनाले एक हजारका दरले २ करोड ३६ लाख रुपैयाँ खर्च गर्ने गरेका छन ।


त्यसैगरी तातोपानीमा आएका कुल ४१ हृजार ८ सय जनाले खाना, खाजा, कोठाभाडा बाहेक चिया, चुरोट, खैनी, गुड्का, मदिरा समेत अन्य क्षेत्रमा औषतमा एक हजारका दरले ४ करोड १८ लाख खर्च गरे । अर्थात चालु आवमा बेनी नगरपालिका, ४ सिङ्गा तातोपानीमा बार्षिक ३५ करोड ९९ लाख ५० हजार रुपैयाँ तातोपानीमा आश्रित नगद आम्दानी गरेका छन ।
त्यसैगरी तातोपानीमा डुब्न आएका विरामी/ब्यक्तिहरुबाट कुण्ड ब्यवस्थापन समितिमा चन्दा स्वरुप एक करोड हाराहारीमा आम्दानी गर्ने गरेको छ । तर अभिलेख गरिएको छैन ।
ताताेपानीमा अाश्रित ब्यापार
सिङ्गा तातोपानीमा कुल घरसंख्या ः १ सय ५० घर छन । यी मध्य सानाठूलागरी ३२ वटा होटल हुन । बाँकी १ सय १८ घरले कोठा भाडामा लगाउने गर्छन । कोठा भाडामा लगाउने घरले सिजनमा पाहुना राखेर दैनिक न्यूनतम १० हजारदेखी ३० हजारसम्म आम्दानी गर्छन ।
त्यसैगरी तातोपानीमा ५ वटा कपडा मात्र बेच्ने फेन्सी पसल छन । तर सवै घरले सामान्य टावेल,् पेन्टी, ब्रा र अन्ण्डरवयर पनि बेच्ने गर्छन । खसी, कुखुरा समेतका बोर्ड राखेका मासु वेच्ने ५ वटा पसल भएपनि सिजनमा दैनिक राँगा, भैसी, बंगुर, खसीवोका काटेर परम्परागत शैलीको विलो लगाई बेच्ने पनी छन । म्याग्दीखोलाको असला माछा यहाँको अर्को प्रसिद्ध परिकार हो ।
तरकारी पसल २ वटा मात्र भएपनि सवैले घर–घरमा बसेका पाहुनाकाालागी धेरथोर तरकारी पनि बेच्छन । यहाँका २ डेरीमा सिजन अनुसार दैनिक ५ सयदेखी ७ सय लिटरसम्म दुध संकलन हुन्छ । तर तातोपानी आउने मान्छेको संख्या अनुपातमा दुध खपत भने न्यून छ । तातोपानीका १० वटा घरमा किनारा पसल पनि छन । तातोपानी पुग्न बेनीबाट बेनी–दरवा–मुना चल्ने बस बाहेक, कम्तीमा २५ वटा ट्याक्सी र ५ १० वटा तीन पाङ्ग्रे भ्यान चल्छन । प्राकृतिक उपचारसंगै तातोपानीमा दुई वटा एलोपेथिक औषधी पसल पनि छन ।
‘तातोपानीबासीले गर्ने मुख्य ब्यापार कोठा भाडा नै हो । एउटा कोठाले दैनिक कम्तीमा १ हजार कमाउँदा पनि महिनामा ३० हजार कमाई हुन्छ । २५–३० वटा भन्दाबढी कोठा भाडामा लगाउनेले सोही अनुसारको कमाई हुन्छ नि’ तातोपानी कुण्ड ब्यवस्थापन समितिका पूर्व अध्यक्ष विरेन्द्रमान शाक्यले भने, ‘तातोपानी डुबेपछि प्रसस्त तागतिलो खानेकुरा खानु पर्ने भएकोले खानाबाहेक मासु, माछाको ब्यापार बढी हुन्छ ।’ शाक्यले थपे, ‘तातोपानी डुब्न आएका ब्यक्तिले तिर्ने प्रवेश शुल्क र चन्दाबाट हुने आम्दानीले माध्यामिक तहको विद्यालय, तटवन्ध समेत पूर्वाधारमा खर्च हुन्छ ।’


तातोपानीले बसाएको सहर
बेनी नगरपालिका, ४ सिङ्गा तातोपानीबजार सानो सहरको रुपमा विकसित हुँदैछ । ब्याापारिक घाट (केन्दं) परेको कारणले बनेको बजार भने हैन । वरु यो म्याग्दीखोला किनारामा निक्लेको प्राकृतिक तातोपानीले बसाएको सहर हो ।
९०–१०० बर्ष अघिसम्म सिङ्गा तातोपानीमा घर थिएनन । म्याग्दी खोला बगरमा तातोपानीको मुल निक्लन्थ्यो, बग्थ्यो । हिउँदमा गोठालाहरु अस्थाई पोखरी जस्तो खोपिल्टो बनाई नुहाउँथे । विस्तारै मान्छेहरुले तातोपानी डुब्दा हाडजोर्नी र पेटका विरामीलाई फाईदा पुगेको चाल पाए ।
‘हामी ०२६ सालमा तातोपानी आउँदा १२ घर थियौं । हिउँदमा खोला किनाराको तातोपानीमा कुवा बनाई नुहाउँथ्यौं । विस्तारै हिउँदमा अस्थाई पोखरी खन्ने र वरपरका गाउँबाट मान्छे आएर तातोपानीमा डुब्न थालेका हुन’ समितिका पूर्वअध्यक्ष विरेन्द्रमान शाक्यले भने, ‘हाडजोर्नी र पेटका विरामीलाई फाईदा भएपछि विस्तारै मान्छेहरु तातोपानी डुब्न आउनेक्रम बढेको हो ।’
०३२ सालतिरबाट मात्र वस्ती विकास सुरु भएको हो । अहिले एक सय ५० घर छन । सडक, संञ्चार, विद्यालयको सुविधा पुगेको छ । घरहरु आधुनीक बन्ने होडबाजी नै छ ।


विश्वमा तातोपानी (हटस्प्रिङ) प्रयोग अभ्यासहरु ः
नेचुरल हटस्प्रिङ ः प्राकृतिक रुपमा जस्तो स्थानमा तातोपानीको मुल निक्लेको छ, सोही स्थानमा तातोपानीको उपयोग गर्ने ।
लक्जरी हटस्प्रिङ ः प्राकृतिक स्वरुपका तातोपानीका मुहानहरुलाई सुधार गरी बढी आरामदायी, मनोरन्जनात्मक, जडिबुटी समेत थपेर र मौषम अनुकुल बनाई उपयोग गरिन्छ ।
स्पा हटस्प्रिङ ः प्राकृतिक तातोपानीका मुहानको पानीलाई होटल, रिसोर्टमा पुर्‍याएर शान्त वातावरणमा, एकान्तवास गराई मानसिक तनाव कम गर्न प्रयोग गर्ने गरिन्छ ।थेरापी हटस्प्रिङ ः परम्परागत शैलीको सामान्य उपचार विधी जुन सस्तो हुन्छ । यसमा फिजियोथेरापी, मसाज, योग आदी समेत थपेर गरिने यसियाली शैली भनिन्छ ।
साउना हटस्प्रिङ ः परम्परागत तातोपानीको उपयोग विधीलाई सुधार गरी पानीको वाफको (वास्पिकरणको उपयोग) मार्फत गरिने उपयोग हो ।


मनोरञ्जन हटस्प्रिङ ः तातोपानीलाई ब्यवसायीक कलाद्धारा थप सुविधा, तौरतरिका अपनाई गरिने मनोरञ्जन सुविधासहित गरिने उपयोग हो । फोहोरा समेतका विधीबाट तातोपानी प्रयोग गर्दा शारिरिक तथा मानसिक थकान मेटाउनुकोसाथी स्वास्थ्यलाभ पनि गराउँछ ।
कृषी हटस्प्रिङ ः सामान्यतया प्राकृतिक तातोपानीको परम्परागत रुपमा हाडजोर्नी, छाला ग्यास्टिक रोगको उपचार वा अन्य विधीबाट मान्छेले उपयोग गर्ने मात्र सोच्ने गरिएको छ । चीन, जापान लगाएत देशमा प्राकृतिक तातोपानीको कृषी क्षेत्रमा पनि उपयोग हुँदै आएको छ । प्रयोगपछि खेर गएको तातोपानीलाई कृषी उत्पादनमा प्रयोग गर्दा माटोको तापक्रम बढाउन र कृषी उत्पादनको स्वादमा वृद्धी गराउने गरेको छ ।


अवको बाटो
तातोपानीमा मान्छे डुवाएर मात्र हुँदैन । बजार अनुसन्धान आवश्यक छ । ग्राहकले तातोपानीको कुण्डबाट के के खोज्छन र कति मुल्य तिर्न तत्पर छन भन्ने जान्नु पर्छ । अव परम्परागत शैलीको तातोपानी उपयोगले मात्र ग्राहकको सन्तुष्टी पुर्‍याउन सकिन्न ? ग्राहकहरुले परम्परागत पोखरीमा चोपलिने र निक्लने मात्र हैन, विलासी स्पा वा सौर्न्दय स्पा वा मेडिटेसनको रुपमा उपयोग गर्न चाहेका छन ।
अहिले विरामी डुबिरहेको पोखरीबाट उपयोगहीन अवस्थामा तातोपानी बगिरहेको छ । प्रयोग भएको तातोपानीको गुणमा असर नगर्ने गरी रिसाईकलन तथा फोहोर ब्यवस्थापन गर्दै पुनःप्रयोग संभव छ । त्यस्तो पानीलाई निजी क्षेत्र वा कुनै होटल रेष्टुरेन्टले मुल्य तिरेरै विसाली स्पाको रुपमा उपयोग गर्न सक्छन ।
फेरिदो युग र प्रविधीमैत्री बनाउन अव योजना र रणनिती आवश्यक छ । स्थानीयको हक सुनिश्चित गर्दै लगानी र लाभको खाका आवश्यक छ । हटस्प्रिङ ब्यवसाय र स्थानीय समुदाय बीचको सम्बन्धलाई कहिल्यै कम आँकलन गर्न पाईदैन र हुँदैन । प्राकृतिक तातोपानीको उपयोग र उपचारमा स्थानीय ज्ञानको उपयोग गर्दै स्थानीय सरकार, लगानीकर्ता र सरोकारवालाले तातोपानीको बहुआयामिक उपयोग र ब्यवसायीक लाभबाट जियोथर्मल पर्यटनको विकास गरिनु पर्छ ।
संकटमा पर्दैछ ताताेपानीकाे मुहान, संरक्षण गर
यहाँको भू–तापीय पानीका मुल र पोखरी २ खालका जोखिममा परेको छ । पहिलो ः म्याग्दी नदीसँग अन्तरसम्बन्ध राख्छ । नदीमा पानीको सतह घट्दा तातोपानीको मुहान तल झर्ने र पानीको सतह बढ्दा मुल पनि माथी सर्ने गर्छ । नदी गहिरो बन्दै जाँदा भू–तापीय पानीको मुल पनि तल–तल सर्दै जाँदा भासिने जोखिम छ । तातोपानीको मुलको संरक्षण सवैभन्दा पहिलो प्राथमिकतामा पर्नु पर्छ । त्यसकालागी म्याग्दी नदीमा तातोपानीको मुहानदेखी केही तल ड्याम बनाएर नदी गहिरो बन्न नदिने ।
दोस्रो ः नदी किनारामा अवस्थित भू–तापीय पानीका मुल (तातोपानीको पोखरी र मुल)देखी माथी भिरालो भिक्तामा धेरै ब्यत्तिगत घर बनेका छन । तातोपानी कुण्ड ब्यवस्थापन समितिका आफ्नै भवनहरु पनि वरपर रहेका छन । ति घरहरुमा परम्परागत प्रविधीका शौचालय बनेका छन । तातोपानी पोखरी र मुलको छेउमा पनि शौचालय छन । ति घरमा प्रयोग भएका शौचालयबाट घरेलु फोहोर पानी सिपेज भै तल नदी किनारामा अवस्थित भू–तापीय पानीको मुलको प्रदुशित हुँदैछ । स्वयंम तातोपानीमा डुब्न आएका सेवाग्राहीले प्रयोग गर्ने शौचालयका सोफिटबाट पनि फोहोरपानी सिपेज भै भु–तापीय पानीका मुल प्रदुषित हुने जोखिम अधिक छ ।
भू–तापीय पानीको मुललाई प्रदुषण मुक्त बनाउने हो भने, तातोपानीका मुहान भन्दामाथी घर बन्न नदिने वा बनेका घरमा प्रयोगमा रहेका शौचालयको सोफिट ट्याङ्की बन्दगरी वातावरण मैक्री कंत्रिट वा फाईवर ग्लास वा प्लास्टिकबाट बनेका भूमिगत वाटरसील कन्टेनरहरु (सेफ्टीक ट्याङ्की) तुरुन्त प्रयोग गर्न जरुरी छ ।


बेनी नगरपालिका के गर्दै छ ?
तातोपानी मुलको रैथाने ज्ञान उपयोग गर्दै स्थानीय, प्रदेश र संघीय सरकारले हटस्प्रिङको आधुनिकरण गर्ने, तातोपानीको मुहानको संरक्षण गर्ने र भू–तापीय पानीको प्राकृतिक गुणको संरक्षण गर्न भू–जल प्रदुषणबाट जोगाउन प्रविधीयुक्तको अध्ययन आवश्यक छ ।
कानुनी प्रकृयाहरुलाई सहज, सरल, लगानीमैत्री र वातावरण अनुकुल बनाउने र ब्यापार योजना तयार पर्नु पर्ने छ । ग्राहकको बर्गिकरण, अनुभवलाई प्राथमिकरण गर्दै सरसफाई र सुरक्षाको उच्च मापदण्ड बनाउनु पर्छ । प्रभावकारी मार्केटिङ, विधी एवं प्रकृया सरल बनाउने र हटस्प्रिङको ब्राण्डिङ गरिनु पर्छ । हटस्प्रिङ ब्यवसायले स्थानीय बजारमा ग्राहकहरुको विविधिकरण भित्राउँछ र नगरपालिकाले प्रशस्त राजश्व वृद्धी गर्ने स्रोत बनाउनु पर्छ ।
‘तातोपानीको प्रर्वद्धन गर्न, मुहानको संरक्षण गर्न र मुलको शुद्धता कायम राख्न सचेत छौं । म्याग्दी नदी तटवन्धको डिपिआर बनाएका छौं । मुल शुद्धता राख्न उपयुक्त ढल निर्माण, वरपरका घरका शौचालयमा गैरपारगम्य सेफ्टिक ट्याङ्की अनिवार्य गरेका छौं’ बेनी नगरपालिकाका प्रमुख सुरत केसीले भने, ‘तातोपानी मुलको शुद्धता राख्न स्थानीयवासीको सहयोग र दातृ संस्थाको सहकार्य आवश्यक छ । नहर बनाउन हामी तयार छौं, नदीमा तटवन्ध गरी जलाशय बनाउन नगरको क्षमताले नभ्याउने हुँदा संघ/प्रदेश सरकारको सहकार्य प्रयास गरेका छौ ।’


तातोपानीका पोखरीमा वाथ लिँदा सावधान रहनुस
४३ डिग्रीसेल्सियस ९द्धघङ्ढऋ० माथीको पानीले पोल्छ । ४८ डिग्रीसेल्सियस भन्दाबढी तातोपानीले छालामा असर गर्न सक्छ । ५४ डिग्रीसेल्सियस माथीको तातोपानीले छाला रातो पार्ने, रिङ्गटा लगाउने हुन सक्छ । हेरेर मात्र तातोपन छुट्याउन सकिन्न, पहिला छाम्नुपर्छ । गर्भवती महिलाले तातोपानी पोखरीमा डुब्नु हुँदैन ।
त्यसैगरी मुटुसम्बन्धी समस्या भएका, मुधमेह भएका उच्च वा कम रक्तचाप भएको ब्यक्तिले पनि तातोपानीको प्रयोग गर्न अघि डाक्टरको सल्लाह लिनु उपयुक्त मानिन्छ । तातोपानीको पोखरीमा लामो समय डुब्दा शरीरमा तापक्रम बृद्धी भै रक्त प्रवाह बढेर चाप कम हुने र मानिस ढल्ने हुन सक्छ ।
तातोपानीमा बुवेपछि पोसिलो खानेकुरा आवश्यक पर्छ । तातोपानीले शरीरको तापक्रम बृद्धी भै पसिनाबढी बग्ने भएकोले अल्कोहल वा ड्रग्स सेवन निषेध छ । प्रशस्त शुद्ध पानी वा गैहृ अल्कोहल र क्याफिन रहित पेय पदार्थ पिउन सकिन्छ । तातोपानीमा हुने खनिज पदार्थले कसैलाई छालाको एलर्जी हुन सक्छ । (बेनी नगरपालिकाको सहयोगमा तयार पारिएको रिपोर्ट)